काठमाडौँ
००:००:००
२१ माघ २०८२, बुधबार

२१ माघ २०८२
प्रहरीले बरामद गरेका बन्दुक। तस्बिर : रासस
अ+
अ-

बागलुङ। जिल्ला प्रहरी कार्यालय बागलुङले ४० दिनमा ११५ थान अवैध तवरबाट राखिएका भरुवा बन्दुक बरामद गरेको छ।

आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा तथा वन-जङ्गलमा हुने चोरी-सिकारीलाई मध्यनजर गर्दै सञ्चालन गरिएको अवैध हातहतियार खोजी अभियानबाट हालसम्मकै ठुलो सङ्ख्यामा भरुवा बन्दुक नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तिलक भारतीले जानकारी दिए।

उनका अनुसार सबैभन्दा धेरै इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट ६६ थान, इलाका प्रहरी कार्यालय गलकोटबाट ४५ र इलाका प्रहरी कार्यालय बरेङडाँडाबाट ४ वटा भरुवा बन्दुक बरामद भएको छ। ढोरपाटन सिकार आरक्ष आसपास, विभिन्न सामुदायिक वनमा चोरी-सिकारी बढेको तथा गाउँघरमा आपसी विवाद र झै-झगडामा समेत भरुवा बन्दुकको दुरुपयोग हुने जोखिम बढेकाले इजाजतपत्र नलिईकन लुकाइछिपाइ राखिएका भरुवा बन्दुक सङ्कलन गरी बरामद गरिएको उनको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय र मातहतका एकाइबाट भएका गस्ती तथा स्थानीय बासिन्दाबाट प्राप्त सूचनाका आधारमा गोठ, जंगल, खोलाखोल्सा तथा बसोबास नभएका खाली घरमा लुकाएर राखेको अवस्थामा अवैध बन्दुक बरामद भएको प्रहरी उपरीक्षक भारतीले बताए। “हामीले केही समय अगाडिदेखि अवैध हातहतियार सङ्कलन र बरामद गर्ने अभियान चलाएका थियौँ। हाम्रो सबै प्रहरी युनिटबाट खटिएका प्रहरीले यी हातहतियार नियन्त्रणमा लिएका हुन्‚” भारतीले भने, “चुनावलाई लक्षित गरेर लाइसेन्सवाला हतियार पनि प्रहरीमा बुझाउन आग्रह गरेका छौँ।”

उनका अनुसार बरामद भएका धेरैजसो भरुवा बन्दुक स्थानीयस्तरमै बनाइएको र चालु अवस्थामै रहेको भेटिएको छ। इजाजतपत्र नलिईकन भरुवा बन्दुक प्रयोग गरेमा पाँच वर्षसम्म कैद र ५० हजारसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।