अनुभूति
आज ती दिनहरू सम्झिँदा लाग्छ, त्यो यात्राले मलाई भाषा मात्र सिकाएन, विनम्रता, धैर्य र गुरुजनको स्नेह कस्तो हुन्छ भन्ने पनि सिकायो। गल्तीहरू नै मेरा शिक्षक बने र गुरुजनहरूको माया नै मेरो सबैभन्दा ठूलो पाठशाला।
म सानै छँदा बुवाले घरमा एउटा सानो रेडियो ल्याउनुभएको थियो। त्यसबेला सञ्चारका माध्यमहरूमध्ये रेडियो अत्यन्त लोकप्रिय थियो। त्यसैले त्यो रेडियो नै हाम्रो घरमा सबैभन्दा प्रिय साथी बनेको थियो र म त्यही रेडियो सुन्दै समय बिताउँथेँ। त्यही रेडियोप्रतिको आकर्षण र सान्निध्यले होला, रेडियोमा काम गर्ने रहर मभित्र सानैदेखि हुर्कन थालेको थियो।
गाउँभरिका मानिस रेडियो सुन्न हाम्रो घरमा आउँथे। त्यस वातावरणले मेरो मनमा झन् उत्साह जगाउँथ्यो। म आफैँले समाचार वाचन गरिरहेको कल्पना गर्थें र गाउँभरिका मानिसहरूले मेरो आवाज सुनेर प्रशंसा गरिरहेको सोच्दै दिनरात कल्पनामा हराइरहन्थेँ। रेडियो नेपालअन्तर्गत तत्कालीन क्षेत्रीय प्रसारण केन्द्र, धनकुटाबाट प्रसारण हुने कार्यक्रम ‘झल्झली आँखैमा आइदिन्छ’ तीलविक्रम चेम्जोङ र भक्तशेर चेम्जोङले सञ्चालन गर्नुहुन्थ्यो। उहाँहरूको स्वर सुन्दा आफ्नै दाइहरू बोलिरहनुभएजस्तो आत्मीय अनुभूति हुन्थ्यो। त्यो कार्यक्रम मेरा लागि मनोरञ्जन मात्र होइन, आफ्नोपनले भरिएको एक मीठो सहयात्रीजस्तै थियो।
त्यस कार्यक्रमका लागि एक पटक चिठी पठाएँ। मनभरि आशा थियो, एकदिन त अवश्य पढिन्छ होला, तर धेरै समयसम्म त्यो चिठी प्रसारण भएन। त्यसबेला अलिकति बालसुलभ विचार पनि आयो, एउटा चेम्जोङले पठाएको कुरा अर्को चेम्जोङले किन प्रसारण गर्नुहुन्न होला? आज सम्झँदा लाग्छ, त्यो त आफ्नोपनकै कारण जन्मिएको बालसुलभ भाव रहेछ। समय बितिसक्यो, तर त्यो प्रतीक्षा, रेडियो खोल्ने बानी र कार्यक्रम सुन्ने उत्सुकता! यी सबै सम्झनाहरू झन् सुन्दर चित्र बनेर मनमा बसेका छन्।
सपना स्पष्ट हुनुपर्छ, एकदिन अवश्य पूरा हुन्छ भन्ने कुरा मैले आफ्नै जीवनमा अनुभव गरेँ। भारतका दार्शनिक तथा वैज्ञानिक राष्ट्रपति एपीजे अब्दुल कलामले भन्नुभएको छ, ‘सपना त्यो होइन जुन निदाउँदा देखिन्छ। सपना त त्यो हो, जसले निदाउन दिँदैन।’ उहाँको यो भनाइमा गहिरो अर्थ लुकेको छ। मैले पनि सानै उमेरमा एउटा सपना देखेँ। रेडियोमा बोल्ने सपना, जसले मलाई निदाउन दिएन।
