अनुभूति

स्मृतिमा मानवअधिकारकर्मी दयाराम परियार

२७ असार २०८३
अ+
अ-

११ चैत २०६२ मा माओवादीहरूले मिल्स एरियास्थित एभरेष्ट बैंक लुटेको खबर फैलियो। त्यसको केही समयपछि जनकपुर नगरपालिका- १४ स्थित मुजेलिया प्रहरी चौकीमा माओवादीले अपराह्न ५ बजेतिर आक्रमण गर्दा दुई जना प्रहरीको मृत्यु भएको थियो। घटनाका केही घाइते प्रहरीलाई जनकपुर अञ्चल अस्पताल पुर्‍याइएको थियो। जिपमा सवार माओवादीहरूले त्यो भीषण आक्रमणपश्चात् हातहतियारसमेत लुटेका थिए।

साँझ अचानक गोली चलेको आवाज आउँछ। गाडीमा प्रहरीको जत्था मात्तेको हात्ती जस्तै जनकचोक (जनकपुर)मा बाटोभरि उद्दण्डतासाथ गोली प्रहार गर्दै अघि बढ्छ। सधैँ भिडभाड हुने जनकचोक, रामचोक र शिवचोकमा एकैसाथ अफरातफरी सुरु हुन्छ।

यी घटनाले जनकपुरवासीलाई स्तब्ध बनाएका थिए। जनकपुरमा भर्खरै मात्र राष्ट्रिय मानवअधिकार आयोगको सानो कार्यालय खुलेको थियो। मानवअधिकार के हो भन्ने नै धेरैले बुझेका थिएनन्। ठूलाठालुले सानालाई, जमिनदारले मजदुर-किसानलाई र साहु-महाजनले रैतीलाई ठग्ने पुरानै रोग हो। आज सुनिने आन्दोलनका आवाजहरू त्यतिबेला मानवअधिकारभित्र पर्छन् भन्ने नै अधिकांशलाई थाहा थिएन। तराईका जिल्लाहरूमा मानवअधिकारको अवस्था बुझ्न र अनुगमन गर्न भनेर नै जनकपुरमा सम्पर्क कार्यालयका रूपमा आयोगको कार्यालय खुलेको थियो।

२०६२ माघ-फागुनतिर हो, श्याम दाइलाई भेट्न एकाध पटक दयाराम परियार हेलो-इन आएका थिए। उनले आफू मानवअधिकार आयोगमा काम गर्न जनकपुर आएको बताएको अझै सम्झन्छु। त्यसपछि दयारामसँग हेलो-इनमा पटक पटक भेट भइरह्यो। हामी छोटो समयमै साथी असल बन्यौँ।

कान्तिपुर टेलिभिजनमा कार्यरत दयारामका दाइ प्रकाशचन्द्र परियारले श्याम दाइलाई उनको जनकपुरस्थित स्थानीय अभिभावक बनाएका थिए। त्यसैले पनि दयाराम श्याम दाइलाई भेट्न हेलो-इन आइरहन्थे। दयाराम लजालु र अन्तर्मुखी थिए। उनीसँग परिचय भएपछि मैले मानवअधिकारसँग सम्बन्धित कुनै विशेष घटना वा समाचार भए जानकारी दिन आग्रह गरेकी थिएँ।

दोहोरो भिडन्तको खबर रेडियो तथा पत्रपत्रिकाभन्दा पहिले उड्दै उड्दै हाम्रो गाउँघरतिर आइपुग्थ्यो र पूरै गाउँबस्तीलाई त्रस्त बनाउँथ्यो। माओवादीले थापेको एम्बुसमा प्रहरी र प्रहरीको एम्बुसमा माओवादी पर्ने खबरले घरबाट निस्केका आफन्त नफर्कुन्जेल मनमा त्रासको आँधीबेहरी नै चल्थ्यो।

देश जनयुद्धको सन्त्रासमा रहे पनि धनुषा जिल्ला रोल्पा-रुकुम र अन्य ठाउँ जस्तो अशान्त थिएन। तर, भयरहित भई हिँडडुल गर्न सक्ने वातावरण पनि थिएन। जनकपुर सधैँ माओवादीको निसानामा थियो। मधेसका गाउँघरतिर आफ्नो पकड मजबुत बनाइसकेका माओवादीहरू पछिल्लो समय सदरमुकामलाई निसाना बनाउन थालेका थिए।

