सुर्खेत। फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा गाउँ–सहरमा चुनावी प्रचार तीव्र बन्दै गएको छ। राजनीतिक दल र उम्मेदवारहरू मत माग्न गाउँ गाउँमा पुगेका छन्।
गाउँ–गाउँमा राजनितिक दल तिनका उम्मेदवार निर्वाचन प्रचारको लागि गाउँ गाउँ व्यस्त छन्। तर युवा मतदाता गाउँमा कम नै छन्। सुर्खेतको चौकुने गाउँपालिकाका–५ का लोकेन्द्र सिंहराज थापाले युवा अहिले गाउँमा कम नै नभएको बताए।
उनले भने, “यहाँका युवा खेतीपातीको याम र चाडपर्वको बेलामा गाउँमा आउँछन्, अन्य बेलामा रोजगारीका लागि भारततिर जाने गर्दछन्।”
उनले गाउँमा निर्वाचनको रौनक बढेपनि महिला र बुढाबुढी मात्रै मतदाता रहेको भन्दै अब गाउँमै रोजगारीको वातावरण सिर्जना गर्नुपर्ने माग गरे।
चौकुने गाउँपालिकाकै सीतादेवी नेपालीले पनि अहिले गाउँमा युवा मतदाता कम नै रहेको बताए। उनले राजनीति भन्दा जीविकोपार्जन कसरी गर्ने भन्ने अवस्थाले युवाहरु विदेशिन बाध्य भएको बताए।
सुर्खेत चौकुने गाउँपालिकाका उपाध्यक्ष नरबहादुर बाँस्तोलाले स्वरोजगार सम्बन्धिका कार्यक्रम सञ्चालन गरिए पनि युवाहरु गाउँमा नबस्ने गरेको बताए। सुर्खेत मात्रै होइन, कर्णालीका अधिकांश युवा रोजगारीका लागि भारतमा जाने गर्दछन्। पछिल्लो समय भने भारत बाहेकका मुलकमा जानेसमेत थालेका छन्।