व्यक्ति
बाइकर पविनाको सोलो ट्राभल सोख
लाङटाङतर्फको बाटोमा हिँड्दाहिँड्दै पविना खड्का एकैछिन उभिइन्। पैतालामा दिनभरिको थकान थियो, सास फुल्दै थियो। नजिकैबाट देखिएको हिमालतिर हेर्दा मुखबाट फुत्त निस्कियो– ‘वाउ।’
सन् २०१८ ताकाको त्यही यात्रा, त्यही क्षणले उनको जीवनलाई नयाँ मोड दियो। त्यसपछि सुरु भयो, उनको सोलो यात्रा शृंखला। विगत दुई वर्षदेखि उनी व्यावसायिक ‘राइडर’ का रूपमा सक्रिय छिन्।
दोलखामा जन्मेकी पविना आफूलाई ‘माउन्टेन गर्ल’ भन्छिन्। यसबाहेक उनका अन्य पहिचान पनि छन्। ‘ट्राभलर’, ‘एक्सप्लोरर’ र अहिले बाइकर।
पविनाको यात्राको कथा कलेजका दिनहरूबाट सुरु हुन्छ। वातावरणीय विज्ञानको विद्यार्थी हुँदा कलेजले पोखरा, इटहरी र चितवन जस्ता ठाउँमा शैक्षिक भ्रमण लैजाने गर्थ्यो। त्यहीँबाट ‘घुम्नुपर्ने रहेछ’ भन्ने रहर पलाएको बताउँछिन् उनी।
उनलाई पदयात्राको वास्तविक संसारमा डोर्याउने व्यक्ति भने उनका साथी सुसन थिए। ट्रेकिङ गाइडसमेत रहेका सुसनले पविना र उनका साथीहरूलाई ‘हामी हिँड्न सक्छौँ’ भनेर सधैँ हौसला दिन्थे। सुरुमा सुन्दरीजल, बेथानचोक जस्ता छोटा ‘हाइक’ बाट सुरु भएको यो बानी सुसनकै हौसलामा लाङटाङसम्म पुग्यो। ‘साथीले गोसाइँकुण्ड गएको फोटो देखाउँदा लोभ लाग्थ्यो,’ पविना सम्झन्छिन्, ‘पछि आफैँ त्यहाँ पुगेर हेर्दा त झनै बेग्लै फिल भयो। लाग्यो, नेपाल त लास्टै सुन्दर देश रहेछ।’

त्यसताका पविना विकास क्षेत्रमा काम गर्थिन्, र त्यही कामले पनि उनको यात्रालाई अघि बढायो। विभिन्न जिल्ला पुग्नुपर्ने भएकाले उनले जहाँ पुगे पनि नजिकैका अन्य ठाउँसमेत चियाउने बसाइन्। यसरी नै से-फोक्सुन्डो, खप्तड, रारा जस्ता कर्णालीका दुर्गम ठाउँहरू उनको यात्रासूचीमा थपिँदै गए। समयक्रममा पविनाले नेपालका थुप्रै कुनाकाप्चामा पदचाप छाडिसकेका छन्– मनाङ, मुस्ताङ, सिन्धुपाल्चोकको पाँचपोखरी र भैरवकुण्डदेखि आमायाङ्री, रसुवाको लाङटाङ-गोसाइँकुण्ड हुँदै अन्नपूर्ण क्षेत्रको उत्तर र दक्षिण बेस क्याम्प, सोलुखुम्बुको एभरेस्ट क्षेत्र र गोक्यो री, अनि खुमाइडाँडासम्म। यस सूचीले उनको परिचयलाई अझ सार्थक बनाएको छ। घुम्नु उनका लागि सोख मात्र होइन, जीवनशैली जस्तै बनेको छ।