प्रहरी चौकीमा आक्रमण बढ्दो थियो। दोहोरो भिडन्तको खबर रेडियो तथा पत्रपत्रिकाभन्दा पहिले उड्दै उड्दै हाम्रो गाउँघरतिर आइपुग्थ्यो र पूरै गाउँबस्तीलाई त्रस्त बनाउँथ्यो। माओवादीले थापेको एम्बुसमा प्रहरी र प्रहरीको एम्बुसमा माओवादी पर्ने खबरले घरबाट निस्केका आफन्त नफर्कुन्जेल मनमा त्रासको आँधीबेहरी नै चल्थ्यो। अझ खानतलासीको नाममा सुराकी पस्ने र सुराकीको नाममा खानतलासी हुने कुरा जनकपुरतिर पनि ‘आम’ हुँदै गएको थियो। यात्रा गर्दा सुरक्षाकर्मीबाट हुने खानतलासीको सास्ती पनि झन् झन् बढ्दो थियो।

जनकपुर।

हिमालय टाइम्सका लागि शिवचोकस्थित ‘हेलो-इन’ मा घटनाबारे समाचार फ्याक्स गर्न गएकी थिएँ। अहिले जस्तो व्यापक नभए पनि बेलाबेला इमेलबाट समाचार पठाउने गर्थें। समाचार भने फ्याक्सबाट पठाउने अभ्यास हटिसकेको थिएन। गोली चलेको जनकचोकबाट शिवचोक पुग्न दुई मिनेटको दूरी पनि छैन। भागाभाग हुन थालेपछि ‘हेलो-इन’ का सञ्चालक महावीर सुल्तानियाले हतारहतार सटर झार्न लगाउनुभयो। सटरभित्र महावीर दाइ, एक जना पसल सहयोगी, म र एकदुई जना आत्तिएर पसेका मान्छेहरू थियौँ।

त्यतिबेला कान्तिपुरका जनकपुर प्रतिनिधि श्यामसुन्दर शशि हुनुहुन्थ्यो। हेलो-इन हाम्रो समाचार फ्याक्स गर्ने मुकाम थियो। श्याम दाइले धेरै पहिलेदेखि कार्यालयका रूपमा प्रयोग गर्ने हेलो-इन मेरो सम्पर्क कार्यालय भएको तीन वर्ष मात्र भएको थियो। हेलो-इनका सञ्चालक दुई जना मारवाडी दाजुभाइ महावीर सुल्तानिया र अरुण सुल्तानिया हुनुहुन्थ्यो। दु:खद कुरा, उहाँहरू दुवै जनाको देहावसान भइसकेको छ।

मुजेलिया प्रहरी चौकीमा आक्रमण भएपश्चात् जिल्लास्थित सुरक्षा समितिको आकस्मिक बैठक बसी मुजेलिया र रेल्वे स्टेसन खाली गराउने निर्णय भएको थियो। त्यसपश्चात् माओवादी आक्रमणमा बाँचेका सुरक्षाकर्मी र रेल्वे स्टेसनबाट फिर्ता जाँदै गरेका सुरक्षाकर्मीका टोलीले जनकचोकमा विना कुनै कारण सर्वसाधारणलाई अन्धाधुन्ध गोली चलाउन थाल्यो।

त्यसताका हेलो-इनको छुट्टै रौनक थियो। साँझ नियमित शिवचोक जानु मेरो दैनिकी बनेको थियो। म वीरगन्जबाट प्रकाशित हुने प्रतीक दैनिक र हिमालय टाइम्समा एकैसाथ काम गरिरहेकी थिएँ। पत्रकारको हैसियतले त्यो दिन हाम्रा लागि निकै तनावपूर्ण थियो। देशभर माओवादीको शृंखलाबद्ध आक्रमणले सर्वसाधारण आत्तिएका थिए। मान्छेहरूमा भय र भ्रम व्याप्त थियो।