उमेरसँगै ठूली हुँदै जाँदा बालापनदेखि मनमा हुर्किरहेको रेडियोमा काम गर्ने तीव्र चाहनाले पनि फराकिलो आकार लिइरहेको थियो। त्यसै क्रममा रेडियो नेपालमा लिम्बू समाचार वाचकका लागि दरखास्त आह्वान भयो। अवसर त आयो, तर समस्या के थियो भने, मलाई लिम्बू भाषा पटक्कै आउँदैनथ्यो। यद्यपि, रहर साँचो थियो, र त्यस रहरले मलाई हार मान्न दिएन। मैले आफैँसँग वाचा गरेँ– जसरी पनि सिक्छु, जति नै गाह्रो भए पनि भाषा सिकेरै छाड्छु।’ यही अठोटका साथ मैले दरखास्त दिएँ।
समाचार लेखन घटना टिप्ने काम मात्र होइन, भाषालाई जीवन्त बनाउने अभ्यास पनि रहेछ भन्ने अनुभूति भयो। आज ती दिनहरू सम्झिँदा लाग्छ, त्यो यात्राले मलाई भाषा मात्र सिकाएन, विनम्रता, धैर्य र गुरुजनको स्नेह कस्तो हुन्छ भन्ने पनि सिकायो।
भाग्यले साथ दियो, म छनोट पनि भएँ। रेडियो नेपालको तत्कालीन क्षेत्रीय प्रसारण केन्द्र, धनकुटामा १४ कात्तिक २०६६ मा नियुक्त भएँ। त्यसपछि सुरु भयो, मेरो वास्तविक संघर्ष। लिम्बू भाषा सिक्नु मेरा लागि नयाँ संसारमा पाइला राख्नुजस्तै थियो। लिम्बू भाषामा काम गर्न जाँदा मभित्र गहिरो डर थियो, जागिर कसरी जोगाउने भन्ने चिन्ता थियो। भाषा ठीकसँग नजान्दा मेरो अज्ञानता देखिएला भन्ने भय पनि उत्तिकै थियो। दिनभरि लिम्बू भाषाको अभ्यास र रातभरि अध्ययन, मेरो दैनिकी नै बदलियो।
नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा प्रकाशित लिम्बू भाषाको शब्दकोश सबैभन्दा नजिकको साथी बन्यो। धेरै रातहरूसँग निद्रालाई साटेर शब्दहरू कण्ठ पारेकी छु। मैले लिम्बू भाषाका हस्तीहरू वरिष्ठ समाचार सम्पादक तीलविक्रम चेम्जोङ र वरिष्ठ समाचार सम्पादक भक्तशेर चेम्जोङहरूसँग सहकार्य गर्दै भाषा सिक्ने दुर्लभ अवसर पाएकी थिएँ। मेरा लागि त्यो काम गर्ने स्थान मात्र थिएन, सिकाइको एउटा जीवित पाठशाला थियो।
सबैभन्दा मन छुने विषय त उहाँहरूको विचार र व्यवहार थियो। भाषा पटक्कै नजान्ने व्यक्तिलाई पनि हौसला दिँदै ‘अबको पुस्ताले भाषा जान्ने मान्छे मात्र खोजेर पाइँदैन, नजान्नेलाई जान्ने बनाइयो भने मात्र भाषाको पुस्तान्तरण सम्भव हुन्छ’ भन्ने उहाँहरूको विचार सुन्दा म छक्क परेँ। भाषा, पहिचान र संस्कृतिको महत्त्व बुझ्ने मानिसहरूको सोच यति उदार र यति दूरदर्शी हुँदो रहेछ भन्ने अनुभूति गरेँ। शब्दहरू सिकाउँदा उहाँहरूले कहिल्यै दिक्क मान्नुभएन। धैर्यका साथ दोहोर्याएर, बुझाएर, प्रयोग गर्न लगाएर सिकाउने उहाँहरूको शैली देख्दा मलाई लाग्थ्यो, यस्तो व्यवहार मातृभाषाप्रेमी, भाषाको आवश्यकता र यसको अस्तित्वको महत्त्व गहिरो रूपमा बुझ्नेहरूले मात्रै गर्न सक्छन्।
