काठमाडौँ
००:००:००
१३ माघ २०८२, मंगलवार

जनस्वास्थ्य

सरकारको बेवास्ता, छैन खोप कार्यक्रम

१३ माघ २०८२
एआईसिर्जित तस्बिर
अ+
अ-

रोगप्रतिरोधी क्षमता कम हुने, विभिन्न दीर्घरोगका कारण कीटाणुले छिटै आक्रमण गर्ने भएकाले निमोनिया संक्रमणको उच्च जोखिममा हुन्छन्, ज्येष्ठ नागरिक। चिकित्सकहरूका अनुसार पाँच वर्षमुनिका बालबालिका र ६५ वर्षदेखि माथिका व्यक्तिहरूमा निमोनिया हुने र मृत्यु हुने जोखिम बढी हुन्छ। चिसो मौसममा यो संक्रमणको जोखिम उच्च हुन्छ।

ज्येष्ठ नागरिकमा सामान्य रुघाखोकी पनि छिटै जटिल निमोनियामा परिणत हुन सक्ने र ज्यानै जान सक्ने भएकाले यस्तो संक्रमण घातक मानिन्छ।

बाह्य जीवाणु, परजीवी, फंगस र क्षयरोगमा हुने कीटाणुजस्ता तत्त्व फोक्सोमा प्रवेश गरी संक्रमण गराउँदा निमोनिया हुन्छ। सामान्यतया रुघाखोकी बिग्रिएर फोक्सोमा संक्रमण हुने रोग हो यो।

तर, सरकारसँग ज्येष्ठ नागरिकलाई निमोनियाविरुद्धको खोप दिने नीति नै छैन। पाँच वर्षमुनिका बालबालिकाका लागि मात्रै नि:शुल्क खोप कार्यक्रम सञ्चालनमा छ। जबकि, चिसो मौसममा बालबालिकासँगै दीर्घरोगी र ज्येष्ठ नागरिक पनि निमोनियाको जोखिममा हुन्छन्।

स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप सेवा शाखा प्रमुख डा. अभियान गौतम ज्येष्ठ नागरिकलक्षित निमोनियाविरुद्धको खोप कार्यक्रम सरकारले सुरु गर्न नसकेको बताउँछन्। “निमोनियाविरुद्धको पीसीभी खोप कार्यक्रम अहिलेसम्म बालबालिकाका लागि मात्रै छ, ज्येष्ठ नागरिकलाई नीतिमा समेट्न प्रयास गरिए पनि सकिएको छैन,” उनी भन्छन्।

ज्येष्ठ नागरिकका लागि खोप कार्यक्रम नहुँदा रोगप्रतिरोधात्मक क्षमता कम हुने यो उमेरसमूह निमोनिया संक्रमणको जोखिममा रहेको डा. गौतमको भनाइ छ।

डा. अभियान गौतम

सरकारले बालबालिकाका लागि निमोनियाविरुद्धको खोप कार्यक्रम सन् २००९ बाट सुरु गरेको हो। राष्ट्रिय खोप तालिकाअनुसार बच्चा जन्मेको ६ हप्तादेखि नौ महिनासम्म पीसीभी खोपको तीन मात्रा दिइन्छ।

जोखिममा ज्येष्ठ नागरिक

बाह्य जीवाणु, परजीवी, फंगस र क्षयरोगमा हुने कीटाणुजस्ता तत्त्व फोक्सोमा प्रवेश गरी संक्रमण गराउँदा निमोनिया हुन्छ। सामान्यतया रुघाखोकी बिग्रिएर फोक्सोमा संक्रमण हुने रोग हो यो।

वृद्ध अवस्थामा शरीर कमजोर हुने भएकाले बाह्य कीटाणुहरूसँग लड्ने शक्ति कम हुने र उनीहरू अन्य रोगसँग पनि जुधिरहेका हुने भएकाले निमोनिया भएमा गाह्रो पार्ने परिवार कल्याण महाशाखाका डा. गौतम बताउँछन्। “मुटुको समस्या, दम, मधुमेहजस्ता दीर्घरोग भएका तथा ज्येष्ठ नागरिकमा कीटाणुले छिटो आक्रमण गर्छ, जसका कारण सामान्य रुघाखोकी पनि छिटै जटिल निमोनियामा परिणत हुन सक्छ,” उनी भन्छन्।

