काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

२६ फाल्गुन २०८२
तस्बिरहरू : प्रकाशचन्द्र तिमिल्सेना/ नेपाल फोटो लाइब्रेरी
अ+
अ-

चितवन। त्रिशूली नदीको चञ्चल छालमाथि साहस, कौशल र सहकार्यको अद्भूत दृश्य मंगलबार देखियो।

नेपालका नदीहरूमा आधारित साहसिक पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६ तथा ५०औँ अन्तर्राष्ट्रिय हिमालयन र्‍याफ्टिङ तथा कायाकिङ महोत्सव मंगलबारदेखि त्रिशूली नदीमा सुरु भएको छ।

नेपाल पर्यटन बोर्ड (एनटीबी) र नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा) को संयुक्त आयोजनामा सुरु भएको तीनदिने प्रतियोगिता बिहीबारसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा नेपालसहित विभिन्न देशका र्‍याफ्टिङ तथा कायक खेलाडी सहभागी छन्। नदीको तीव्र छाल र चुनौतीपूर्ण धारा पार गर्दै खेलाडीले आफ्नो दक्षता प्रदर्शन गरिरहेका छन्।

प्रतियोगितामा कुल ५१ प्याडलर सहभागी छन्। पहिलो दिन कायाक स्प्रिन्ट (३०० मिटर) र राफ्ट स्प्रिन्ट (३०० मिटर) आयोजना गरिएको छ। कायाक स्प्रिन्ट प्रतिस्पर्धामा ५१ जनाले भाग लिए।

आयोजकका अनुसार बुधबार कायाक क्रस (३०० मिटर), राफ्ट म्यानडेटरी प्रतिस्पर्धा हुनेछ, जसमा प्रारम्भिक चरणबाट छनोट भएका ३२ खेलाडी सहभागी हुने महोत्सवका संयोजक तथा नाराका उपाध्यक्ष शुक्र लामाले जानकारी दिए।

प्रतियोगिताको अन्तिम दिन बिहीबार १० किलोमिटरको राफ्ट रेस हुनेछ। जसमा १३ टोली प्रतिस्पर्धामा उत्रनेछन्। प्रत्येक टोलीमा चार-चारजना खेलाडी रहनेछन्।

भारतका दुई र इजरायलका दुई टोलीसहित विदेशी खेलाडीले त्रिशूलीको छालमा प्रतिस्पर्धा गरिरहेका छन्। प्रतियोगितालाई अझ स्वस्थ र पारदर्शी बनाउन खेलाडीको समय मापनका लागि टाइम-चिप प्रणाली प्रयोग गरिएको छ।

नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सिज (नारा) का अध्यक्ष कमलबहादुर ठकुरीले यो वर्षको महोत्सवलाई विशेष ऐतिहासिक अवसरका रूपमा लिएको बताए। उनका अनुसार यो वर्षको महोत्सव ‘सिल्भर जुबिली’का रूपमा मनाइँदै छ। उनले भने‚ “यो केवल खेलकुद प्रतियोगिता मात्र होइन, नेपालको नदी पर्यटन, साहसिक संस्कृति र सहभागीहरूको पहिचानसँग जोडिएको गौरवको उत्सव हो। यसले नेपाललाई विश्व साहसिक पर्यटनको नक्सामा अझ मजबुत रूपमा स्थापित गर्न सहयोग पुर्‍याउनेछ।”

नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक उदय भट्टराईले नदी, साहस र पर्यटनको संगम बनेको महोत्सवले नेपालका नदीहरूलाई विश्व साहसिक पर्यटन बजारमा थप उजागर गर्ने विश्वास बताएका छन्। उनले थपे‚ “नेपालमा नदी-आधारित साहसिक पर्यटनले पछिल्ला दशकहरूमा तीव्र गति लिएको छ। विशेषगरी त्रिशूली‚ भोटेकोसी‚ कर्णाली र सेती नदीहरू र्‍याफ्टिङ तथा कायाकिङका लागि विश्वभरका साहसिक पर्यटकहरूको आकर्षण बनेका छन्। यसलाई थप प्रवर्द्धन गर्न यो महोत्सव प्रभावकारी हुने विश्वास लिएको छु।”

आयोजकका अनुसार प्रतियोगिताका विजेतालाई विभिन्न विधामा १५ हजारदेखि एक लाख रुपैयाँसम्म नगद पुरस्कार‚ ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ।

तीन दिनसम्म चल्ने यस अन्तर्राष्ट्रिय महोत्सवको समापन बिहीबार गरिनेछ। समापन समारोहमा विजेता खेलाडी पुरस्कार वितरण तथा नेपालमा र्‍याफ्टिङ संस्कृति सुरु गर्ने हिमालय रिभर एक्सप्लोरेसनलाई सम्मान गरिने कार्यक्रम छ।

हेर्नुहोस् थप तस्बिर :