यस्तैमा जानकी मन्दिरतिर माओवादी आक्रमण भएको हल्ला फैलियो। सर्वसाधारण जानकी मन्दिरतिरबाट जनकचोकतिर भाग्न थाले। अर्कातिर, रेल्वे स्टेसनबाट फर्किंदै गरेका सुरक्षाकर्मीको टोली पनि सोही समयमा जनकचोक पुग्यो। सर्वसाधारण त्यसरी भागाभाग गरेको देखेर प्रहरी निरीक्षक प्रकाशराज शर्माको टोलीले आवेशमा आएर गोली प्रहार गर्न थाल्यो। त्यतिखेर साँझको सवा ६ जति भएको थियो।

राष्ट्रिय मानवअधिकार आयोगले सार्वजनिक गरेको त्यस दिनको घटनाक्रमअनुसार मुजेलिया प्रहरी चौकीमा आक्रमण भएपश्चात् जिल्लास्थित सुरक्षा समितिको आकस्मिक बैठक बसी मुजेलिया र रेल्वे स्टेसन खाली गराउने निर्णय भएको थियो। त्यसपश्चात् माओवादी आक्रमणमा बाँचेका सुरक्षाकर्मी र रेल्वे स्टेसनबाट फिर्ता जाँदै गरेका सुरक्षाकर्मीका टोलीले जनकचोकमा विना कुनै कारण सर्वसाधारणलाई अन्धाधुन्ध गोली चलाउन थाल्यो।

त्यहीबेला सुरक्षाकर्मीको गोलीप्रहारबाट राष्ट्रिय मानवअधिकार आयोगका जनकपुर सम्पर्क कार्यालयमा मानवअधिकार सहायकका रूपमा कार्यरत दयाराम परियार गोली लागेर घाइते भए। उनीसँगै जनकचोकमा चिया खान बसेका स्थानीय ५५ वर्षीय रामचन्द्र यादवको गोली लागेर तत्कालै मृत्यु भयो। यादव राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ता थिए।

त्यहीबेला कोखमा गोली लागेका दयाराम हिँड्दै हेलो-इनसम्म आइपुगेका थिए। आइपुग्नेबित्तिकै आत्तिँदै उनले महावीर दाइलाई भनेका थिए, ‘मलाई गोली लाग्यो दाइ, लौन अस्पताल लैजानुस्।’

हामीले हेलो-इनमै गोली चलेको आवाज सुन्यौँ। यस्तो अवस्था सिर्जना भयो कि हामीले शिवचोकमै दोहोरो भिडन्त भइरहेको ठान्यौँ। पसलका सटर धमाधम झर्न थाले। सटरभित्र हामी अन्यौलग्रस्त थियौँ, महावीर दाइ कता कसलाई फोन घुमाइरहनुभएको थियो, मैले मेसो पाइनँ।

माहोल शान्त हुन केही समय लाग्यो। त्यहीबेला कोखमा गोली लागेका दयाराम हिँड्दै हेलो-इनसम्म आइपुगेका थिए। आइपुग्नेबित्तिकै आत्तिँदै उनले महावीर दाइलाई भनेका थिए, ‘मलाई गोली लाग्यो दाइ, लौन अस्पताल लैजानुस्।’

उनको शरीरबाट अत्यधिक रक्तस्राव भइरहेको देखेर हामी तीनै जना हतप्रभ भयौँ। मैले त्यसअघिसम्म गोली लागेको मान्छे देखेकी थिइनँ। गोली लागेको कुनै व्यक्ति जीवनरक्षाका लागि यसरी आँखा अगाडि दीनभावमा बसेको दृश्य हृदयविदारक थियो। पूरा होसमा भए पनि पीडा र त्रासले उनको अनुहारको रङ फुंग उडेको थियो।

महावीर दाइले तत्काल अस्पतालहरूमा एम्बुलेन्सका लागि फोन घुमाउनुभयो, सायद श्याम दाइलाई पनि फोन गर्नुभयो। म भने हेलो-इन बाहिर निस्केर गुहार माग्न थालेँ। दाइले पनि बाहिर आएर स्थानीय युवाहरूलाई रिक्सामा भए पनि तत्काल अस्पताल पुर्‍याइदिन आग्रह गर्नुभयो।

