काठमाडौँ
००:००:००
२८ माघ २०८२, बुधबार

२८ माघ २०८२
अ+
अ-

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा नेपालको बाह्य अर्थतन्त्रमा उल्लेखनीय सुधार देखिएको छ। रेमिट्यान्स, निर्यात तथा विदेशी विनिमय सञ्चितिमा भएको वृद्धिले बाह्य क्षेत्र थप सबल बन्दै गएको संकेत गरेको छ।

समीक्षा अवधिमा मुलुकको निर्यात ४३.८ प्रतिशतले वृद्धि भई १ खर्ब ४२ अर्ब २ करोड रुपैयाँ पुगेको छ। यस्तै आयात पनि १४.२ प्रतिशतले बढेर ९ खर्ब ३९ अर्ब २ करोड रुपैयाँ कायम भएको छ। आयात र निर्यात दुवै बढेका कारण कुल व्यापार घाटा भने १०.१ प्रतिशतले बढेर ७ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ।

वस्तुगत आधारमा हेर्दा अलैँची र पाम तेलजस्ता वस्तुको निर्यातमा वृद्धि देखिएको छ भने रासायनिक मल तथा सुन–चाँदीजस्ता वस्तुको आयात बढेको छ।

यस अवधिमा वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्स आय ३९.१ प्रतिशतले बढेर १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ। यद्यपि, वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने नेपालीको संख्या भने १०.३ प्रतिशतले घटेको छ।

२०८२ असार मसान्तको तुलनामा पुस मसान्तसम्म कुल विदेशी विनिमय सञ्चिति २१.१ प्रतिशतले वृद्धि भई ३२ खर्ब ४२ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ। अमेरिकी डलरमा यो सञ्चिति २२ अर्ब ४७ करोड बराबर रहेको छ।

हालको विदेशी विनिमय सञ्चिति २१.४ महिनाको वस्तु आयात तथा १८.९ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको देखिएको छ। यी तथ्याङ्कले नेपालको बाह्य क्षेत्र क्रमशः मजबुत बन्दै गएको स्पष्ट संकेत दिएका छन्।