सात सवाल
मानिसलाई अमानवीय र अलोकतान्त्रिक भिड बनाउन नदिने हो भने डिजिटल युगको सचेत प्रयोग र व्यापक ज्ञानमाथि पहुँच विस्तार जरुरी छ।
लेखन तथा सम्पादनमा सक्रिय राजेन्द्र महर्जनका सिलु म्ये र सामाजिक प्रतिरोध, समाजवादको सपनालगायत आठ पुस्तक प्रकाशित छन् भने तीन पुस्तक प्रकाशोन्मुख छन्। उनको सम्पादनमा पुँजीवाद र मार्क्सवाद, नेपालमा वर्णव्यवस्था र वर्गसंघर्षलगायत ४० वटाजति पुस्तक बजारमा आइसकेका छन्। महर्जनसँग नेपालन्युजले गरेको पुस्तक संवाद :
पछिल्लोपटक पढेर सकाएको पुस्तक कुन हो? अहिले के पढ्दै हुनुहुन्छ?
भारतीय कवि एवं वैज्ञानिक गौहर रजाको मिथकों से विज्ञान तक (सन् २०२४) पढेर सकाएँ। यस किताबले ब्रह्माण्डको सृष्टिदेखि मानव निर्माणबारे विभिन्न सभ्यता र धर्मशास्त्रमा के-कस्तो व्याख्या र बुझाइ छ, तिनको ‘क्रिटिकल रिभ्यु’ गर्दै हाम्रो हेराइलाई मिथकबाट वैज्ञानिक बुझाइतिर लैजान सघाउँछ।
अहिले टोनी जोसेफको पुस्तक अर्ली इन्डियन्स पढ्दै गर्दा अनुभूति हुन्छ– धुलाका कणबाट तीन लाख वर्षअघि होमो सेपियन्स बनेका आधुनिक मानिसहरू नै अफ्रिकाबाट ७० हजार वर्षपहिले विश्वमा फैलिन थालेका हुन्। आज संसारभरका गोरा, गहुँगोरा, राता र काला मानिसहरूका पुर्खा एकै रंगका थिए।
तपाईंलाई मन पर्ने विधा? अध्ययन गर्ने समय, स्थान र वातावरणबारे बताइदिनुहोस् न।
पढ्ने-लेख्ने नै रुचि र काम भएकाले मलाई पढ्न पाए पुग्यो, अरू सबै बिर्सिन्छु। त्यसैले जतिखेर जहाँ पनि पढ्ने समय र मौकाको खोजीमा हुन्छु। तर, पनि आफ्नै पुस्तकालय वा काम गर्ने कोठा भए झन् सहज हुन्छ।
अध्ययनका लागि दैनिक कति समय छुट्याउनुहुन्छ?
अध्ययन र लेखनका लागि समय छुट्याउँदिनँ। मेरो काम नै अध्ययन, लेखन र सम्पादन भएकाले समयावधि खासै याद गर्दिनँ।
तपाईंका प्रिय तीन पुस्तकका नाम। ती पुस्तक मन पर्ने कारण?