दयाराम प्रत्येक सेकेन्ड मृत्युको नजिक पुगिरहेको आभास भइरहेको थियो हामीलाई। हामी झन् आत्तियौँ। केही आँटिला युवाहरू (नाम सम्झन सकिनँ)ले उनलाई रिक्सामा जनकपुर अञ्चल (हाल प्रादेशिक)अस्पताल पुर्‍याए। त्यतिबेला झन्डै रातिको ८ बजिसकेको थियो।

त्यस दिन पनि घटना हुनुभन्दा एकछिनअघि मात्रै श्याम दाइलाई खोज्दै दयाराम हेलो-इन आइपुगेका थिए। म त्यहीँ बसेर समाचार विवरण तयार पार्दै थिएँ। उनी त्यहाँ पसे तर बसेनन्। श्याम दाइ त्यतिबेलासम्म आइपुग्नुभएको थिएन।

बिचरा, स्कुल पढ्दै गरेको आफूभन्दा पाँच वर्ष कान्छो भाइ विपुल त्यस्तो त्रासको अवस्था र चकमन्न रातमा लिन आएको कुराले मलाई जहिल्यै अपराधबोध हुन्छ। त्यतिबेला उसको बालमनस्थिति कस्तो थियो होला? त्यस रात हामी दिदीभाइ बाटोभरि केही नबोली घर पुग्यौँ।

उनले त्यहीँ उभिएर श्याम दाइलाई फोन गरेका थिए। श्याम दाइले सम्भवतः एकछिन त्यहीँ बस्दै गर्नू म आउँछु भन्नुभएको थियो। तर, उनी ‘पछि आउँछु’ भनेर निस्के। त्यहाँबाट उनी जनकचोकतिर पुगेछन्। सोच्छु, त्यो दिन उनी हेलो-इनमै बसेको भए? त्यो दिन श्याम दाइले उनलाई तत्कालै भेटेको भए? त्यो दिन उनी हामीसँगै गफमा अलमलिएको भए? सम्भवतः त्यो बीभत्स घटना घट्ने नै थिएन कि?

त्यस दिनको घटनापछि सडक सुनसान भयो। जनकपुरमा सार्वजनिक स्थानमा प्रहरीले अन्धाधुन्ध गोली चलाएको यो नै पहिलो घटना थियो। महावीर दाइले मलाई एक्लै घर फर्कन दिनुभएन। ‘घरबाट कसैलाई बोलाऊ अनि मात्र जानू,’ भन्नुभयो। रातको ९ बजिसकेको थियो। घरमा फोन गरेर आफू सुरक्षित रहेको जानकारी गराइसकेकी थिएँ। पछि पुनः फोन गर्दासम्म पनि बुबा घर आइपुग्नुभएको थिएन।

एक्लै घर फर्कने हिम्मत त जुटाए पनि महावीर दाइले मान्नुभएन। बिचरा, स्कुल पढ्दै गरेको आफूभन्दा पाँच वर्ष कान्छो भाइ विपुल त्यस्तो त्रासको अवस्था र चकमन्न रातमा लिन आएको कुराले मलाई जहिल्यै अपराधबोध हुन्छ। त्यतिबेला उसको बालमनस्थिति कस्तो थियो होला? त्यस रात हामी दिदीभाइ बाटोभरि केही नबोली घर पुग्यौँ।

घर पुग्नेबित्तिकै श्याम दाइसँग फोनमा कुराकानी गरेँ। उहाँले दयारामलाई स्लाइन, पानी र रगत दिइएको बताउनुभयो। टेलिभिजनहरूमा जनकपुरकै घटना र घाइतेहरूको उद्धारका लागि काठमाडौँबाट नाइट भिजन हेलिकोप्टर आउने समाचार प्रसारित भइरहेको थियो। तर, माओवादीको सम्भावित हमलाका कारण हेलिकोप्टर राति पठाइएन। श्याम दाइ रातभरि अस्पतालमै हुनुहुन्थ्यो। उहाँले दयारामको अवस्था नाजुक छ, केही भन्न सकिन्न भन्नुभएको हिजो जस्तै लाग्छ।

भोलिपल्ट नेपाली सेनाको सहयोगमा विमानबाट सबै घाइतेलाई काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल पुर्‍याइयो। दयारामको अवस्था नाजुक रहेको समाचार हामीले पत्रपत्रिका र टेलिभिजनबाट पाइरहयौँ। उनको स्वास्थ्य लाभको कामना गर्दै रात बित्यो।

