काठमाडौँ
००:००:००
१५ माघ २०८२, बिहीबार

प्रतिनिधिसभा निर्वाचन

१५ माघ २०८२
अ+
अ-

रूपन्देही। २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ को चुनावी प्रतिस्पर्धा रोचक बन्ने देखिएको छ। यो क्षेत्रमा हेभीवेट उम्मेदवारका रूपमा नेकपा एमालेले पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई मैदानमा अघि सारेको छ।

एमालेले पौडेललाई दोहोर्‍याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले भने उम्मेदवार परिवर्तन गर्दै सुलभ खरेललाई उम्मेदवार बनाएको छ। यसपालि कुनै पनि औपचारिक गठबन्धनबिना चुनावी प्रतिस्पर्धा भइरहेको छ। नेपाली कांग्रेसले चुन्नप्रसाद शर्मालाई उम्मेदवार बनाएको छ भने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट सुभाष पाण्डे चुनावी मैदानमा छन्।

रूपन्देही २ मा स्वतन्त्रसहित विभिन्न दलका गरी ४१ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। जसमध्ये २० जना स्वतन्त्र उम्मेदवार छन्। स्वतन्त्र उम्मेदवारको संख्या धेरै भएकाले यस क्षेत्रमा मत विभाजन हुने र त्यसले अन्तिम नतिजामा प्रभाव पार्ने सम्भावना उच्च देखिएको छ।

रूपन्देही २ मा २०७९ मा निकै प्रतिस्पर्धा भएको क्षेत्र मानिन्छ। यो निर्वाचनमा पौडेल २७ हजार १६५ मत ल्याएर निर्वाचित भएका थिए। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले चुनौती दिएका थिए। गणेशले २५ हजार ७९५ मत ल्याएका थिए। उनीहरूबीच एक हजार ३८४ मतान्तर थियो। यसपटक रास्वपा नै उक्त क्षेत्रमा पौडेलको प्रतिस्पर्धी बन्ने सम्भावना छ।

पौडेल छैटौँपटकको संसदीय यात्राका लागि चुनावी मैदानमा छन्। उनी २०५६ सालदेखि निरन्तर यो क्षेत्रमा उम्मेदवार बन्दै आएका छन्। २०५१ सालमा पहिलोपटक पाल्पा ३ बाट विजयी हुँदै संसद प्रवेश गरेका पौडेल त्यसयताका हरेक निर्वाचनमा भने रूपन्देहीबाट निर्वाचन लड्दै आएका छन्।