मैले पहिलो भाषाका रूपमा लिम्बू भाषा सानैदेखि सिक्ने अवसर पाइनँ। पछि सिक्ने क्रममा धेरै गल्तीहरू पनि भए। ती घटनाहरू सम्झँदा कहिलेकाहीँ हाँसो उठ्छ भने कहिलेकाहीँ लज्जाको अनुभूति हुन्छ, तर ती अवस्थाहरू सिकाइका अमूल्य क्षणहरू दिए। नेपाली भाषामा ‘खान्छु’, ‘गर्छु’ जस्ता शब्दलाई अकरण बनाउँदा ‘खाँदिनँ’, ‘गर्दिनँ’ हुन्छन्। यसैका आधारमा मैले लिम्बू भाषामा पनि उही नियम लागु हुन्छ भन्ने ठानेँ। उदाहरणका लागि, ‘चाङ’, ‘चोगुङ’ लाई अकरण बनाउँदा ‘मेजाआन’, ‘मेजोकान’ हुन्छ भन्ने ठानेँ, तर पछि थाहा भयो, लिम्बू भाषामा सबै शब्दहरू एउटै नियममा नबाँधिने रहेछन्। यो नियम नबुझ्दा एकदिन ‘पाइन्छ’ को अकरण बनाउँदा ‘खोदेत’ बाट मैले ‘मेङघोतिन’ भन्ने शब्द बनाएछु। यो सुनेपछि तीलविक्रम दाइले मुस्काउँदै भन्नुभयो, ‘तिमी त लिम्बू भाषाको प्रवर्तक नै भयौ। भाषामै नभएको शब्द कहाँबाट ल्यायौ?’ खासमा ‘खोमेदेत्तिन’ हुने रहेछ।
ती दिनहरूले मलाई भाषा, संस्कार, आत्मपहिचान र सांस्कृतिक जिम्मेवारीका अर्थ सिकाए। आज फर्केर हेर्दा के लाग्छ भने, त्यस समयले मलाई एउटा भाषा मात्र सिकाएन, भाषाप्रति सम्मान गर्ने हृदय पनि दियो।
लिम्बू भाषामा ‘नामगेन’ शब्दको अर्थ ‘पूर्व’ हुन्छ, तर यो दिशासूचक अर्थमा मात्र प्रयोग हुने शब्द रहेछ भन्ने पछि थाहा पाएँ। मैले भने ‘नामगेन’ शब्दलाई सिधै ‘पूर्व’ को समानार्थी शब्दका रूपमा बुझेँ र त्यही आधारमा ‘पूर्वअध्यक्ष’ लाई पनि लिम्बू भाषामा ‘नामगेन थोसुदिम्बा’ भनेर सम्बोधन गरेकी थिएँ। त्यसबेला प्रसंगअनुसार शब्द छनोट गर्न नजान्दा यस्तो हुन पुगेको हो। ती क्षणहरूमा असहजता हुन्थ्यो, तर त्यसभित्र भाषा सिकाउने गहिरो माया र धैर्य लुकेको थियो।
भाषा सिक्ने यात्रामा यस्ता धेरै किस्साहरू भए। यात्रा सहज अवश्यै थिएन, तर जस्तोसुकै परिस्थिति आइपरे पनि गन्तव्यमा पुगेरै छाड्ने मेरो अठोट र अप्ठ्यारोमा हात समाएर डोर्याउने गुरुहरूका कारण बीचैमा यात्रा टुंग्याउनु परेन। बिस्तारै शब्दहरू, प्रयोगहरू र भावहरू बुझ्दै जाँदा आत्मविश्वास पनि बढ्दै गयो। लिम्बू भाषामा समाचार तयार पार्न थालेपछि दुर्घटना, आगलागी, प्राकृतिक विपद्जस्ता समाचार बनाउन मलाई सजिलो लाग्न थाल्यो, किनकि त्यस्ता प्रसंगका शब्दावलीसँग म अभ्यस्त हुँदै गएकी थिएँ। एकदिन भने अलि फरक अवस्था आयो। मैले भक्तशेर दाइलाई भनेँ, ‘दाजु, आज न्युज साह्रै गाह्रो छ।’ उहाँले जिस्किँदै भन्नुभयो, ‘ए, आज नेपालमा कतै पनि दुर्घटना र आगलागी भएन? बाढीपहिरो पनि गएनछ कि क्या हो!’
