काठमाडौँ
००:००:००
९ असार २०८३, मंगलवार

चुनावी नतिजा

लुम्बिनी प्रदेशबाट एमालेका दुई उपाध्यक्ष, महासचिव र पूर्वमन्त्रीहरूको लज्जास्पद हार

२७ फाल्गुन २०८२
नेताहरू हृदयेश त्रिपाठी, विष्णु पौडेल, प्रदीप ज्ञवाली, बृजेशकुमार गुप्ता, अमरसिंह पुन, विनोद चौधरी, गोकर्ण विष्ट, शंकर पोखरेल, चन्द्र भण्डारी र सर्वेन्द्रनाथ शुक्ला।
अ+
अ-

बुटवल। २१ फागुनमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनबाट लगातार संसदीय राजनीतिमा सक्रिय केही नेताहरूको संसद् यात्रा रोकिएको छ।

लुम्बिनी प्रदेशका प्रभावशाली नेताका रूपमा चिनिएका मुख्य दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरू यस पटक जनताबाट अनुमोदित भएनन्। कतिपय भारी मतले पराजित भए। पूर्वप्रधानमन्त्रीदेखि जेन-जीसम्मका उम्मेदवार रहेको लुम्बिनी प्रदेशबाट एमालेका दुई उपाध्यक्ष, महासचिव र पूर्वमन्त्रीहरूसमेतको संसद् पुग्ने बाटो रोकियो।

नेकपाका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले रुकुम पूर्वबाट चुनाव जित्दै गर्दा एमालेका उपाध्यक्षद्वय विष्णुप्रसाद पौडेल र गोकर्ण विष्ट पराजित भए। पूर्वअर्थमन्त्री समेत रहिसकेका पौडेल रुपन्देही २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का युवा नेता सुलभ खरेलसँग फराकिलो मतान्तरले पराजित भए। २८ वर्षीय खरेलले ५६ हजार ५५० मत ल्याउँदा निकटतम प्रतिस्पर्धी उपाध्यक्ष पौडेलले १२ हजार ८६१ मत पाए।

पाँचौँ जित निकाल्ने योजनासहित चुनावमा होमिएका संसदीय राजनीतिका खेलाडी मानिने पौडेलको यो दोस्रो हार हो। २०५६ सालदेखि रुपन्देहीबाट निरन्तर चुनाव लडिरहेका पौडेल २०६४, २०७०, २०७४ र २०७९ सालमा लगातार विजयी भएका थिए।

एमालेका अर्का उपाध्यक्ष तथा पूर्वमन्त्री गोकर्ण विष्ट गुल्मी २ बाट रास्वपाकै गोविन्द पन्थीसँग पराजित भए। पन्थी १६ हजार ९६७ मत ल्याएर विजयी हुँदा विष्टले १६ हजार ४०६ मत पाए। यसअघिका पाँच वटा निर्वाचनमध्ये चार वटामा जित हासिल गरेका विष्टको यो दोस्रो हार हो। उनले २०७० सालदेखि लगातार (२०७०, २०७४ र २०७९) मा ‘ह्याट्रिक’ जित निकालेका थिए।

लुम्बिनी प्रदेशमा पराजित एमालेका अर्का पदाधिकारी हुन्, महासचिव शंकर पोखरेल। उनी दाङ २ मा रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्यसँग फराकिलो मतान्तरले पराजित भए। आचार्यले ४३ हजार ५५९ मत ल्याउँदा पोखरेलले १५ हजार २८७ मत मात्र पाए।

पाल्पामा  चुनावी अभियानका क्रममा नेकपाका उम्मेदवार सोमप्रसाद पाण्डेय।

महासचिव पोखरेल दाङबाट २०५१, २०५६, २०७०, २०७४ (प्रदेशसभा सदस्य), २०७९ र २०८२ सालमा निर्वाचन लडेका थिए। तर, २०५१ सालको मध्यावधि निर्वाचन जितेका पोखरेलले त्यसपछि संघतर्फका कुनै पनि चुनावमा जित हासिल गर्न सकेका छैनन्।

एमालेकै पूर्वउपमहासचिव प्रदीप ज्ञवाली पनि गुल्मी १ मा पराजित भए। उनलाई रास्वपाका केन्द्रीय सदस्य सागर ढकालले १४ हजार ४६१ मतको फराकिलो अन्तरले हराए। ढकाल २९ हजार ६४२ मत ल्याएर विजयी हुँदा ज्ञवालीले १५ हजार १८१ मत पाए भने यही क्षेत्रबाट पटक पटक चुनाव जितेका कांग्रेसका चन्द्रप्रसाद भण्डारीले १३ हजार ५०५ मत मात्रै पाए।

