त्यो काण्ड

चीनको विषयमा नेहरू भारत–नेपालको दृष्टिकोण एउटै रहोस् भन्ने चाहन्थे। त्यसैले उनले भारत भ्रमणमा रहेका नेपाली प्रधानमन्त्री बीपी कोइरालालाई चीन नजान दबाब दिए।

१७ माघ २०८२
२०१६ सालमा नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरू, उनकी छाेरी इन्दिरा गान्धीलगायतसँग नेपाली प्रधानमन्त्री बीपी काेइराला।
अ+
अ-

‘तिमीले केही राम्रो कुरा मेरो बारेमा गर्‍यौ। यो एउटा भाइले अर्को भाइलाई मात्र भन्न सक्छ। म निकै आभारी छु, तिमीसँग। तर, तिमीले मलाई क्षमा गर्नुपर्ने हुन्छ, यदि मैले तिमीलाई सानो भाइ भनेर सम्बोधन गरेँ भने। म तिमीलाई निकै स्नेह गर्छु, र उत्तिकै इज्जत पनि। मलाई तिमीबाट धेरै आशा छ। तिम्रो र मेरो उमेरमा राम्रो अन्तर छ। तिमीसँग देश सेवा गर्ने र आफ्नो जनताको जीवनशैली माथि उकास्ने मनग्य समय छ। तिमीसँग सुवर्ण अवसर छ, र म पूर्ण विश्वस्त छु– तिमीले यस अवसरलाई पूरा सदुपयोग गर्नेछौ र यसले नेपाललाई मात्र होइन, हाम्रो देशले पनि लाभ उठाउन सक्नेछ।’

१३ माघ २०१६।

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर (बीपी) कोइरालाको बिदाइमा राष्ट्रपति भवनमा भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूले दिएको मन्तव्य हो, यो। पहिले अंग्रेजीबाट आफ्नो मन्तव्य पूरा गरिसकेपछि हिन्दी भाषामा नेहरूले दिएको यस मन्तव्यले राष्ट्रपति भवनको वातावरण नै भावुक बनायो।

सन् १९५२ मा मोहनशमशेर राणाको सरकार ढलेपछि तत्कालीन राजा त्रिभुवनलाई दबाब दिँदै बीपीलाई प्रधानमन्त्री नबनाउन आफूले गरेको आग्रहभन्दा निकै विपरीत थियो, नेहरूको त्यो मन्तव्य।

अझ, प्रधानमन्त्री नियुक्त भएपछि ३–१७ माघ २०१६ मा बीपीको पहिलो भारत भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्रीबीच थुप्रै कुरामा मतभेद देखियो, विशेषतः बीपीको सम्भावित चीन भ्रमणलाई लिएर।

बीपी प्रधानमन्त्री नियुक्त भएको १५ दिन नबित्दै नेहरूले नेपाल भ्रमण गरेका थिए। चीनसँग सीमा विवाद चुलिएको बेला नेपाल भ्रमण गरेका नेहरू चीनविरुद्ध नेपाललाई पनि आफ्नो पक्षमा उभ्याउन चाहन्थे। अझ उनी चीनलाई घेर्न नेपालमा तत्कालीन सोभियत संघको प्रभाव विस्तार गर्न चाहन्थे। त्यतिबेला चिनियाँ राष्ट्रपति माओत्सेतुङ र सोभियत प्रधानमन्त्री निकिता ख्रुस्चेभबीच कम्युनिस्ट विचारधारालाई लिएर मतभेद सुरु भइसकेको थियो।

तर, नेहरूको प्रस्ताव बीपीले ठाडै अस्वीकार गरे। आफूसँगको सीमा विवादमा सैन्य सम्झौता गर्न नेपाल आएका नेहरूको मनसाय पूरा नभएपछि हौसिएको चीनले पनि बीपीलाई प्रधानमन्त्री नियुक्त भएको तेस्रो महिना बेइजिङ भ्रमणको निम्तो दियो।

प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी काेइरालालाई शपथ गराउँदै राजा महेन्द्र।

भारतमै बसेर राजनीति गरेका र भारतीय मानसिकता बुझेका कारण बीपी आफ्नो दक्षिणी छिमेकीप्रति केही विश्वस्त थिए। तर, चीनको धारणा उनलाई थाहा थिएन। त्यसैले उनी तिब्बततर्फ बढ्दो चिनियाँ प्रभावले नेपाललाई पनि केही असर पर्छ कि भन्ने कुरामा उत्तिकै सचेत थिए। चीनको नेपालप्रतिको यही धारणा बुझ्न उनी पहिले उत्तरी छिमेकीकहाँ जान चाहन्थे।