उहाँको त्यो हल्का ठट्टाले वातावरण नै रमाइलो बनायो र मलाई पनि हौसला भयो। समाचार लेखन घटना टिप्ने काम मात्र होइन, भाषालाई जीवन्त बनाउने अभ्यास पनि रहेछ भन्ने अनुभूति भयो। आज ती दिनहरू सम्झिँदा लाग्छ, त्यो यात्राले मलाई भाषा मात्र सिकाएन, विनम्रता, धैर्य र गुरुजनको स्नेह कस्तो हुन्छ भन्ने पनि सिकायो। गल्तीहरू नै मेरा शिक्षक बने र गुरुजनहरूको माया नै मेरो सबैभन्दा ठूलो पाठशाला।
रेडियो नेपालको क्षेत्रीय प्रसारणमा मैले लिम्बू भाषामा समाचार वाचन गर्ने, लिम्बू भाषाकै कार्यक्रम ‘नुनामफुङ’ सञ्चालन गर्ने र नेपाली भाषामा पनि समाचार वाचन गर्ने जिम्मेवारी पाएकी थिएँ। त्यससँगै विभिन्न प्रायोजित कार्यक्रमहरू सञ्चालन गर्ने अवसर पनि पाएँ। ती दिनहरू केवल पेसागत अभ्यासका दिनहरू थिएनन्। ती दिनहरूले मलाई भाषा, संस्कार, आत्मपहिचान र सांस्कृतिक जिम्मेवारीका अर्थ सिकाए। आज फर्केर हेर्दा के लाग्छ भने, त्यस समयले मलाई एउटा भाषा मात्र सिकाएन, भाषाप्रति सम्मान गर्ने हृदय पनि दियो।
समाचार पढ्न क्यामेराको अगाडि कुर्सीमा बसेको व्यक्ति एक कर्मचारी मात्र थिएन, आफ्नो भाषा हराउँदै गएको देखेर मौन बस्न नसक्ने समुदायको पहिचान जोगाउन अग्रपंक्तिमा उभिएको एउटा पहरेदार थियो।
जागिर सुरु गर्दा म भर्खरै बीएड प्रथम वर्षमा अध्ययन गर्दै थिएँ। मैले ऐच्छिक विषयका रूपमा अंग्रेजी रोजेकी थिएँ। अंग्रेजी पढेपछि भविष्यमा धेरै अवसरहरू प्राप्त हुन्छन् भन्ने विश्वास थियो। अंग्रेजी भाषा विश्वव्यापी रूपमा प्रयोग हुने भएकाले मेरी दिदीले पनि ऐच्छिक विषय अंग्रेजी नै रोज्न सुझाव दिनुभएको थियो। उहाँको सल्लाहबाट मलाई थप प्रेरणा प्राप्त भयो।
हाम्रो देशमा अधिकांश सामुदायिक (सरकारी) विद्यालयहरूको शैक्षिक गुणस्तर कसैबाट लुकेको छैन। म पनि सामुदायिक विद्यालयकै पृष्ठभूमिबाट आएकी हुनाले अंग्रेजी पढ्न सुरुमा सहज थिएन। ऐच्छिक विषय अंग्रेजी लिने अधिकांश साथीहरूले निजी विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका थिए, जसले गर्दा उनीहरूको तुलनामा आफू कमजोर भएको महसुस हुन्थ्यो। त्यसैले मैले अरूभन्दा बढी मिहिनेत गर्नुपर्ने आवश्यकता महसुस गरेँ। इटहरीको जनता बहुमुखी क्याम्पसमा ऐच्छिक विषय अंग्रेजी हुने विद्यार्थीहरूको पहिचान नै केही अलग थियो। त्यसबेला अंग्रेजी पढ्नुलाई प्रतिष्ठा र सम्भावनासँग जोडिएको मानिन्थ्यो। यही सोचले मलाई निरन्तर अभ्यास गर्न, कमजोरी सुधार्न र आत्मविश्वास बढाउँदै अघि बढ्न प्रेरित गरिरहेको थियो।