पाल्पामा चार पटक जित हासिल गरेका पुराना नेता सोमप्रसाद पाण्डेय पनि यस पटक संसद् प्रवेश गर्न पाउनेछैनन्। २०५१ सालदेखि निरन्तर चुनावी मैदानमा रहेका नेकपाका नेता एवं पूर्वमन्त्री पाण्डेयलाई रास्वपाका माधवबहादुर थापाले फराकिलो मतान्तरले पराजित गरे। थापा २६ हजार ७३६ मत प्राप्त गरेर विजयी हुँदा नेपाली कम्युनिस्ट पार्टीका पाण्डेय पाँच हजार २८८ मत ल्याई चौथो स्थानमा रहे।

कांग्रेसमा विशेष महाधिवेशन आयोजनाका लागि सक्रिय रूपमा खटिएका कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनको संसद् यात्रा पनि रोकिएको छ। यसअघि प्रदेशसभा निर्वाचनमा हार बेहोरेका पुनलाई बाँके ३ मा रास्वपाका खगेन्द्र सुनारले पराजित गरे। सुनार २९ हजार ५५१ मत प्राप्त गरी निर्वाचित हुँदा १३ हजार २१५ मतका साथ पुन तेस्रो स्थानमा रहे। यस क्षेत्रमा एमालेका उम्मेदवार सुमन मल्लले १९ हजार ६१५ मत पाएका छन्।

संसदीय राजनीतिका पुराना खेलाडी सर्वेन्द्रनाथ शुक्लाको संसद् यात्रामा रास्वपाकै उम्मेदवार कन्हैया बनियाले विराम लगाए। रुपन्देही ४ मा शुक्ला चौथो स्थानमै रोकिए। रास्वपाका बनियाले २८ हजार ६६ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का प्रमोदकुमार यादवले २० हजार २६२ मत पाएका छन्।

तेस्रो नम्बरमा रहेका नेपाली कांग्रेसका आशुतोष मिश्रको १५ हजार ६१३ मत छ। त्यस्तै, जसपा नेपालका सर्वेन्द्रनाथ शुक्लाको तीन हजार ४१० र जनमत पार्टीका भोपेन्द्रप्रसाद यादवको दुई हजार ७७ मत छ।

लुम्बिनीमा दशकौँदेखि उही उम्मेदवार

विभिन्न दल परिवर्तन गर्दै दशकौँदेखि चुनाव जितेर पटक पटक सदन र सत्तामा पुगेका चतुर राजनीतिक खेलाडी हृदयेश त्रिपाठीले यसपटक लज्जास्पद हार बेहोरे। नवलपरासी बर्दघाट सुस्ता पश्चिम क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टी नेपालबाट चुनावमा होमिएका त्रिपाठी र नेपाली कांग्रेसबाट उम्मेदवार रहेका विनोदकुमार चौधरीलाई रास्वपाका विक्रम खनालले फराकिलो मतान्तरले पराजित गरे।

खनाल ४५ हजार २४१ मत ल्याउँदा चौधरीले नौ हजार ५०२ र त्रिपाठीले सात हजार ८३२ मत प्राप्त गरे। २०७९ सालमा जनता प्रगतिशील पार्टीबाट चुनाव लडेका त्रिपाठी कांग्रेसका चौधरीसँग पराजित भएका थिए।

लुम्बिनीको संसदीय राजनीतिका अर्का चतुर खेलाडी कपिलवस्तु २ का बृजेशकुमार गुप्ताको पाँचौँ परीक्षण असफल भएको छ। २६ वर्षको अवधिमा चार पटक सांसद बनेका गुप्ता यस पटक तेस्रो भए। उनलाई कांग्रेस उम्मेदवारले पछि पारे। कपिलवस्तु २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विक्रमसिंह थापा विजयी भएका छन्।

२७ हजार ६३५ मतका साथ थापा विजयी हुँदा निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार सुरेन्द्र आचार्यले २१ हजार ५२७ मत ल्याएका छन्। नेकपाका बृजेशकुमार गुप्ताले २० हजार ४८२ मत प्राप्त गरे।

२६ वटा निर्वाचन क्षेत्र रहेको लुम्बिनी प्रदेशमा रास्वपाले २१ निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ। कांग्रेस र नेकपाले समान दुई-दुई क्षेत्रमा जितेका छन् भने एमाले एउटा मात्रै क्षेत्रमा खुम्चिएको छ।