काठमाडौँ
००:००:००
२२ जेष्ठ २०८३, शुक्रबार

स्वास्थ्य

प्रधानमन्त्रीको निर्वाचन क्षेत्र झापाको गौरीगन्ज अस्पतालको प्रयोगशाला दुई सातादेखि ठप्प, बिरामीलाई सास्ती

२९ बैशाख २०८३
झापाको गौरीगन्ज ६ मा रहेको गौरीगन्ज आधारभूत अस्पताल। सबै तस्बिर सौजन्य : मदन राजवंशी
अ+
अ-

विराटनगर। झापाको गौरीगन्ज गाउँपालिका-६ की २२ वर्षीया शर्मिला सोरेन गर्भावस्थाको नियमित जाँचका लागि गौरीगन्ज आधारभूत अस्पताल धाउने गरेकी थिइन्। २५ वैशाखमा पनि उनी सधैँझैँ अस्पताल पुगिन्। चिकित्सकले उनको स्वास्थ्य अवस्था हेरेपछि रगतसम्बन्धी परीक्षण ‘सीबीसी’ का लागि सिफारिस गरे। तर, जब उनी अस्पतालको प्रयोगशाला (ल्याब) पुगिन्, सेवा ठप्प भएको जानकारी पाइन्।

शर्मिला आफ्नै पालिकाको सरकारी अस्पतालमा सेवा पाइन्छ भनेर आउँदा निराश भएको बताउँछिन्। “यहाँ त दुई हप्तादेखि ल्याब बन्द रहेछ। अब निजी क्लिनिकमा महँगो शुल्क तिरेर जाँच गराउनुको विकल्प रहेन,” उनी भन्छिन्।

ल्याब सेवा नपाएपछि गुनासो सुनाउँदै शर्मिला सोरेन।

३२ वर्षीय विवेककुमार साह पनि बिरामी आमा लिएर अस्पताल पुगेका थिए। चिकित्सकले रगत जाँच गर्न त लेखिदिए। तर, अस्पतालको ल्याब बन्द भएका कारण फर्किनुपर्‍यो। “स्वास्थ्य जस्तो संवेदनशील कुरामा दुई सातासम्म सेवा बन्द हुनु भनेको गरिब जनताको स्वास्थ्यप्रतिको खेलबाड हो,” उनी भन्छन्।

प्रयोगशालामा आवश्यक पर्ने केमिकल ‘रिएजेन्ट’ नभएका कारण गौरीगन्ज अस्पतालको ल्याब सेवा दुई सातादेखि ठप्प भएको हो। जसका कारण शर्मिला, विवेक जस्ता धेरै जनाले सास्ती भोगिरहेका छन्।

विवेककुमार साह।

छोरा बिरामी भएपछि ३७ वर्षीया संगीताकुमारी ताजपुरिया उपचारका लागि हस्याङफस्याङ गर्दै पालिकाको आधारभूत अस्पताल पुगेकी थिइन्। चिकित्सकले रोग पत्ता लगाउन ल्याब परीक्षणका लागि लेखिदिए। तर, अस्पतालको प्रयोगशालामा ताला झुन्डिएको थियो। संगीता भन्छिन्, “यो अस्पतालमा स्वास्थ्य बिमा छ, उपचार सस्तो हुन्छ भनेर आएकी थिएँ। तर, यहाँ सेवा नपाएपछि अब निजीमा गएर महँगो उपचार गराउनुपर्ने भयो।”

अस्पतालको सेवा प्रभावित हुँदा स्थानीय सरकारदेखि प्रदेश र संघीय सरकार कसैले पनि चासो नदिएको उनको गुनासो छ।

छोराको उपचार गर्न आएकी संगीताकुमारी ताजपुरियाले सेवा नपाएपछि गुनासो सुनाउँदै।

गौरीगन्ज आधारभूत अस्पताल प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को निर्वाचन क्षेत्र झापा-५ मा पर्छ। तर, प्रशासनिक र व्यवस्थापकीय लाचारीका कारण अस्पताल आफैँ ‘बिरामी’ बनेको छ। १५ शय्याको अस्पतालमा दैनिक ३०० देखि ५०० सम्म बिरामी ओपीडीमा आउँछन्। तीमध्ये आधाभन्दा बढीलाई ल्याब परीक्षणको आवश्यकता पर्छ। तर, ल्याबमा प्रयोग हुने केमिकल सकिएको दुई साता बितिसक्दा खरिद प्रक्रियाको टुंगो लाग्न सकेको छैन।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. विश्वासविक्रम खरेल एक महिनायता रिएजेन्टको अभाव हुन थालेको र ल्याब सेवा पूर्ण रूपमा बन्द भएको दुई साता पुगिसकेको बताउँछन्। “हामीले आर्थिक वर्षको सुरुमै आवश्यक औषधि र रिएजेन्टको विवरण पालिकालाई बुझाएका थियौँ। तर, खरिद प्रक्रियामा ढिलाइ हुँदा अहिले बिरामी ल्याब परीक्षणका लागि निजीमा जानुपर्ने बाध्यता छ,” उनी भन्छन्।