अंग्रेजी विषयमा मास्टर डिग्री गर्दा देवनागरी लिपिमा एक शब्द पनि लेख्नुपर्ने अवस्था आएन। त्यसैले शुद्ध देवनागरीमा लेख्ने अभ्यास बिस्तारै हराउँदै गयो। कुनै कुरा सोच्दा पनि पहिले अंग्रेजी शब्दहरू नै मनमा आउँथे। मानौँ, मेरो सोचाइको भाषा नै अंग्रेजी बनिसकेको थियो। काम भने लिम्बू भाषामा गरिरहेको हुँदा मास्टर डिग्री पूरा गरेपछि मैले आफ्नो सम्पूर्ण समय र ऊर्जा पुनः लिम्बू भाषातर्फ मोड्न थालेँ। त्यस क्रममा पहिले धेरै दुःख गरेर बनाएको अंग्रेजी भाषाको अभ्यास भने बिस्तारै कमजोर हुँदै गयो। कठोर मिहिनेत, निरन्तर अभ्यास र धैर्यपछि मभित्र लिम्बू भाषा बोल्न र लेख्न दुवैमा आत्मविश्वास जाग्यो। सुरुमा कठिन लागे पनि समयसँगै भाषा जान्ने भएँ। यस यात्राले मलाई एउटा महत्त्वपूर्ण कुरा सिकायो– लगन, मिहिनेत र निरन्तरता भयो भने कुनै पनि भाषा सजिलै सिक्न सकिन्छ। अहिले त कुनै शब्द वा विचार आउँदा सबैभन्दा पहिले लिम्बू भाषामै सम्झना आउँछ। कहिलेकाहीँ लिम्बू भाषामा केन्द्रित हुँदा अंग्रेजीमा गरेको मिहिनेत अर्थहीन भएजस्तो लाग्छ।
जागिरका क्रममा अन्य धेरै अवसरहरू आए। जीवनलाई सहज बनाउन सक्ने बाटाहरू पनि खुले, तर मनको गहिराइमा एउटा आवाज सधैँ गुन्जिरह्यो– हामी त लिम्बू भाषा बोल्ने अन्तिम पुस्ताजस्तै भयौँ, अब यसलाई जोगाउने जिम्मा हाम्रो काँधमा छ। त्यसैले अरू अवसरहरू छाडेर भाषाको सेवा गर्नु कुनै त्याग होइन। यो त आफ्नो जरा समातेर उभिनु हो जस्तो लाग्यो। त्यसपछि सम्पूर्ण ऊर्जाशील समय लिम्बू भाषाको सिकाइ र प्रवर्द्धनमै खर्च गरियो। माध्यम, क्षेत्र र तरिका भिन्न भए पनि आजसम्म यसैको प्रवर्द्धन र संरक्षणमा सक्रिय छु।
भाषा संरक्षण, संवर्द्धन र प्रयोगको कुरा नीतिमा उल्लेख भए पनि भाषामा काम गर्ने जनशक्तिलाई दीर्घकालसम्म टिकाइराख्ने स्पष्ट र प्रभावकारी नीति बनाउन राज्य अझै पनि उदासीन देखिन्छ।
