काठमाडौँ। सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई थुनामा राखेको विषयमा निर्वाचन आयोगले गरेको निर्णयको सक्कल फाइल मगाउने आदेश जारी गरेको छ।
न्यायाधीशहरू नहकुल सुवेदी र मेघराज पोखरेलको संयुक्त इजलासले निर्वाचन आयोगको ४ फागुन २०८२ मा पत्र पठाएको र त्यसैअनुसार पक्राउ गरिएको भन्नेबारे निर्णयसहितको सक्कल फाइल मगाउन सोमबार आदेश गरेको हो।
त्यस विषयमा अदालतले १२ फागुन (मंगलबार) का लागि पेसी तोकेको छ। “निर्वाचन आयोगले प्रसाईंउपर अनुसन्धान गरी कारबाही गर्न लेखी पठाउने भनी गरेको निर्णयसहितको सक्कल फाइल महान्यायाधिवक्ताको कार्यालयमार्फत झिकाउनू’ सोमबार गरेको आदेशमा भनिएको छ। ४ फागुनमा प्रसाईंलाई निर्वाचन आयोगले अनुसन्धान गरी पक्राउ गर्न भनेपछि प्रहरीले पक्राउ गरी जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर हिरासतमा राखेको छ।
प्रसाईंले आफूलाई विनाकारण पक्राउ गरी हिरासतमा राखेको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका थिए।