काठमाडौँ। ओखलढुंगामा दम्पती हत्याको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ओखलढुंगा चिशंखुगढी गाउँपालिका ४ का ३४ वर्षीय धनबहादुर रानामगर र काठमाडौँ महानगरपालिका १५‚ डल्लुका एकजना १७ वर्षीय किशोर छन्।
दुवैलाई डल्लुस्थित उनीहरूकै कोठाबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ। ओखलढुंगा चिशंखुगढी गाउँपालिका ६‚ बोहोरेका ८१ वर्षीय चन्द्रविक्रम राई र उनकी ८१ वर्षीया श्रीमती चन्द्रमाया राईको १३ माघमा हत्या भएको थियो।
टाउकोमा कोदालो प्रहार गरी श्रीमान-श्रीमतीको हत्या भएको थियो। हत्यापछि ब्युरो र कोसी प्रदेश प्रहरी कार्यालयबाट अनुसन्धान गर्न टोली खटिएको थियो।
ब्युरोका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठका अनुसार पक्राउ परेका दुवैजना लुटपाट गर्ने योजना बनाएर काठमाडौँबाट ओखलढुंगा पुगेका थिए। गाउँ घरमा अन्य व्यक्तिहरूले पहिचान गर्ने भएकोले रातको समयमा गएर घटना गराएर राति नै काठमाडौँ फर्केको अनुसन्धानमा खुलेको छ। “घटना घटाएपश्चात भाग्ने क्रममा गएको बाटो प्रयोग नगरी अर्को बाटो प्रयोग गरेको देखिन्छ। बसमा टिकट काट्दा वास्तविक नाम ढाँटेको पाइएको छ,” श्रेष्ठले भने।
प्रहरीले उनीहरूको साथबाट सुनको सिक्री, मारवाडी, मोबाइल, नगदलगायत बरामद गरेको छ।