काठमाडौँ। अमेरिकामा बस्ने नेपालीको सामाजिक संस्था नेप्लिज एसोसिएसन अफ साउथ इस्ट अमेरिका (नासिया) ले पुनर्निर्माण कोषका लागि करिब नौ लाख रुपैयाँबराबर सहयोग गरेको छ।
नासियाका कोषाध्यक्ष पुरनराज खतिवडाले बालुवाटारमा बिहीबार प्रधानमन्त्री सुशीला कार्कीलाई ६ हजार १२८ अमेरिकी डलरको चेक हस्तान्तरण गरे। उनले जेन-जी आन्दोलनमा सहिद भएका युवाका परिवारको राहत तथा पुन:स्थापनाका लागि यो रकम संकलन गरी सरकारलाई हस्तान्तरण गरिएको जानकारी पनि दिए।
प्रधानमन्त्री कार्कीले विदेशमा बसेर खाई/नखाई जम्मा गरेको रकम पुनर्निर्माण कोषका लागि उपलब्ध गराएकामा धन्यवाद ज्ञापन गरिन्। उनले नेपालमा अफ्ठ्यारो पर्दा विदेशमा बस्ने नेपालीले गर्दै आएको सहयोगको सह्राना पनि गरिन्। प्रधानमन्त्री कार्कीले भनिन्, “जब यहाँ हामी समस्यामा हुन्छौँ, कुनै विपद् वा महामारी हुन्छ, तपाईंहरू विदेशमा बसेर यहाँको चिन्ता गर्नुहुन्छ। खाई-नखाई रकम जग्मा गरेर सहयोग गर्नुहुन्छ। यही हो नेपालीपन भनेको। आखिर आफ्नो देश आफ्नै हुन्छ।”