गौरीगन्ज अस्पतालका मेसु डा. विश्वासविक्रम खरेल।

खरिदमा कानुनी त्रुटिको बोझ बिरामीलाई

अस्पतालको यो अवस्था हुनुमा स्थानीय सरकारको प्रशासनिक कमजोरी मुख्य कारण देखिएको छ। गौरीगन्ज गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज थापाका अनुसार १३ माघ २०८२ मै रिएजेन्ट खरिदका लागि बोलपत्र आह्वान गरिएको थियो। “तर, कानुनअनुसार ३० दिनको सूचना निकाल्नुपर्नेमा भुलवश १५ दिनको मात्र निकालिएकाले उक्त प्रक्रिया रद्द गर्नुपर्‍यो,” उनी भन्छन्।

पुनः १७ वैशाखमा मात्रै ३० दिने नयाँ टेन्डर आह्वान गरिएको छ। यो प्रक्रिया पूरा भएर अस्पतालमा सामग्री आइपुग्न आगामी १८ जेठसम्म कुर्नुपर्ने देखिन्छ। यसको अर्थ, अझै कम्तीमा एक महिना गौरीगन्जवासीले पालिका अस्पतालमा ल्याब सेवा पाउनेछैनन्। १० लाखदेखि २० लाखको रिएजेन्ट फास्ट ट्र्याकबाट ल्याउने प्रक्रियामा रहेको प्रमुख प्रशासकीय अधिकृत थापाले बताए। पालिकाले चालु आर्थिक वर्षमा औषधि र रिएजेन्टका लागि दुई करोड रुपैयाँ विनियोजन गरेको थियो।

गौरीगन्ज गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्र अस्पतालको ल्याब सेवा ठप्प हुनु ‘लाजमर्दो अवस्था’ भएको स्विकार्छन्। “टेन्डर प्रक्रियामा त्रुटि हुँदा ढिलो भयो, प्रक्रिया मिचेर खरिद गर्न सकिएन,” उनी भन्छन्, “अहिले ६० लाख रुपैयाँ बराबरको केमिकल खरिदका लागि दोस्रो पटक टेन्डर खुलाइएको छ।”

गाउँपालिकाकी अध्यक्ष फूलबती राजवंशी भने अबको केही दिनमै समस्या समाधान हुने दाबी गर्छिन्। “हामीले ठेक्का प्रक्रिया अघि बढाइसकेका छौँ, दुईतीन दिनमै सामग्री खरिद गरेर सेवा सुचालु गर्छौं,” उनी भन्छिन्।

सोमबार मात्रै अस्पतालको ओपीडीमा २७२ जना बिरामी आएका थिए। तीमध्ये अधिकांशले ल्याब सेवा नपाएपछि निजी अस्पताल र क्लिनिक गएर महँगो शुल्क तिर्नुपर्‍यो। स्वास्थ्य बिमा कार्यक्रम लागु भएको यस अस्पतालमा सेवा नपाउँदा बिमा गरेका सर्वसाधारणले समेत दोहोरो आर्थिक भार खेप्नुपरिरहेको छ।

गौरीगन्ज अस्पतालको यस तस्बिरले मुलुकको कार्यकारी प्रमुखको निर्वाचन क्षेत्रकै स्वास्थ्य अवस्थालाई गिज्याइरहेको छ। अस्पतालको हालत देखेर स्थानीय मदन राजवंशी आक्रोशित छन्। “दुई सातादेखि अस्पतालको प्रयोगशाला ठप्प छ,” उनी भन्छन्, “यही क्षेत्रका बासिन्दाले अत्यधिक मत दिएर देशको प्रधानमन्त्री बनाए, तर अहिले यहाँको अस्पतालको बिजोग हुँदा सरकारको ध्यान पुग्न सकेको छैन। दुई सातासम्म एउटा केमिकल खरिद गर्न नसक्ने सरकारले जनतालाई के सेवा देला?”