पविना सुरुमा साथीहरूसँग यात्रा गर्थिन्। अनुभव बढ्दै जाँदा बिस्तारै एक्लै हिँड्ने रहर र आत्मविश्वास बढेको बताउँछिन्। ‘साथीसँग हिँड्दा एकअर्कालाई हेरचाह गर्ने, गफ गर्ने मजा त छुट्टै हो,’ उनी भन्छिन्, ‘तर एक्लै हिँड्दा आफ्नै लयमा हिँड्ने स्वतन्त्रता पाइन्छ। र, मलाई त्यो स्वतन्त्रता प्रिय लाग्यो।’ साथीहरूको समय नमिल्दा योजना बारम्बार रोकिनु उनलाई एक्लै हिँड्न बाध्य पार्ने अर्को निर्णायक कारण बन्यो। त्यही बाध्यता पछि सामर्थ्यमा बदलियो। मन लाग्यो, हिँडिदियो। न योजना बुनिरहनुपर्ने, न कसैलाई कुर्नुपर्ने।
एक्लै हिँड्दा नौला मानिससँग भेट हुन्छ, तिनका कथा सुनिन्छ, आफ्नै पनि सुनाइन्छ। स्थानीय समुदायको जीवनशैली र संस्कृति नजिकबाट बुझिन्छ। ‘अन्जान मान्छे पनि छिनभरमै साथी बन्छन्, सोसल मिडियाबाट जोडिन पनि सकियो,’ उनी सुनाउँछिन्।
आफ्नो सीमा थाहा हुनु महत्त्वपूर्ण हो, तर त्यो सीमाभन्दा पर पनि पुग्न सकिने रहेछ।
तर, सोलो यात्रा पविनाका लागि सजिलो काम थिएन। छोरीमान्छे एक्लै घुमेको देख्दा ‘एक्लै आएको?’ भन्ने प्रश्न, ‘साथी लिएर आउनुपर्छ नि’ भन्ने सुझाव; यी सबै उनले धेरै चोटि सुनेकी छन्। उनको जवाफ भने सधैँ उस्तै रह्यो, ‘मलाई एक्लै हिँड्न मजा लाग्छ। आत्मिक शान्ति मिल्छ। कसैलाई देखाउन होइन, आफैँलाई चिन्न एक्लै हिँड्छु।’
नेपाली समाजमा छोरीका लागि एक्लै कतै टाढा ट्रेकतिर निस्कनु सजिलो छैन। सुरुसुरुमा पविनाले पनि घरमा नभनी वा गन्तव्यमा पुगेपछि मात्र जानकारी दिने गर्थिन्। बिस्तारै परिवारले उनको घुम्ने रुचि बुझ्न थाल्यो। तैपनि बीचबीचमा परिवारका सदस्यहरूले ‘छोरी, अब घुम्न छोड्दे’ भन्न छोडेनन्। त्यस्तो बेला उनले सधैँ ‘रेडिमेड’ जवाफ दिइरहिन्, ‘घुम्न छोडेँ भने त जिन्दगी नै जिउन छोडे जस्तो हुन्छ। म सक्दिनँ।’
नयाँ नयाँ बाटा, खोला, जंगल, पहाड, हिमाल नियाल्दै कहिले प्रकृतिसँग त कहिले आफैँसँग साक्षात्कार हुन नपाए उनलाई सकस हुन्छ। त्यसैले उनी बारम्बार यात्रामा निस्किरहन्छिन्।

हुन त पविना एक्लै घुम्नुलाई प्राथमिकता दिन्छिन्, तर उनका लागि जीवनको सबैभन्दा विशेष क्षण त्यो बन्यो, जब हजुरबा, हजुरआमा र आमाबुबालाई मुस्ताङको यात्रा गराइन्। ‘हाम्रा लागि परिवारले धेरै त्याग गरेको हुन्छ, त्यसैले आफूले घुमेको ठाउँ उहाँहरूलाई पनि देखाउन पाउँदा म अरूबेलाभन्दा बढी सन्तुष्ट भएँ,’ भावुक हुँदै भन्छिन्। बुवाआमाले मुस्ताङ पुगेपछि भने रे, ‘यस्तो ठाउँ रहेछ र पो, छोरी घुम्न जाने रहिछ।’
