काठमाडौँ
००:००:००
१५ माघ २०८२, बिहीबार

१५ माघ २०८२
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। रातको समयमा मोटरसाइकल, ट्याक्सी र कार प्रयोग गरी सुनका गरगहना तथा नगद लुटपाट गर्ने संगठित गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँ, प्रहरी वृत्त स्वयम्भू, गौशाला र बौद्धबाट खटिएको संयुक्त प्रहरी टोलीले काठमाडौँका विभिन्न स्थानबाट १० जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा काभ्रे भुम्लु गाउँपालिका घर भई हाल कागेश्वरी मनोहरा नगरपालिका ६‚ मूलपानी बस्ने २३ वर्षीय विनय तामाङ छन्। उनी लुटपाट घटनाका योजनाकार रहेको परिसर प्रमुख एसएसपी रमेश थापाले बताए।

२०७९ सालमा चोरी मुद्दामा पक्राउ परेर छुटेका उनी २०८२ भदौमा पुन: डाँका मुद्दामा पक्राउ परेका थिए। वृत्त महाराजगन्जको हिरासतमा रहेका उनी जेन-जी आन्दोलनको क्रममा फरार थिए।

थापाका अनुसार हिरासतबाट भागेपछि उनले संगठित रूपमै अपराध गर्ने गिरोह तयार पारेका थिए। बुधबार बिहान (राति) सवा १२ बजे पक्राउ गर्ने क्रममा प्रहरीले तामाङको खुट्टामा गोली हानेको थियो। उनी ट्रमा सेन्टरमा उपचाररत् छन्।

यस्तै पक्राउ पर्ने अन्यमा २४ वर्षीय आयन माझी छन्। सिन्धुली घर भई हाल कलंकी बस्ने उनी बा.१२च ७७०१ नम्बरको कारका चालक हुन्। उक्त कार तामाङले चोरी र लुटपाट घटना गराउन भाडामा लिएका थिए। माझी मोटरसाइकलको पछाडि बस्ने, कारबाट मानिसको रेकी गर्ने र रातमा लुटपाट गर्थे। उनीविरुद्ध जिल्ला प्रहरी परिसर भक्तपुरले २०७९ सालमा डाँका तथा चोरी मुद्दा चलाएको थियो।

अन्य पक्राउ पर्नेमा मोरङ पथरीका २३ वर्षीय मनीष रसाइली, सिन्धुली घर भएका ट्याक्सी चालक ३२ वर्षीय सविन माझी, ट्याक्सी चालक काभ्रेका २९ वर्षीय पेमा तामाङ, काभ्रेकै २० वर्षीय सलोन तामाङ, १८ वर्षीय राजीव भण्डारी, रामेछापका २२ वर्षीय विशाल तामाङ, खोटाङका २८ वर्षीय विदुर विश्वकर्मा र सिन्धुपाल्चोकका २९ वर्षीय फुर्वा तामाङ छन्।

उनीहरूले बागमती प्रदेश ०१-००-ज ८७६६ नम्बरको ट्याक्सीसमेत भाडामा लिएर लुटपाटमा प्रयोग गर्थे। प्रहरीले लुटपाटमा प्रयोग गरिएका अन्य पाँचवटा मोटरसाइकलसमेत बरामद गरेको छ।

थापाका अनुसार यो समूह स्वयम्भू, बौद्ध, गौशाला, लैनचौर, बूढानीलकण्ठ, कपन, कोटेश्वर, मूलपानी क्षेत्रमा रातको समयमा परिचालन हुन्थ्यो। मानिसहरूलाई रेकी गरी घाँटी र कानबाटै सुनका गहना थुत्ने गरेको थापा बताउँछन्। “उनीहरूविरुद्ध हालसम्म २७ हजार पीडित सम्पर्कमा आएका छन्, चारवटा जाहेरी प्राप्त भएको छ,” थापाले भने।

उनीहरूले हालसम्म लाखौं मूल्यको सुनका सिक्री, औँठी, टप तथा नगद लुटिसकेको प्रहरीले जनाएको छ। पक्राउ परेका सबैलाई चोरी तथा लुटपाट कसुरमा अनुसन्धान थालिएको थापाले बताए।