तर, नेहरूले यति ठूलो दबाब दिए, अन्ततः बीपीले आफ्नो पहिलो विदेश भ्रमण भारतबाट सुरु गर्नुपर्‍यो। भारतको तेह्रौँ स्वतन्त्रता दिवसमा प्रमुख अतिथिका रूपमा निम्तो गरिएका बीपी ३ माघमा बिहार राज्यको पटनाबाट नेपाल–भारत सीमा विवाद रहेको भैँसालोटनदेखि खातिमा, फूलबाग, आग्रा, पुना, ब्याङ्लोर र मैसुर हुँदै १० माघमा राजधानी दिल्ली उत्रिए।

दिल्लीमा उनको भव्य स्वागत भयो। नेहरूले बीपीलाई खुसी पार्न कुनै कसर बाँकी राखेनन्। बीपी प्रधानमन्त्री नियुक्त भएको सात महिनापछि भारत भ्रमणमा निस्किएका थिए। यसबीच चीनविरुद्ध नेपाललाई उत्तेजित तुल्याउन भारतीय मिडिया, विशेष गरेर नेहरूले अनेकन् प्रयास गरिरहेका थिए।

३० जेठ २०१६ मा नेहरू नेपालको भ्रमण सकेर भारत फर्किएपछि भारतीय मिडियामा दनादन समाचार आउन थाल्यो– चीनको विस्तारवादी नीतिका कारण नेपालको थुप्रै भूभाग चीनले कब्जा गरिसक्यो।

यस विषयमा बीपीले १५ असोज २०१६ सालमा नेपाली संसद्लाई जानकारी दिँदै भने, ‘नेपाल-तिब्बतको सीमा पहिले नै तय भइसकेको छ, केही ठाउँलाई छोडेर।’

२०१६ सालमा भारत भ्रमणका क्रममा भारतीय समकक्षी नेहरूसँग बीपी।

चौतर्फी दबाब बढ्न थालेपछि उनले १८ असोजमा अर्को वक्तव्य दिनुपर्‍यो, ‘नेपालको विदेश नीति तटस्थ छ। शीतयुद्वमा अमेरिका-सोभियत संघझैँ चीन-भारत सम्बन्धमा पनि हाम्रो नीति तटस्थ छ।’

तिब्बतमा चिनियाँ सेनाको बढ्दो प्रभावलाई लिएर भारतीय पत्रकारहरूले सोधेको प्रश्नमा उनले भने, ‘चिनियाँ सेनाले नेपाली सीमा नाघ्दैन भन्ने हाम्रो विश्वास हो। त्यसैले थप सुनिश्चितता आवश्यक छ जस्तो मलाई लाग्दैन।’

नेपाललाई थप उत्तेजित तुल्याउन १३ असार २०१६ मा नेहरूले भारतीय लोकसभामा एउटा वक्तव्य दिए, ‘नेपाल र भुटानमाथिको हमलालाई भारतले आफूमाथि भएको हमलाका रूपमा लिनेछ।’

नेहरूको यस वक्तव्यले नेपालमा ‘आगोमा घिउ’ थप्ने काम गर्‍यो। एक त प्रतिपक्षी दरबारको इसारामा बीपीले भारतसँग ‘सैन्य सम्झौता’ गरिसकेको छ भनेर ‘प्रोपगान्डा’ मच्चाउन सक्रिय थिए। त्यसमा नेहरूको वक्तव्यबाजीले बीपीलाई होच्याउन राम्रै मलजलको काम गर्‍यो।

नेहरूको यो भनाइप्रति ठट्टा गर्दै बीपीले ‘एक्सप्रेसन अफ फ्रेन्डसिप’ को संज्ञा दिए। र, नेहरूको भनाइको व्याख्या गर्दै यदि चीनले नेपालविरुद्ध आक्रमण गरेको खण्डमा र नेपालले सहयोग माग गरेको खण्डमा भारत जस्तोसुकै सहयोग गर्न तयार छ भन्ने परिप्रेक्ष्यमा बुझ्न आग्रह गरे।

तर, दबाब बढ्दै गएपछि उनले १४ मंसिर २०१६ मा पत्रकार सम्मेलनको आयोजना गरेर नेहरूको भनाइ स्पष्ट पार्न खोजे, ‘सार्वभौम र स्वतन्त्र राष्ट्र भएको नाताले हामी आफ्नो आन्तरिक र बाह्य नीति आफ्नै विवेक र क्षमताका आधारमा तय गर्न सक्षम छौँ।’