बाइकको कुराले मात्र पनि उत्साहित हुन्छिन्, पविना। बाइक उनका लागि साथी मात्र होइन, जीवनको एउटा उपलब्धि पनि हो। ‘सानो छँदा बाइक चलाउने कुनै केटी देखेकै थिइनँ,’ उनी भन्छिन्। तैपनि मनमा बाइक सिक्ने र चलाउने इच्छाले उनको मनमा घर बनाएको थियो। हाम्रो समाजमा अझै पनि ‘केटीमान्छेले त स्कुटी चलाउने हो’ भन्ने सोच राख्नेहरूको कमी छैन। पविनालाई पनि बाइकमा घुम्न निस्कँदा धेरैले सोध्छन्, ‘तपाईं त स्कुटीमा आउनुभएको होला नि?’ जब उनी आफ्नो बाइक देखाउँछिन्, तब मानिसहरू अचम्म माने जस्तो, नपत्याए जस्तो गरी हेर्छन्। पविनाले भने एकै पटक बाइक नै सिकिन्।
गत वर्ष उनी बाइक लिएर ढोरपाटन-तकसेरातर्फ निस्केकी थिइन्। त्यसबेला उनको मनमा अलिकति उत्साह र अलिकति डर थियो। तैपनि उनले आँटिन्। बाटामा भेटिने अन्य बाइकरहरूको साथ र आफ्नै दृढताले उनलाई गन्तव्यमा पुर्यायो। ‘बाटामा बाइक बिग्रियो भने के गर्ने भन्ने डर थियो सुरुमा,’ उनी सुनाउँछिन्। कहाँसम्म पुगिएला, कता बास बस्ने जस्ता कुरा व्यवस्थापन गर्दै हिँड्नुमा चुनौती मात्र थिएन। लामो यात्रामा भीडबाट हराउनुको मजा पनि थियो। ‘बाइक चलाएर लामो यात्रा गर्दा बेग्लै स्वतन्त्रताको आभास हुन्छ, यसले तनाव कम गर्न मद्दत गर्छ,’ उनी भन्छिन्। 
यात्राकै क्रममा केही महिनाअघि उनी फिमेल लिडरसिप एकेडेमीले आयोजना गरेको १६ जना महिलाको समूहसँग पाल्दोर पिक चढ्न निस्किइन्, जहाँ लिडरदेखि गाइड, कुकसम्मका हरेक जिम्मेवारीमा महिला मात्र थिए।
‘एकदम गाह्रो भएको थियो,’ उनी सम्झन्छिन्, ‘आफ्नो सामान आफैँ बोक्नुपर्ने, हिँड्नै नसकिने जस्तो भएको बेला पनि अगाडि बढ्नैपर्ने।’ ५,२००-५,३०० मिटरको हाई क्याम्पबाट बिहान ३ बजेतिर उठेर हिँडेको त्यो यात्रा अन्ततः ५,८९६ मिटर उचाइको शिखरमै पुगेर टुंगियो। ‘त्यो बेला थाहा भयो, हिमालमा कति गाह्रो हुँदो रहेछ भनेर,’ उनी भन्छिन्, ‘तर त्यहीँबाट यो पनि थाहा भयो, आफूले सोचेकोभन्दा पर पनि जान सकिने रहेछ।’ पछि खुम्बु क्लाइम्बिङ सेन्टरले चलाएको १५ दिने आइस क्लाइम्बिङ तालिममा सहभागी हुँदा उनले एउटा सरल तर गहिरो पाठ सिकिन्— आफ्नो सीमा थाहा हुनु महत्त्वपूर्ण हो, तर त्यो सीमाभन्दा पर पनि पुग्न सकिने रहेछ।

पविना आफूले त्यो बेला हिमाल आरोहणमा दिनरात खट्ने ट्रेकिङ गाइड र भरियाहरूको संघर्ष नजिकबाट नियाल्ने मौका पाएको बताउँछिन्। ‘बिहान २ बजेदेखि गेस्टका लागि खाना पकाउने, चाहिँदा बोक्नुसमेत पर्ने उनीहरूको वास्तविक संघर्ष कसैले बुझ्दैन। त्यसले मेरो मनमा उनीहरूप्रति अगाध सम्मान जाग्यो,’ उनी भन्छिन्।
राइडर पविनाका लागि यात्रा गर्नु भनेको फोटो खिच्नु वा भिडिओ बनाउनु मात्र होइन। यात्रा निरन्तर सिकाइको प्रक्रिया हो। यात्राले उनलाई आफ्नो जीवनलाई फराकिलो नजरले हेर्न सिकाएको छ।
