काठमाडौँ। छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिपमा गण्डकी प्रदेशले त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित निकालेको छ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको तेस्रो तथा अन्तिम खेलमा गण्डकीले आर्मीमाथि ३-१ को रोमाञ्चक जित निकालेको हो। निकै प्रतिस्पर्धात्मक भएको पहिलो र तेस्रो सेट गण्डकीले समान ३३-३१ ले आफ्नो पक्षमा पार्दा दोस्रो सेटमा आर्मी हाबी हुँदै २५-१५ को जित निकाल्यो। चौथो सेटमा गण्डकीले २५-१९ ले जित निकाल्दै खेलमा आफ्नो पक्षमा पार्यो।
च्याम्पियनसिपमा गण्डकीले दोस्रो जित दर्ता गराएको छ। पहिलो खेलमा सशस्त्र प्रहरी बल एपीएफसँग पराजित भएको गण्डकीले दोस्रो खेलमा माल्दिभ्स भलिबल एसोसिएसनलाई पराजित गरेको थियो। आर्मीले भने लगातार दोस्रो हार बेहोरेको छ। पहिलो खेलमा माल्दिभ्सलाई हराएको आर्मी दोस्रो खेलमा नेपाल पुलिस क्लबसँग पराजित भएको थियो।