भारतीय मिडियामा त्यतिबेला चिनियाँ गतिविधि रोक्न नेपालमा सैन्य उपस्थिति बढाउनुपर्नेजस्ता समाचार प्रकाशित हुन्थे। नेपाली अखबारले भने ‘भारतीय सेना नेपालका लागि ढाल बन्ने’ भनाइको कडा शब्दमा भर्त्सना गर्थे।

यही तानातानीबीच बीपीको भारत भ्रमण भएको थियो। सबैभन्दा रोचक दृश्य, बीपी र नेहरूबीच हैदराबाद हाउसमा देखियो। राजनीतिक रूपले निकै संवेदनशील भेटमा नेहरूसँग कुरा गर्दा बीपीको अनुहार एक्कासि रातो भयो।

त्यतिबेला बीपीसँगै भारत भ्रमणमा रहेका उनका सहायक स्वर्गीय कुमारमणि दीक्षितले २०६७ सालमा नागरिक पत्रिकामा दिएको अन्तर्वार्तामा भनेका थिए, ‘नेहरूसँग गफ गर्दागर्दै बीपीको अनुहार रातो हुँदै गएको देखियो। म अचम्म परेँ। सधैँ उज्यालो अनुहार लगाउने र हाँसिरहने बीपीको अनुहार त्यसरी किन बदलियो?’

२०१६ सालमा भारत भ्रमणमा नेपाली प्रधानमन्त्री बीपी काेइरालालाई स्वागत गर्दै नेहरू।

उनले भनेका छन्, ‘नेहरू बाहिरिएपछि मैले बीपीलाई सोधेँ– तपाईंको अनुहार एक्कासि रातो किन भयो? उत्तरमा उहाँले भन्नुभयो– हेर न, चीन नजाऊ भन्छ।’

नेहरूले हैदराबाद हाउसमा बीपीलाई चीन नजान दबाब दिएका थिए। तर, बीपीले मानेनन्। उनले तत्कालै नेहरूलाई जवाफ फर्काएछन्, ‘यस्तो कुरामा हस्तक्षेप नगर्नू।’

त्यस घटनाका भुक्तभोगी कुमारमणिलाई बिदाइका समारोहमा बीपीबारेमा नेहरूले दिएको मन्तव्य वास्तवमै अचम्म लाग्ने खालको थियो।

राजनीतिक हिसाबले नेपालका लागि बीपीको त्यो भ्रमण धेरै कुरामा लाभदायक रह्यो। सन् १९५० मा नेपाल–भारतबीच भएको ‘उद्योग तथा व्यापार’ सम्झौताको मिति समाप्त भइसकेको अवस्थामा नेपाललाई धेरै फाइदा पुग्ने हिसाबले पुनःसम्झौता भयो। नेपालले तेस्रो मुलुकबाट गर्ने व्यापारमा भारत सहमत भयो। भारत सरकारले नेपालको विकासका लागि थप १४ करोड रुपैयाँ दिने निर्णय गर्‍यो।

बीपीको भारत भ्रमणमा पनि नेहरूले चीनविरुद्ध नेपाललाई सोभियत संघको प्रभाव क्षेत्रमा राख्न धेरै कसरत गरे। उनले दुई घण्टा १० मिनेट प्रधानमन्त्री बीपी कोइराला तथा गृहमन्त्री सूर्यप्रसाद उपाध्यायसँग गोप्य वार्ता नै गरेका थिए। तर, नेहरूको विचारसँग बीपी सहमत भएनन्।

उनले भारत भ्रमणका क्रममा नेहरूको व्यक्तित्व तथा नेपालमा प्रजातन्त्र स्थापना गर्न खेलेको भूमिकाको मुक्तकण्ठले प्रशंसा गरे। तर, भारतको सुरक्षा छाताभित्र बस्ने दबाबलाई पूर्ण रूपमा खारेज गरिदिए।

नेपाल फर्किनुअघि १७ माघमा चण्डीगढमा भारतीय पत्रकारहरूलाई दिएको अन्तर्वार्तामा बीपीले भनेका थिए, ‘नेपाल र भारतबीच संयुक्त सैन्य गतिविधिको कुनै आवश्यकता छैन। निकै नजिक रहेका दुई छिमेकी राष्ट्र नेपाल र भारतबीच सैन्य गठबन्धनको कुरा बेकार मात्र होइन, झन् नराम्रो छ।’