‘रास्वपा विचारविहीनहरूको चौतारो हो’
ललितपुर। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले नयाँ दलको दाबी गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विचारविहीनहरूको चौतारीजस्तो भएको टिप्पणी गरेका छन्।
पार्टीको ललितपुर क्षेत्र नम्बर १ को चुनाव परिचालन तथा प्रशिक्षण कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उनले रास्वपा पार्टी नभई स्पष्ट विचार‚ दर्शन‚ राजनीति‚ एजेन्डा र इतिहास नभएकाहरूको समूह भएको बताए।
“पार्टी बन्न विचार‚ दर्शन‚ राजनीति‚ एजेन्डा संगठन र इतिहास चाहिन्छ। विचार के हो थाहा छैन‚ नीति के हो त्यो पनि थाहा छैन। इतिहास के हो त्यो पनि थाहा छैन। कोही कताबाट‚ कोही कताबाट आएको छ। चौतारीमा भेटेर एक ठाउँ जम्मा भएको छ। नयाँ पार्टी भनेको छ‚” पुनले भने।
गत ०७९ को निर्वाचनमा पुराना दलसँग रिसाएका सहरी मतदाताले जिताएका ठाउँमा यसपटक रास्वपाको प्रभाव कमजोर देखिएको दाबी पुनले गरे। यसअघि रास्वपाले जितेका काठमाडौँका २‚ ६‚ ७ र ८ नम्बर निर्वाचन क्षेत्रमा रास्वपाप्रतिको लहर घटेबाट मतदाताले संगठन र विचार भएका राजनीतिक दललाई जिताउनुपर्ने महसुस गरेको बुझ्न सकिने तर्क गरे। ती क्षेत्रमा रास्वपाका उम्मेदवारले हार्ने दाबी पनि पुनको थियो।
‘सामाजिक सञ्जालमार्फत पुराना दल र नेताहरुको हुर्मत लिएर उदाएको रास्वपाको भविष्य लामो छैन’
सक्नेले गर्ने भन्ने रास्वपाको आर्थिक नीति पनि मुलुक सुहाँउदो नभएको आरोप उनले लगाए। शिक्षा‚ स्वास्थ्य र सार्वजनिक सेवा सक्नेले किन्ने‚ नसक्नेले हेरेर बस्ने भन्ने उदारवादी अर्थनीतिको पक्षमा रास्वपा रहेको बताए।
सक्नेले शिक्षा किन्ने‚ सक्नेले स्वास्थ्य र सेवा किन्ने वा सबै सक्नेले मात्र गर्ने वा सबै बजारलाई छाडिदिने भन्ने अर्थनीति सही होइन। नसक्नेलाई राज्यले हेर्नुपर्छ। त्यसैले हामीले समाजवादी अर्थनीतिको वकालत गरेका छौं। राज्यले अभिभावकीय भूमिका खेल्ने अवस्थालाई हामीले समाजवाद भनेका हौं‚’ पुनले भने‚ ‘नसक्नेलाई राज्यले हुर्नुपर्छ भन्ने समाजवाद हो। गरिब छ‚ सीमान्तकृत छ‚ अपांग छ‚ जसको पहुँच राज्यमा छैन। उनीहरुलाई राज्यले हेर्नुपर्छ।’ सामाजिक सञ्जालमार्फत पुराना दल र नेताहरुको हुर्मत लिएर उदाएको रास्वपाको भविष्य लामो नभएको दाबी गरे।
फरक प्रसंगमा पुनले पाँच दिनमा भ्रष्टाचार निर्मूल गर्छु भन्ने प्रधानमन्त्री सुशीला कार्कीले सरकार बनेको पाँच महिनासम्म पनि केही नगरेको आरोप लगाए। उनले एमालेप्रति लक्षित गर्दै भने‚ “आफूसँग दुईतिहाइ रहेको दम्भमा भ्रष्टाचारीको संरक्षण र बिचौलिया पालनपोषण गर्ने तत्कालीन प्रधानमन्त्री केपी ओलीको प्रवृत्तिका कारण मुलुक अप्ठ्यारो अवस्थामा पुग्यो।”