निमोनियाबाट देशभर कति ज्येष्ठ नागरिकको मृत्यु हुन्छ भन्ने एकमुस्ट तथ्यांक नभए पनि काठमाडौँका केही सरकारी अस्पतालको आँकडा भने पाइन्छ। जसले निमोनिया भएर मृत्यु हुनेमा ज्येष्ठ नागरिकको संख्या धेरै रहेको देखाउँछ।

विश्वव्यापी रूपमा मृत्युका १० प्रमुख रोगका कारणमध्ये निमोनिया पनि एक पर्छ। निमोनियाबाट सबैभन्दा बढी ज्येष्ठ नागरिककै मृत्यु हुने गरेको अन्तर्राष्ट्रिय अध्ययनहरूले देखाएका छन्। ‘ग्लोबल बर्डन अफ डिजिज स्टडी २०१९’ ले विश्वव्यापी रूपमा ७० वर्षमाथिका व्यक्तिका लागि निमोनिया संक्रमण ‘साइलेन्ट किलर’ बनेको उल्लेख गरेको छ। उक्त रिपोर्टले ज्येष्ठ नागरिकमा निमोनियाबाट हुने मृत्युदर बालबालिकामा भन्दा बढी भएको देखाएको थियो। रिपोर्टअनुसार सन् १९९० मा निमोनियाबाट मृत्यु भएका ७० वर्षमाथिका मानिस ६ लाख थिए। सन् २०१९ सम्म यो संख्या बढेर १० लाख ३० हजार पुग्यो। निमोनिया संक्रमणको जोखिमका हिसाबले दक्षिण एसिया उच्च स्थानमा रहेको पनि रिपोर्टमा भनिएको छ। दक्षिण एसियामा ७० वर्षमाथिका पुरुषमा निमोनियाको संक्रमण दर प्रतिलाखमा ४८ लाख ५०६ रहेको उल्लेख छ।

२९ वर्षमा निमोनियाबाट विश्वमा चार लाख ३० हजारको मृत्यु भएको यस आँकडाले बर्सेनि यस रोगबाट करिब १५ हजार जनाको मृत्यु भएको देखाउँछ।

अन्तर्राष्ट्रिय संस्था कम्फर्टिङ होम केयर बाई फोबेले प्रकाशन गरेको प्रतिवेदन ‘ज्येष्ठ नागरिकमा निमोनियाबाट बाँच्ने दर, २०२२’ अनुसार प्रतिरक्षा प्रणाली कमजोर हुने भएकाले ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई निमोनिया भए निकै जोखिमपूर्ण हुन्छ। अस्पतालमा भर्ना भएका निमोनियाका बिरामीमध्ये करिब ३० प्रतिशतको मृत्यु हुने रिपोर्टमा उल्लेख छ।

नेपालमा निमोनियाबाट वार्षिक कति मानिस संक्रमित हुन्छन् भन्ने तथ्यांक सरकारी निकायसँग छ, तर मृत्युको आँकडा राख्ने गरेको छैन। स्वास्थ्य सेवा विभागको तथ्यांकले निमोनिया संक्रमितको संख्या बर्सेनि बढिरहेको देखाउँछ। आर्थिक वर्ष २०७९/८० मा २४० जनामा संक्रमण भएकामा आव २०८०/८१ मा ७४४ र आव २०८१/८२ मा ६१७ जना निमोनिया रोगी भेटिएका थिए। यो संख्या निमोनियाबाट संक्रमण भएर अस्पताल आएका बिरामीको मात्र हो।