यात्राले वातावरण, परिवेश र समाजमा घुलमिल हुन मद्दत गर्छ। वातावरणीय क्षेत्रमा काम गर्ने भएकाले उनी ग्रामीण भेगका मानिससँग जलवायु परिवर्तनका असरबारे समेत कुरा गर्छिन्। विभिन्न ठाउँका मानिसको दिनचर्या नजिकबाट देख्दा आफूले पाएको मौकाको महत्त्व अझ गहिरोसँग बुझिने उनको अनुभव छ। जुम्लामा आफ्नै उमेरका युवतीहरूको संघर्षपूर्ण जीवन देख्दा उनलाई आफू कति ‘प्रिभलेज्ड’ रहेछु भन्ने महसुस भएको रहेछ। उनी भन्छिन्, ‘आफूलाई कसरी हेर्ने, आफ्नो जीवनसँग कसरी सन्तुष्ट हुने भन्ने कुरा यात्राले नै सिकाउँछ।’

घुम्ने रहर नहुने त को होला र! तर, पैसाको कुरा आइहाल्छ। पविना घुम्ने खर्च कसरी जुटाउँछिन् त ? धेरै जना पैसाको अभावकै कारण घुम्न निस्कन नसकेको अनुभवलाई उनी नकार्दिनन्। तर, पैसाभन्दा ‘प्यासन’ ठूलो मान्छिन् उनी। ‘घुम्नका लागि पैसा चाहिन्छ, यो सत्य हो। तर, प्यासन छ भने थोरै थोरै बचत गरेर पनि घुम्न सकिन्छ,’ उनी भन्छिन्।
आफू कहिलेकाहीँ ऋण लिएर समेत यात्रामा निस्कने र पछि काम गरेर त्यो ऋण तिर्ने उनको भनाइ छ। आफू जस्तै घुम्न मन पराउने युवायुवतीलाई पविनाको सिधा र छोटो सन्देश भनेकै ‘बाहिर निस्किनुस्।’
‘मानिसले के भन्छ भनेर सोच्दै बस्यो भने कहिल्यै अगाडि बढिँदैन,’ उनी भन्छिन्, ‘एक्लै नचिनेको ठाउँमा जान गाह्रो होला तर परिचित र सुरक्षित ठाउँमा त एक्लै हिँड्दा पनि उत्तिकै आनन्द मिल्छ।’ आत्मविश्वास एकैचोटि आउँदैन, यात्राले नै बिस्तारै त्यो निर्माण गर्ने उनको अनुभवले सिद्ध गरिसकेको छ।
यात्रामा निस्कनुअघिका चुनौती र यात्रा गर्दैगर्दाका अवरोध यात्री स्वयंबाट पार लगाउन सिकाउनु यात्राको विशेषता मान्छिन् उनी। यात्रा सम्पन्न गरिसकेपछि त्यसले दिने सन्तुष्टि र ऊर्जाको कुनै तुलना नहुनेसमेत उनको अनुभव छ।
नयाँ यात्रीलाई पविनाका टिप्स
१. स्वास्थ्यलाई प्राथमिकता : यदि तपाईंलाई उच्च रक्तचाप वा अन्य स्वास्थ्य समस्या छ भने उच्च उचाइको यात्रा गर्दा सावधानी अपनाउनुहोस्।
२. खानपानमा ध्यान : जंक फुडभन्दा ड्राइ फ्रुट्स, सातु र इनर्जी दिने खानेकुरा बोक्नुहोस्।
३. लेक लाग्ने समस्या : लेक लागेमा जबरजस्ती माथि नजानुहोस्, तल ओर्लिएर आराम गर्नुहोस् र प्रशस्त पानी पिउनुहोस्।
४. आवश्यक औषधि : सिटामोल, जीवनजल, ब्यान्डेज र भमिटिङ रोक्ने औषधि साथमा राख्नुहोस्।
५. वातावरणमैत्रीः प्लास्टिकको बोतल प्रयोग गर्नुको साटो थर्मस बोक्नुहोस्। आफूले गरेको फोहोर आफैँ व्यवस्थापन गर्नुहोस्।