काठमाडौँ। प्रतिनिधिसभा निर्वाचनका लागि ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छापेर सकिएको छ।
निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीका अनुसार सोमबारसम्म एक करोड २२ लाख ५६ हजार मतपत्र छापेर सकिएको हो। उनका अनुसार अहिलेसम्म डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम पश्चिम, सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुंगा, सुनसरी, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत, बर्दघाट सुस्ता पश्चिम (नवलपरासी), मोरङ, उदयपुर, मुस्ताङ, लमजुङ, तनहुँ, स्याङ्जा र बर्दिया गरी ४४ जिल्लाको मतपत्र छपाइ सकिएको हो।
यो पनि…
यी जिल्लाको मतपत्र ‘प्याकिङ’ पनि भइसकेको सहायक प्रवक्ता जीसीले बताए। उनका अनुसार अहिलेसम्म १० हजार ७५९ बाकस मतपत्र प्याकिङ भइसकेको छ ।
आगामा २१ फागुनमा हुने निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा समानुपातिक तथा प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गतको गत २२ पुसदेखि मतपत्र छपाइ सुरु भएको हो । आयोगका अनुसार पहिलो चरणमा १० लाख ९८ हजार २०० नमुना मतपत्र छापेर विभिन्न जिल्लामा पठाइसकिएको छ।