काठमाडौं । काठमाडौं उपत्यकासहित तराई–मधेशका विभिन्न जिल्लामा आज बिहान बाक्लो हुस्सु र कुहिरो छाएको छ । दृश्यता अत्यन्तै कम भएपछि हवाई यातायातमा प्रत्यक्ष असर परेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालन हुने आन्तरिक उडान तथा अवतरण हाललाई रोकिएका छन् । यस्तै भद्रपुर, जनकपुर, पोखरा, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थलबाट हुने बिहानका उडानहरू निर्धारित समयमा हुन नसकी ढिलाइ भएका छन् ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हिजो परेको वर्षाका कारण वातावरणमा आर्द्रता बढ्दा हुस्सु–कुहिरोको अवस्था बनेको हो । माथिल्लो वायुमण्डलको तापक्रम चिसो हुँदा वाष्पीकरण भएका पानीका सूक्ष्म कण जमिन नजिकै थुनिन पुगेका कारण कुहिरो लागेको विभागले जनाएको छ ।
मौसमविद्हरूका अनुसार दिउँसोपछि घाम लाग्दै जाँदा कुहिरो क्रमशः हट्ने सम्भावना छ । तर बिहानको समयमा भने आज र भोलि पनि हुस्सु–कुहिरो देखिन सक्ने मौसम अध्येता डा. धर्मराज उप्रेतीले बताएका छन् ।