काठमाडौँ। नेपाललाई टी-२० विश्वकपमा १० विकेटले पराजित गर्दै इतिहास रचेको इटालीको मोस्का दाजुभाइको ‘कनेक्सन’ अस्ट्रेलियाको सिड्नी हो।
नेपालले दिएको १२४ रनको चुनौतीलाई यी दाजुभाइले १२ दशमलव ४ ओभरमै पूरा गरेका थिए। बिहीबार मुम्बईको वानखेडे रंगशालामा नेपाल १० विकेटले पराजित भएको थियो।
मोस्का दाजुभाइ इटालीका प्रारम्भिक जोडी हुन्। उनीहरूले ४४ बल खेल्न बाँकी रहँदै नेपालले दिएको चुनौती पूरा गरेका थिए। नेपाललाई पराजित गर्ने क्रममा दाजु एन्थोनी मोस्काले ६ छक्का, तीन चौकाको सहयोगले ३२ बलमा अविजित ६२ रन बनाएका थिए। भाइ जस्टिनले तीन छक्का र पाँच चौकाको सहयोगले ४४ बलमा अविजित ६० रन बनाए।
सिड्नीको मुरेबैक क्षेत्रमा इटालियन-अस्ट्रेलियन समुदायमा जन्मिएका यी दाजुभाइका पुर्खा दोस्रो विश्वयुद्धपछि अस्ट्रेलिया बसाइँ सरेका हुन्।
अस्ट्रेलियामा हुँदा एन्थोनी न्यु साउथ वेल्स टोलीमा समावेश हुन प्रयासरत थिए। उनको सपना अस्ट्रेलियाको राष्ट्रिय टोलीबाट क्रिकेट खेल्ने थियो। तर, त्यो पूरा हुन सकेन।
भाइ जस्टिन शारीरिक विज्ञानको शिक्षक बन्न चाहन्थे। दाजुका कारण उनमा पनि क्रिकेटप्रति लगाव बढेको थियो।