पाउलो फ्रेरेको पेडागोजी अफ अप्रेस्डले प्रचलित शिक्षण प्रणालीदेखि चिन्तन पद्धतिलाई आलोचनात्मक विवेकसहित बुझ्न र संसारलाई मानवीय, लोकतान्त्रिक र अग्रगामी बन्न सघाएको छ। फ्रेरेलाई पनि आफ्नो बुझाइ फराकिलो पार्न सहयोग गरेको किताब हो, एरिक फ्रमको द फियर अफ फ्रिडम, जुन अमेरिकामा इस्केप फ्रम फ्रिडमको नामले प्रकाशन भएको छ। तेस्रो किताब हो, विल्हेम राइखको द मास साइकोलोजी अफ फासिज्म।
फ्रेरेले मजदुरभित्र पनि उत्पीडक र उत्पीडित दुई खालका भिन्नाभिन्नै व्यक्तित्व बाँचिरहेको हुन्छ भन्ने कुरा उजागर गरेका थिए। यस विचारको जरोतिर जाँदै एरिक फ्रमले आफ्नो किताबमा व्यक्तिभित्रको ‘अथोटोरियन क्यारेक्टर’ (प्राधिकारवादी चरित्र) तिर संकेत गरेका थिए, चाहे त्यो व्यक्ति मजदुरमा होस् या पुँजीपतिमा होस्। खासमा आर्थिक-सांस्कृतिक-राजनीतिक संकटले ग्रस्त जर्मनीमा मध्यम वर्गभित्रको प्राधिकारवादी चरित्रले फासीवाद जन्माएको तथ्य वर्तमान विश्वमा पनि मन्थनयोग्य लाग्छ।
विल्हेम राइखले आफ्नो किताबमा हिटलर वा कुनै पनि पपुलिस्ट वा डेमागग वा अथोटोरियन नेताले फासीवाद जन्माउने होइन, बरु फासीवादका लागि उपयुक्त बनेको जमिन, खासमा समाजका अन्तर्विरोध र त्यसले बनाएको आमजनताको मनोविज्ञानले त्यस्ता पपुलिस्ट नेता जन्माउने र अँगाल्ने तर्क व्यापक अनुसन्धानको आधार व्यक्त गरेका छन्।
आममान्छेलाई आलोचनात्मक विवेकसहितको ‘नागरिक’ होइन, निश्चित राष्ट्रवादी नाराको आडमा ‘भिड’ बनाउने सामाजिक आन्दोलन र पपुलिस्ट नेताको निर्माणबारे उनीहरूको विचार मेरो नयाँ किताब उन्माद : फासीवाद मन्थनको जग हो। लोकप्रिय धुन सुनाएर ‘पाइड पाइपर अफ ह्यामिलियन’ (ह्यामिलियनका बाँसुरीवादक)ले मुसाहरूलाई समुद्रमा डु्बाएजस्तै, बच्चाहरूलाई एकोहोर्याएर सहरवासीसँग मोलमोलाइ गर्ने एकसेएक आधुनिक बाँसुरीवादकहरूबारे बुझ्न यी किताब उपयोगी लाग्छ।
पुस्तकले तपाईंको व्यक्तित्व र जीवनमा ल्याएको सबैभन्दा ठूलो परिवर्तन के हो?
शब्दको संसार र संसारबारे लिखित शब्द हेर्न, देख्न र बुझ्न पुस्तकले सघायो। शब्द र संसारबारे गहिरो परिचय गराउने किताबसँग संगत नभएको भए म लेखक बन्ने नै थिइनँ।
पुस्तक किन पढ्ने?
संसार कसरी फेरिँदै छ र संसारमा आफ्नो खास अस्तित्व के-कति रहेछ भन्ने दृष्टिकोण विकास गर्न। नभए त धेरैजसो मान्छेले यथास्थितिवादी, भाग्यवादी र अहंकारी भएर बित्यास नै पार्ने रहेछन्।
डिजिटल युगमा पठन संस्कृति जोगाइराख्न के गर्नुपर्ला?
उखान नै छ– ‘बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बिँड’। डिजिटल युग पनि अरू युगजस्तै अवसर पनि हो, चुनौती पनि हो, धेरैजसो सत्ता-शक्तिका लागि सांस्कृतिक शस्त्रअस्त्र।
मानिसलाई अमानवीय र अलोकतान्त्रिक भिड बनाउन नदिने हो भने डिजिटल युगको सचेत प्रयोग र व्यापक ज्ञानमाथि पहुँच विस्तार जरुरी छ। नभए पहिलेका शास्त्र र प्रचारयन्त्रले जस्तै मानिसलाई अचेत, अज्ञानी, अविवेकी बनाउन यसको भरपुर उपयोग हुन सक्छ। गहन र व्यापक अध्ययन-अनुसन्धानविना प्रगति र न्याय सम्भव छैन भन्ने भाव पैदा गर्नु अत्यावश्यक होला।