पारिश्रमिक नदिएको विषयमा नागरिक दैनिकको प्रकाशन र प्रसारण अवरोध नहुनेगरी लिमिटेड व्यवस्थापनको कार्यकक्षबाहिर तालाबन्दी
काठमाडौँ। नागरिक दैनिकमा देखिएको श्रम समस्यालाई लिएर नेपाल पत्रकार महासंघको पहलमा कार्यालयमा तालाबन्दी गरिएको छ।
श्रमिकहरूको पारिश्रमिकका विषयमा नेपाल पत्रकार महासंघ र नेपाल रिपब्लिक मिडिया लिमिटेडबीच २२ साउन २०८२ मा भएको सम्झौता कार्यान्वयनका लागि पटकपटक वार्ता, संवाद र सहमतिको पहल महासंघले गर्दा पनि कार्यान्वय नगरेपछि महासंघले प्रकाशन र प्रसारण अवरोध नहुनेगरी बुधबार लिमिटेड व्यवस्थापनको कार्यकक्षबाहिर ताला लगाएको महासचिव रामप्रसाद दाहालले बताए।
“महासंघको विनम्रता र अनुरोधलाई कमजोरी ठानी सहमति कार्यान्वयन नगरेपछि पूर्वसूचना दिएर महासंघसँग भएको सम्झौतालाई कार्यान्वयनका लागि दबाब दिन आन्दोलित भएको हो‚” महासंघले जनाएको छ।
महासंघका महासचिव दाहालद्वारा जारी विज्ञप्तिमा वार्ता, संवादमार्फत सहमति कार्यान्वयनमा नागरिक दैनिक लचक नदेखिएपछि महासंघ तालाबन्दीको बाध्यतामा पुगेको उल्लेख गरेको छ।
महासंघले सहमति कार्यान्वयन नभएसम्म आन्दोलन जारी राख्ने अठोट लिएको छ। यस्तै महासंघले १६ माघ २०८२ मा देशभरका महासंघका प्रदेश समिति, जिल्ला शाखा, प्रतिष्ठान शाखा तथा एसोसिएट संस्थाबाट सम्झौता कार्यान्वयनमा दबाब दिन लिमिटेड व्वस्थापकको मोबाइलमा ‘एसएमएस’ पठाएर आन्दोलन गर्ने तय भएको बुधबार नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञाप्तिमा छ।