रेडियो नेपालको क्षेत्रीय प्रसारण केन्द्रमा मैले २९ माघ २०७९ सम्म काम गरेँ। नेपाल टेलिभिजनको इटहरी च्यानलबाट लिम्बू भाषामा समाचार प्रसारण हुने भएपछि दरखास्त आह्वान भएको कुरा एनटीभी इटहरीका तत्कालीन कार्यालय प्रमुख गजुरधन राईले थाहा दिनुभयो। टेलिभिजनका लागि आफ्नो अनुहार सुहाउँछ कि सुहाउँदैन भन्ने एक प्रकारको संकोच र द्विविधा मनमा थियो। रेडियोमा त आवाजले काम चल्थ्यो, तर क्यामेराको अगाडि उभिनुपर्ने कुरा सोच्दा अलि हिचकिचाहट हुनु स्वाभाविक नै थियो।
त्यही मनस्थितिका साथ पनि म छनोट परीक्षामा सहभागी भएँ। भाषाविज्ञका रूपमा सञ्चारकर्मी विष्णुमाया सिंघक हुनुहुन्थ्यो। म सफल भएँ। त्यसै दिन एउटा महत्त्वपूर्ण कुरा बुझ्न पाएँ, टेलिभिजनका लागि अनुहारभन्दा पनि दक्षता, आत्मविश्वास र भाषाप्रतिको निष्ठा चाहिने रहेछ। एनटीभी इटहरी च्यानलका लागि लिम्बू भाषामा समाचार वाचन तथा सम्पादन गर्न म र यशोदा सेने नियुक्त भयौँ। रेडियो नेपालमा गरेको १३ वर्षभन्दा लामो यात्रालाई त्यहीँ पूर्णविराम दिएँ, तर त्यो अन्त्य होइन, नयाँ अध्यायको आरम्भ थियो।
याक्थुङ लिम्बू भाषा टेलिभिजनबाट प्रसारण गर्न निबन्धकार तथा साहित्यकार निशेष आङ्देम्बे विशेषज्ञका रूपमा आउनुभएको थियो। उहाँले १० दिनसम्म गहन प्रशिक्षण दिनुभयो। लिम्बू भाषामा मेरो लामो अनुभव भएकाले भाषिक रूपमा खासै कठिनाइ भएन, तर क्यामेरा फेस गर्ने अनुभव शून्य थियो। माइक्रोफोनसँग अभ्यस्त आवाजलाई क्यामेरासामु स्वाभाविक बनाउनु नै मेरा लागि नयाँ अभ्यास थियो। केही समयको प्रशिक्षणपछि कार्यालय प्रमुख गजुरधन राईले हौसला दिँदै भन्नुभयो, ‘तिम्रो भाषा राम्रो छ, अब क्यामेरा पनि फेस गर्न सक्ने भयौ। यशोदा पनि सक्षम भएपछि अन एयर जान्छे। तिमी योग्य भयौ, तिमीलाई अन एयर गराएर म सिंहदरबार फर्किन्छु। अब मेरो फर्किने समय आयो।’
त्यो उहाँको औपचारिक भनाइ मात्र थिएन; मप्रतिको विश्वास, जिम्मेवारी हस्तान्तरणको संकेत र आगामी यात्राका लागि दिएको आशीर्वादजस्तै लाग्यो। उहाँले देखाउनुभएको भरोसाले मलाई अझ दृढ बनायो। यो केवल व्यक्तिगत अवसर होइन, टीभीहरूमा लिम्बू भाषामा समाचार वाचन गर्ने पहिलो व्यक्तिका रूपमा प्रतिनिधित्व गर्ने अवसर र दायित्व पनि हो भन्ने अनुभूति भयो। टेलिभिजनको इतिहासमै पहिलो पटक एनटीभी इटहरी च्यानलले ५ फागुन २०७९ मा लिम्बू भाषामा समाचार प्रसारण सुरु गर्यो। त्यो ऐतिहासिक क्षण थियो। लिम्बू भाषामा पहिलो समाचार वाचकका रूपमा समाचार वाचन गर्ने अवसर पाउनु मेरो जीवनकै अविस्मरणीय उपलब्धि बन्यो। रेडियो नेपालबाट प्राप्त