त्यतिखेर जनकपुर अञ्चल अस्पतालमा सबै सुविधा उपलब्ध थिएन। आज पनि लाग्छ, घाइतेहरूलाई समयमै उद्धार गरेर काठमाडौँ पुर्‍याउन सकेको भए बचाउन सकिन्थ्यो होला।

तर, २०६२ चैत १५ गते राति करिब २ बजे उनले प्राण त्यागे। धेरै पुरानो सम्बन्ध नभए पनि उनी र अन्य घाइतेहरू बाँचून् भन्ने कामना गाढा थियो। आज पनि उनको हँसिलो अनुहार झलझली सम्झिरहेकी छु।

एउटा मानवअधिकारकर्मीको बाँच्न पाउने मानवअधिकार हनन गर्ने ती प्रहरी कमान्डरप्रति सरकार लामो समयसम्म मौन रहनु दुर्भाग्यपूर्ण थियो। गोली लागेर घाइते भएका दयाराम मृत्युलाई जितेर फर्कनेछन् भन्ने ठूलो आशा थियो। घाइते भएको चौथो दिनमा उनको मृत्युको समाचारले उनलाई चिन्ने म जस्ता धेरैलाई लामै समय मर्माहत बनायो।

वास्तवमा घाइतेहरूको उपचारमा पनि निकै ढिलाइ भएको थियो। त्यतिखेर जनकपुर अञ्चल अस्पतालमा सबै सुविधा उपलब्ध थिएन। आज पनि लाग्छ, घाइतेहरूलाई समयमै उद्धार गरेर काठमाडौँ पुर्‍याउन सकेको भए बचाउन सकिन्थ्यो होला।

जनयुद्धकालमा राज्य र विद्रोही दुवै पक्षले एकअर्कालाई गर्ने आक्रमणको अवस्था डरलाग्दो थियो। त्यसकै एउटा प्रमाण ‘दयाराम काण्ड’ पनि हो। यो एउटा प्रतिनिधि घटना मात्र हो। यस्ता थुप्रै घटनाका साक्षी बस्न बाध्य छौँ हामी।

२०६२ चैत २० गते राष्ट्रिय मानवअधिकार आयोगका तत्कालीन अध्यक्ष नयनबहादुर खत्रीको अध्यक्षतामा बसेको आयोगको बैठकले घटनाको अवलोकनपश्चात गरेको निर्णयअनुसार ‘गोली जनकपुरको मुजेलियाबाट जिल्ला प्रहरी कार्यालयतर्फ आउँदै गरेको प्रहरीको डफ्फामा रहेका ४ जना प्रहरीले चलाएको देखिन्छ। यसरी अकारण चलाएको गोलीबाट हताहत हुँदासम्म उक्त टोलीका प्रमुख प्रहरी निरीक्षक प्रकाशराज शर्मा र उनको टोलीले के कति क्षति भयो भन्ने कुराको जानकारी लिने र तत्काल उद्धार पुर्‍याउनेतर्फ सम्भव प्रयास भएको देखिएन। गोली चलाउनुपर्ने अपरिहार्य अवस्था नदेखिएको अवस्थामा ज्यान समेत जानेगरी गोली चलाउनुसाथै मृतक र घाइतेको स्थिति जानेर उद्धार गर्ने तुरुन्त प्रयास नगर्नु भनेको लापरवाही, मानवअधिकार एवं मानवीय कानुनको घोर उल्लंघन हो।’

आयोगले क्षतिपूर्ति र दोषीलाई कारबाहीका लागि सिफारिस पनि गरेको थियो। घटनाको एक दशकपछि आयोगले २०७२ चैतमा स्व. दयाराम परियार स्मारिकासमेत प्रकाशन गरेको थियो।

अधिकारकर्मी परियारको सम्मानमा आयोगद्वारा ‘दयाराम परियार स्मृति मानवअधिकार पुरस्कार’ स्थापना गरी हरेक वर्ष प्रदान गरिँदै आएको छ।

छोटो समयकै चिनाजानी भए पनि मानवअधिकार अनुगमनकै क्रममा सहादत भएका दयाराम परियार मेरो स्मृतिमा सधैँ रहिरहनेछन्।