काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीसँग नर्वेली राजदूत ड्याग्नी मियोसले शिष्टाचार भेट गरेकी छन्।
सिंहदबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा उनीहरूबीच दुईपक्षीय आपसी हितका विषयमा कुराकानी भएको थियो।
भेटमा प्रधानमन्त्री कार्कीले असामान्य परिस्थितिमा आफू सरकारमा आउनुपरेको जनाउँदै अब विस्तारै मुलुक सामान्य अवस्थामा फर्किंदै चुनावमा होमिएको बताइन्। उनले नर्वेसहित अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त विश्वास र समर्थनका लागि धन्यवाद ज्ञापन गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
त्यस अवसरमा राजदूत मियोसले नेपालका प्रथम महिला प्रधानमन्त्रीका रूपमा कार्कीलाई पाउँदा खुसी व्यक्त गर्दै आगामी निर्वाचन निर्वाध सम्पन्न हुनेमा विश्वास जनाइन्।
साथै नेपालको शान्तिप्रक्रिया, संविधान निर्माण, जलवायु, दिगो विकासलगायत क्षेत्रमा नर्वेले सघाउँदै आएको स्मरण गराउँदै उनले आगामी दिनमा पनि निरन्तर रहने विश्वास व्यक्त गरिन्।