स्वास्थ्य सेवा विभाग

निमोनियाबाट देशभर कति ज्येष्ठ नागरिकको मृत्यु हुन्छ भन्ने एकमुस्ट तथ्यांक नभए पनि काठमाडौँका केही सरकारी अस्पतालको आँकडा भने पाइन्छ। जसले निमोनिया भएर मृत्यु हुनेमा ज्येष्ठ नागरिकको संख्या धेरै रहेको देखाउँछ। निजामती कर्मचारी अस्पतालको तथ्यांकअनुसार आव २०८०/८१ देखि २०८१/८२ को मंसिरसम्म निमोनिया र श्वासप्रश्वास रोगबाट ७५ जनाको मृत्यु भएको थियो, यसमध्ये ज्येष्ठ नागरिकको संख्या ४३ छ। जाडो मौसममा ज्येष्ठ नागरिकमा निमोनिया संक्रमणको जोखिम ३० प्रतिशत बढ्ने उक्त अस्पतालका छातीरोग विशेषज्ञ डा. दिवस विष्ट बताउँछन्।

अहिले नेपाली बजारमा खासगरी निमोनियाविरुद्धको पीसीभी-१३ नामको खोप पाइन्छ, यसले १३ प्रकारका मात्र ब्याक्टेरियाविरुद्ध काम गर्छ। छिमेकी मुलुक भारतमा पीसीभी-२३ खोप आइसकेको छ, यसले २३ प्रकारका ब्याक्टेरियालाई निर्मूल पार्छ।

यस्तै, जर्नल अफ नेपाल मेडिकल एसोसिएसनले वीर अस्पतालमा अध्ययन गरेर सन् २०२३ मा तयार पारेको ‘तेस्रो तहको स्वास्थ्य केन्द्रको मेडिसिन विभागमा दर्ता भएका ज्येष्ठ नागरिकहरूमा समुदायबाट सर्ने निमोनिया’ शीर्षकको अध्ययन प्रतिवेदनका अनुसार अस्पताल भर्ना भएका निमोनिया संक्रमित ज्येष्ठ नागरिकमध्ये २१.४२ प्रतिशतको मृत्यु भएको थियो। निमोनिया भएर अस्पताल पुगेका पाँच जना ज्येष्ठ नागरिकमध्ये एक जनाको ज्यान गएको अध्ययनले देखाएको थियो। संक्रमितको अस्पताल बसाइ दुई दिनदेखि १३ दिनसम्म रहेको र अस्पताल आएका बिरामीमध्ये २८.५७ लाई सघन उपचार कक्ष (आईसीयू)मा राख्नुपरेको प्रतिवेदनमा उल्लेख छ।

ज्येष्ठ नागरिकमा निमोनिया संक्रमण यति घातक हुने भए पनि सरकारले अहिलेसम्म यो उमेरसमूहलाई खोप कार्यक्रममा नसमेट्दा उनीहरू जोखिममा छन्।

नेपाल उच्च वायु प्रदूषण भएका ३० देशको सूचीमा छ। बाहिरको प्रदूषित वायु, घरभित्र दाउरा वा गुइँठा बाल्दा निस्कने धुवाँले बालबालिका तथा ज्येष्ठ नागरिकको फोक्सोलाई असर गरेको छ। पछिल्लो समय निमोनिया संक्रमणको दर बढ्दै जानुको कारण यो पनि भएको डा. विष्ट बताउँछन्। भन्छन्, “वायु प्रदूषणले निमोनियाको जोखिम मात्रै बढाउँदैन, उपचारको प्रभावकारिता पनि घटाइदिन्छ।”

खोप नहुँदा नागरिकलाई खर्चको भार

ज्येष्ठ नागरिकलाई निमोनियाविरुद्धको खोप दिने नीति नहुँदा व्यक्तिको स्वास्थ्यमा मात्र नभई आर्थिक अवस्थामा पनि असर परिरहेको छ। सरकारले खोप वितरण नगर्दा बजारबाट महँगोमा किनेर लगाउनुपर्ने अवस्था छ। तर, नेपालमा अझै पनि निमोनियाविरुद्धको प्रभावकारी खोपको उपलब्धता हुन सकेको छैन।