अनुभव र टेलिभिजनमा काम गर्ने क्रममा मेरो नेतृत्वमा समाचार प्रक्रिया अगाडि बढेकाले दुवै माध्यमका समाचार सामग्री, प्रस्तुति र भाषिक प्रयोगमा उल्लेखनीय एकरूपता कायम हुन सक्यो। यसले प्रसारणको विश्वसनीयता बढाउनुका साथै श्रोतादेखि दर्शकसम्म एउटै सन्देश स्पष्ट र समन्वित रूपमा पुग्ने वातावरण निर्माण गरेको छ।
समाचारभन्दा पनि त्यस दिनको अर्को सम्झनलायक पक्ष पोसाकको तयारी थियो। ढाकाको साडी र कालो ब्लाउज वा गुलाबी रङको ढाकाको कोटसँग कालो इनर लगाउने निर्णय भएको थियो। कोट सिलाउन समय लाग्ने भएकाले पहिलो दिन साडी लगाउने तय गरियो, तर संयोगले मेरो ब्लाउज तयार थिएन। अन्ततः मैले लगाएको कालो रङको साधारण भेस्टलाई नै ब्लाउजजस्तो मिलाएर ढाकाको साडीसँग संयोजन गर्नुपर्यो।
मातृभाषामा काम गर्नेहरूले आफ्नो क्षमता प्रमाणित गर्न बारम्बार परीक्षा दिनुपर्ने, हरेक नयाँ संरचनामा पुनः आफूलाई योग्य साबित गर्नुपर्ने अवस्था रहिरहन्छ। वर्षौंको अनुभव, अभ्यास र योगदानलाई संस्थागत रूपमा मूल्यांकन गर्ने प्रणाली बलियो नहुँदा भाषाको क्षेत्रमा काम गर्नेहरू अस्थिरता र अनिश्चितताबीच काम गर्न बाध्य छन्।
त्यसभित्र पनि एउटा विशेष गर्व थियो, किनकि त्यो पोसाक केवल वस्त्र थिएन; भाषा, पहिचान र संस्कृतिको प्रतिनिधित्व गर्ने लिम्बू भाषाको समाचारको पहिचान बनेको थियो। त्यस दिन क्यामेरासामु बसेर समाचार पढ्दा मैले केवल शब्द उच्चारण गरिरहेकी थिइनँ। लाग्थ्यो, लामो समयदेखि रेडियो, गुरुजनको आशीर्वाद, अभ्यास र संघर्षबाट हिँडेको एउटा यात्राले नयाँ माध्यम पाएको छ। आवाजबाट सुरु भएको मेरो यात्रा त्यस दिन दृश्यसहित इतिहासको एक अंश बन्न पुग्यो। त्यो ऐतिहासिक दिनलाई विभिन्न सञ्चारमाध्यमले महत्त्वका साथ प्रस्तुत गरे, प्रकाशन गरे। त्यसै क्रममा गोरखापत्रको लिम्बू भाषा अंकमा समेत सो विषयमा सामग्री प्रकाशन गरिएको थियो।
यो उपलब्धि व्यक्तिगत सफलता मात्र नभई लिम्बू भाषा र पहिचानलाई टीभीमार्फत नयाँ पुस्तासम्म पुर्याउने महत्त्वपूर्ण पाइला पनि थियो। समाचारका शब्दहरू आकस्मिक रूपमा जन्मिएका थिएनन्। ती शब्दहरू १३ वर्षभन्दा बढी समयसम्म पटक पटक भाषाविद् र मुन्धुमविद्हरूसँगको छलफल, बहस, संशोधन र सामूहिक चिन्तनबाट परिपक्व बनेका थिए। मातृभाषाको संरक्षण, पुस्तान्तरण र अध्ययनमा लाग्ने