काठमाडौँ
००:००:००
१५ फाल्गुन २०८२, शुक्रबार

१५ फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ। नेपाल आँखा अस्पताल त्रिपुरेश्वरलाई ‘डोको एक्सिलेन्स अवार्ड २०२५’ बाट सम्मानित गरिएको छ । ‘डोको रिसाइक्लर्सले ‘इमर्जिङ इम्प्याक्ट पार्टनर’का रूपमा अस्पताललाई सम्मान गरेको हो ।

आज एक कार्यक्रमका बीच डोको रिसाइक्लर्सका प्रमुख कार्यकारी अधिकृत पञ्कज पञ्जियारले नेपाल आँखा अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाईँ र कोषाध्यक्ष अनिल गोर्खालीलाई सम्मानपत्र हस्तान्तरण गरे ।

नेपाल आँखा अस्पतालले विगतका वर्षहरूमा डोको रिसाइक्लर्ससँगको सहकार्यमा फोहर छुट्याउने प्रणालीलाई सुदृढ बनाई, सुरक्षित विसर्जन अभ्यासहरूलाई सुधार गर्नुका साथै कर्मचारीहरूमा वातावरणीय सचेतना वृद्धि गर्दै आएको छ । जसको फलस्वरुप अस्पतालले समग्र वातावरणीय प्रभावमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ ।

डोको रिसाइक्लर्सको तथ्याङ्कअनुसार, यस अवधिमा नेपाल आँखा अस्पतालबाट विसर्जन भएको कुल २।६६ टन फोहर पुनः प्रयोग हुँदा करिब २८ वटा बराबर रुख संरक्षण भएको छ । साथै, ल्यान्डफिल साइटमा एक हजार १३ घनफिट स्थान बचत भएको र २।२ टन बराबर कार्बन उत्सर्जन कम भएको देखिएको छ ।

आँखा अस्पतालबाट पुनः प्रयोग गर्न सकिने फोहर डोको रिसाइक्लर्सले सङ्कलन गर्दै आएको छ । संस्थाका अनुसार अस्पतालमा फोहर उत्पादन, सङ्कलन र विसर्जन प्रक्रिया वैज्ञानिक तथा निर्धारित मापदण्डअनुसार सञ्चालन हुँदै आएको छ ।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत गोसाईले अस्पतालजन्य फोहर व्यवस्थापन प्रणालीलाई सुदृढ बनाउन संलग्न सम्पूर्ण चिकित्सक तथा कर्मचारीहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो र यो सम्मान सम्बन्धित सबैको सहकार्यबाट मात्र सम्भव भएको बताए ।

अस्पतालको आव २०८१÷८२ को तथ्याङ्कअनुसार अस्पतालमा वार्षिक तीन हजार २७६ ले आकस्मिक सेवा र एक लाख ६४ हजार २९४ जनाले बहिरङ्ग सेवा लिएका छन् ।