अहिले नेपाली बजारमा खासगरी निमोनियाविरुद्धको पीसीभी-१३ नामको खोप पाइन्छ, यसले १३ प्रकारका मात्र ब्याक्टेरियाविरुद्ध काम गर्छ। छिमेकी मुलुक भारतमा पीसीभी-२३ खोप आइसकेको छ, यसले २३ प्रकारका ब्याक्टेरियालाई निर्मूल पार्छ।

छातीरोग विशेषज्ञ डा. विष्टका अनुसार पीसीभी-२३ खोप एकपटक लगाएपछि जीवनभरका लागि सुरक्षा प्रदान गर्छ। नेपालमा यस्तो प्रभावकारी खोप ल्याएर सरकारले ५० वर्षमाथिका सबैका लागि निःशुल्क वितरण गर्नुपर्ने उनको सुझाव छ। सरकारले खोपमा लगानी नगर्दा उपचारमा बिरामीको परिवार र राज्यको धेरै रकम खर्च भएको उनको भनाइ छ। “६ हजार ५०० रुपैयाँ पर्ने एउटा खोपले मृत्युको जोखिमलाई ८० प्रतिशतसम्म घटाउन सक्छ, तर यो खोप नलगाएका ज्येष्ठ नागरिक बिरामी परेर अस्पताल भर्ना भएमा एकपटकमै लाखौँ रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ,” उनी भन्छन्।

डा. विष्टको भनाइमा निमोनियाग्रस्त व्यक्तिलाई कडा खालको उपचार गर्नुपर्ने हुन्छ। खोप नलगाएका ज्येष्ठ नागरिक बिरामी परेमा लामो समय अस्पतालको आईसीयूमा बस्नुपर्ने, एन्टिबायोटिक्स सेवन गर्नुपर्ने र लामो समय अक्सिजन लिनुपर्ने हुन्छ। उनका अनुसार अस्पताल भर्ना हुनुपर्दा अक्सिजन र एन्टिबायोटिक्सकै खर्च २० हजारदेखि एक लाख रुपैयाँसम्म पर्छ। अझ निजी अस्पतालमा आईसीयूको खर्च दैनिक एक लाख रुपैयाँसम्म पर्छ। जुन विपन्न अवस्थाका बिरामीले धान्न सक्दैनन्। “निमोनियाको जटिलता भएर एकपटक अस्पताल भर्ना हुँदा एक लाखदेखि तीन लाख रुपैयाँसम्म खर्च हुन सक्छ,” उनी भन्छन्, “सरकारले खोपको व्यवस्था गरिदिएको भए अस्पताल भर्ना हुने दर र महँगो उपचार खर्चलाई ८० प्रतिशतसम्म कम गर्न सकिन्छ,” उनी भन्छन्।

ज्येष्ठ नागरिकलाई निमोनियाविरुद्धको खोप कार्यक्रमअर्न्तगत ललितपुर महानगरपालिकाले दिएको निःशुल्क खोप

खोपको अभावमा ज्येष्ठ नागरिकहरूले निमोनियाबाट ज्यान गुमाउनुपर्ने अवस्था सरकारको असफलता भएको जनस्वास्थ्यविद् डा. महेश मास्के बताउँछन्। भन्छन्, “सरकारले यो खोपलाई प्राथमिकतामा राख्नुपर्छ।”

संघीय सरकारले ज्येष्ठ नागरिकलाई निमोनियाविरुद्ध निःशुल्क खोप वितरण गर्न नसके पनि केही पालिकाले आफ्नै पहलमा ज्येष्ठ नागरिकलाई खोप दिन थालेका छन्।

सरकारले भने ज्येष्ठ नागरिकका लागि खोप नीति बनाउन नसक्नुमा बजेट अभावलाई कारण देखाउने गरेको छ। स्वास्थ्य तथा मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी भन्छन्, “बजेट अभावका कारण ज्येष्ठ नागरिकलाई खोप कार्यक्रम ल्याउन नसकिएको हो, आगामी वर्ष बजेट थपिए यसबारे सोच्नेछौँ।”