क्रममा मैले जीवनको सबैभन्दा ऊर्जाशील समय र जवानी खर्च गरेकी छु। यसका लागि सम्भावनाका अनेक मार्गहरू छाडेकी छु। त्यसैले त्यस दिनको समाचार वाचन अंग्रेजी भाषा सिक्न गरेको मिहिनेत बिर्सेर मातृभाषाको संरक्षणका लागि बोलेको आवाज थियो। पेसागत जिम्मेवारीभन्दा बढी आत्माको आह्वान थियो। समाचार पढ्न क्यामेराको अगाडि कुर्सीमा बसेको व्यक्ति एक कर्मचारी मात्र थिएन, आफ्नो भाषा हराउँदै गएको देखेर मौन बस्न नसक्ने समुदायको पहिचान जोगाउन अग्रपंक्तिमा उभिएको एउटा पहरेदार थियो।
आजको पुस्तालाई म यही सन्देश दिन्छु– भाषा सिक्नु असम्भव काम होइन, प्रयासको कमी मात्र हो। मातृभाषा सिक्नु भनेको केवल शब्द सिक्नु होइन, आफ्नै पहिचान, इतिहास, संस्कृति र जरासँग जोडिनु हो। त्यसैले मिहिनेत र अभ्यास गर्नुस्, भाषा अवश्य सिक्न सकिन्छ।
तर, दुःखका साथ के भन्नुपर्छ भने, मातृभाषामा काम गर्नेहरूलाई राज्यले अझै समान महत्त्व दिएको अनुभूति गर्न सकिएको छैन। व्यवहारमा कतिपय अवस्थामा हामीले दोस्रो दर्जाको नागरिकजस्तो अनुभूति गर्नुपर्ने अवस्था देखिन्छ। भाषा संरक्षण, संवर्द्धन र प्रयोगको कुरा नीतिमा उल्लेख भए पनि भाषामा काम गर्ने जनशक्तिलाई दीर्घकालसम्म टिकाइराख्ने स्पष्ट र प्रभावकारी नीति बनाउन राज्य अझै पनि उदासीन देखिन्छ। यस्तो अवस्थाको अन्त्य हुनु आवश्यक छ। नीति बनाएर मात्र हुँदैन, त्यसको प्रभावकारी कार्यान्वयन अपरिहार्य हुन्छ। मातृभाषामा काम गर्ने जनशक्तिलाई पनि समान व्यवहार गरिनुपर्छ।
मातृभाषामा काम गर्नेहरूले आफ्नो क्षमता प्रमाणित गर्न बारम्बार परीक्षा दिनुपर्ने, हरेक नयाँ संरचनामा पुनः आफूलाई योग्य साबित गर्नुपर्ने अवस्था रहिरहन्छ। वर्षौंको अनुभव, अभ्यास र योगदानलाई संस्थागत रूपमा मूल्यांकन गर्ने प्रणाली बलियो नहुँदा भाषाको क्षेत्रमा काम गर्नेहरू अस्थिरता र अनिश्चितताबीच काम गर्न बाध्य छन्। भाषा सञ्चारको माध्यम मात्र होइन, यो समुदायको इतिहास, पहिचान, संस्कृति र आत्मसम्मानसँग जोडिएको विषय हो। त्यसैले मातृभाषामा काम गर्ने जनशक्तिलाई प्रोत्साहन, स्थायित्व र सम्मान दिने नीति निर्माण गर्नु राज्यकै दायित्व हो। भाषा सम्बन्धित समुदायको मात्र नभएर सिंगो राष्ट्र र अन्तर्राष्ट्रिय समुदायकै पनि साझा सम्पदा हो। त्यसैले भाषाको संरक्षण सबैको दायित्व हो।