काठमाडौँ
००:००:००
७ असार २०८३, आईतवार

सात सवाल

बाजा बजाउँदा म सबैभन्दा बढी आफ्नै रूपमा हुन्छु। म के चाहन्छु, मलाई के मन पर्छ भन्ने कुरा त्यही क्षणमा स्पष्ट महसुस गर्छु।

१६ जेष्ठ २०८३
अ+
अ-

गायनमा अब्बल महिलाको संख्या पुरुष हाराहारी भए पनि वाद्यवादक वा संगीतकारका रूपमा अत्यन्तै न्यून छ। तिनै थोरैमध्येकी एक हुन् शारदा डंगोल जो वाद्यवादकका रूपमा दुई दशकदेखि सक्रिय छन्।

मादल, धिमे, तबला, खिँः, धाः, खैजडीलगायत बाजा बजाउन सिपालु उनी एकल तथा सामूहिक सिर्जनामा सक्रिय छिन्। व्यावसायिक स्टेजदेखि सांस्कृतिक जात्राहरूमा वाद्यवादन कला प्रदर्शन गरिसकेकी उनै ड‌ंगोलसँग नेपालन्युजका लागि गरिएको सात सवाल :

तपाईंलाई वाद्यवादनप्रति केले आकर्षित गर्‍यो?

समाजमा महिलाले बाजा बजाउनु हुँदैन भनेको सुन्दा अचम्म लाग्थ्यो। किन हुँदैन भन्ने खुल्दुलीले नै बाजा बजाउने रहर पलाएको हो। महिलालाई घरायसी कामधन्दामा सीमित राख्न चाहने सोच परिवर्तन गर्न आवश्यक छ भन्ने ठानेरै बाजा बजाउन सिकेँ।

बाजा बजाउने महिला अझै कम हुनुको कारण के हो?

समाजमा पुराना चलन फेरिँदै जाँदा महिलाले बाजा बजाउने कुरा नौलो हुन छोडेको छ। तर, अझै परिवार र समाजले सकारात्मक रूपमा नलिने भएकाले महिलाको उल्लेख्य सहभागिता बढेको छैन।

महिलाले बाजा बजाउँदा संगीत क्षेत्र र समाजमा के फरक पार्छ?

महिलालाई अझै घरायसी काम गर्ने वा बच्चा जन्माउने जेन्डरका हेर्ने चलन छँदै छ। संगीतमा महिला सहभागिता बढ्दा यस्तो साँघुरो सोचको घेरा तोड्ने काम गर्छ। बाजाले उनीहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउँछ भने समाजमा पहिचान पनि दिन्छ।

महिलाले संगीतमा पुरुषभन्दा बढी गहन भावना पोख्न सक्छन् जसले संगीतलाई समेत समृद्ध बनाउन सक्छ जस्तो लाग्छ।

स्टेजमा र सांस्कृतिक जात्रामा बाजा बजाउँदाको फरक के हो?

मञ्चमा प्रस्तुति दिनु भनेको आफ्नो प्रतिभा देखाउनु हो। आफूले मन पराएर गरिरहेको कामको प्रतिनिधित्व गर्नु पनि हो।

सांस्कृतिक उत्सवहरूमा सहभागी हुनु र बाजा बजाउनु मेरा लागि केवल मनोरञ्जन होइन। यो हाम्रो संस्कृति जोगाउने, निरन्तरता दिने र नयाँ पुस्तालाई हस्तान्तरण गर्ने एउटा उत्सव हो।

नेवा: संस्कृति र बाजा कसरी जोडिएका छन्?

नेवा: संस्कृतिमा समूहमा कामको थकान मेट्दै रमाउँदै बसेर गाउने-बजाउने चलन छ। त्यहीबेला सबै खालका भावना, दुःख-सुख संगीतबाट पोखिन्छ। नेवाः समुदायमा घर, खेत, मन्दिर र जात्राहरू सबैतिर बाजा र संगीत छ।

तपाईंका लागि बाजा के हो?

मेरा लागि बाजा आफ्नो भावना व्यक्त गर्ने माध्यम हो। बाजा मेरो प्रेरणा हो जसले म को हुँ र म के गर्न सक्छु भन्ने कुरा संसारलाई देखाउन मद्दत गर्छ। बाजा बजाउँदा म सबैभन्दा बढी आफ्नै रूपमा हुन्छु। म के चाहन्छु, मलाई के मन पर्छ भन्ने कुरा त्यही क्षणमा स्पष्ट महसुस गर्छु।

वाद्यवादनले दिएको सबैभन्दा ठूलो सन्तुष्टि?

म बाजा बजाउँदा सधैँ रमाउँछु। संसारलाई देखाउन चाहन्छु कि अनेक प्रतिबन्ध र सीमितताका बाबजुद पनि मैले यो सम्भव बनाएकी छु।

आफूले रुचाएको काम गरेर आफ्नो परिचय बनाइरहेकी छु। साथै, महिलाले पनि बाजा बजाउन सक्छन् है भनेर अरू छोरीमान्छेलाई प्रेरित गरिरहेकी छु भन्ने कुराले सन्तुष्टि दिन्छ।