अन्तर्राष्ट्रिय अभ्यास हेर्दा विकसित देशहरूले निमोनियाविरुद्धको खोपमा ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राख्ने गरेका छन्। ‘भ्याक्सिनेसन प्रोग्राम्स फर एडल्ट्स इन युरोप, २०१९’ प्रतिवेदनले युरोपका ४२ देशमा वयस्कहरूका लागि सञ्चालित खोप कार्यक्रमहरू कस्ता छन् भनेर विश्लेषण गरेको थियो। जसमा युरोपका ४२ मध्ये धेरै देशले वयस्कहरूमा निमोनियाको खोप सिफारिस गरेका र केही देशले विशिष्ट उमेरसमूहमा अनिवार्य गरेको उल्लेख छ।

युरोपेली युनियनमा आबद्ध देशहरूले ६५ वर्षभन्दा माथिका वा जोखिम भएकालाई यो खोप सिफारिस गर्ने नीति लागु गरेका छन्। संयुक्त राज्य अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)ले ६५ वर्षमाथिका व्यक्तिलाई खोप लगाउन सिफारिस गरेको छ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले ५० वर्षमाथिका सबैलाई निमोनियाविरुद्धको खोप लगाउन सिफारिस गरेको छ।

स्थानीय तहको प्रयास

संघीय सरकारले ज्येष्ठ नागरिकलाई निमोनियाविरुद्ध निःशुल्क खोप वितरण गर्न नसके पनि केही पालिकाले आफ्नै पहलमा ज्येष्ठ नागरिकलाई खोप दिन थालेका छन्।

ललितपुर महानगरपालिकाले स्थानीय तहमा पहिलोपटक ज्येष्ठ नागरिकका लागि निमोनियाविरुद्ध खोप लगाउने कार्यक्रम सुरु गरेको हो। २०८० सालदेखि ६८ वर्षमाथिका ज्येष्ठ नागरिकलाई नि:शुल्क खोप कार्यक्रम सञ्चालन गरेको महानगरपालिकाका जनस्वास्थ्य निरीक्षक डिल्लीशेर केसी बताउँछन्। उनका अनुसार आव २०८०/८१ मा एक हजार २५० जनालाई खोप लगाइएको थियो। यस्तै, आव २०८१/८२ मा दुई हजार र चालु आवमा हालसम्म एक हजार ५०० जना ज्येष्ठ नागरिकलाई नि:शुल्क खोप लगाइएको छ।

निमोनियाविरुद्धको खोपले बिरामीलाई खर्चिलो उपचारबाट बचाउने भएकाले पालिकावासीको आर्थिक क्षति कम होस् भन्ने उद्देश्यले महानगरपालिकाले खोप कार्यक्रम लागु गरेको केसी बताउँछन्। उनका अनुसार निमोनियाविरुद्धको खोप ‘पीसीभी-१३’ एकपटक लगाएपछि दुई वर्षसम्म काम गर्छ।

काठमाडौँ महानगरपालिकाले भने गत २३ कात्तिकबाट ज्येष्ठ नागरिकलाई निमोनियाविरुद्ध खोप निःशुल्क लगाउने कार्यक्रम सुरु गरेको स्वास्थ्य शाखाका प्रमुख दीपककुमार केसी बताउँछन्। उनका अनुसार महानगरपालिकाअन्तर्गतको स्थानीय तह खोप समन्वय समितिको बैठकको निर्णयअनुसार पहिलो चरणको खोप लगाइएको र दोस्रो चरणको खोप लगाइने मिति तय हुन बाँकी छ। “दुई चरणका लागि तीन हजार खोप खरिद गरिएको छ, ७५ वर्ष उमेर पुगेका, दीर्घरोगी र रोगप्रतिरोधी क्षमता कम भएका बिरामीहरूलाई खोपको दायरामा ल्याइएको छ,” उनी भन्छन्।