काठमाडौँ
००:००:००
१२ असार २०८३, शुक्रबार

विपद्

अन्नको गेडोसम्म बचेन, विद्यालयमा शरण

५ चैत्र २०८२
आगजनीले नष्ट पारेको आफ्नो घरअगाडि लक्ष्मीदेवी ऋषिदेव। सबै तस्बिर : अनिल श्रेष्ठ
अ+
अ-

विराटनगर। भोलि शुक्रबार (६ चैत) सहकारीको किस्ता तिर्ने दिन। ६५ वर्षीया निर्मला ऋषिदेवले दुखजिलो गरेर पाँच हजार रुपैयाँ जोगाएकी थिइन्।

श्रीमान्‌ले धेरै दिनको ज्यालाबाट बचाएर किनेको २० किलो चामलको बोरा भर्खरै मात्र भान्साको कुनामा थन्क्याइएको थियो। तर, बुधबार (४ चैत) दिउँसोको आगलागीले निर्मलाको त्यो सानो संसार निमेषभरमै खरानी बनाइदियो।

मोरङ, बुढीगंगा गाउँपालिका-३ गोकुवा चोकस्थित ऐलानी जग्गामा रहेको मुसहर बस्तीमा अहिले न घरको भग्नावशेष बाँकी छ, न अन्नको गेडो। बस्तीका ११ वटा झुपडी आगोको लप्कामा बिलाए।

अहिले निर्मलासहित ११ परिवारका ५५ जना नजिकैको जनता आधारभूत विद्यालयको चिसो भुइँमा शरण लिइरहेका छन्। “हेर्दाहेर्दै घर जल्यो, केही झिक्नै पाइएन,” विद्यालयको एउटा कुनामा टोलाइरहेकी निर्मलाले भक्कानिँदै भनिन्, “किस्ता तिर्न राखेको पाँच हजार पनि जल्यो, चामल पनि आगोले खायो।अब रात कसरी कटाउने, के खाने?”

सुशीला ऋषिदेवको अवस्था पनि उस्तै छ। वर्षभरि अर्काको खेतमा पसिना बगाएर जम्मा गरेको अलिअलि धान र लत्ताकपडा सबै आगोले स्वाहा पारिदियो। “कसरी आगो लाग्यो, पत्तै पाएनौँ। एउटा घरबाट सल्किएको आगोले एकपछि अर्को गर्दै सबै सिध्यायो,” सुशीला भन्छिन्, “बालबच्चाले भोक लाग्यो भन्दा दिने अन्नको दाना छैन। जिउमा जे लगाएका थियौँ, त्यही मात्र जोगियो।”

बुधबार दिउँसो २ बजेतिर सल्केको आगो मुसहर बस्तीका लागि ‘काल’ बनेर आयो। बाँसका टाटी र कर्कट पाताले बनेका झुपडीहरूमा आगो सजिलै फैलियो। त्यसमाथि घरभित्र रहेका ग्यास सिलिन्डरहरू बमझैँ एकपछि अर्को पड्किए। कसैले भित्र पसेर सामान निकाल्ने आँटै गर्न सकेन।

लक्ष्मीदेवी ऋषिदेवका अनुसार ४५ मिनेटभित्रै सबै सखाप भयो। विराटनगर र सुनसरीबाट आएका तीन वटा दमकलले एक घण्टापछि आगो त निभाए, तर त्यतिबेलासम्म केही बचेको थिएन। “सबै खरानी भइसकेको थियो,” उनी भन्छिन्।

काखे बच्चा च्यापेर विद्यालयको हलमा टोलाइरहेकी रेखा ऋषिदेवको नौ जनाको ठूलो परिवार छ। कहाँ जाने, के खाने चिन्ताले उनलाई पिरोलिरहेको छ। उत्तम ऋषिदेवको ६ जनाको परिवारको हाल पनि उही छ।

सधैँ आर्थिक र सामाजिक रूपमा किनारामा पारिएको ऋषिदेव (मुसहर) समुदायका आगलागी जीवनकै संकट बनेर आएको छ। भूमिहीन र दैनिक ज्यालादारीमा निर्भर यी परिवार अहिले खुला आकाशमुनि आइपुगेका छन्। घरसँगै उनीहरूले साँचेका थोरै सुनचाँदी र नगद पनि स्वाहा भए।

घर जलेर नष्ट भएपछि सडकपेटीमा बसेका स्थानीय।

आगलागीमा सोनी ऋषिदेव, प्रकाश ऋषिदेव, उत्तम ऋषिदेव, उमा ऋषिदेव, सुनील ऋषिदेव, राजकुमार ऋषिदेव, गेमु ऋषिदेव, चैता ऋषिदेव, कमलेश ऋषिदेव, रामदेव ऋषिदेव र तिलकु ऋषिदेवका घर जलेर पूर्ण रूपमा नष्ट भएको प्रहरीले जनाएको छ। हावाहुरीको मौसममा खाना पकाउने क्रममा आगलागी भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान छ।

जिल्ला प्रहरी कार्यालय, मोरङका प्रवक्ता डीएसपी लीलाराज लामिछानेका अनुसार बुधबार दिउँसो २ बजेतिर सोनी ऋषिदेवको घरबाट अचानक सल्किएको आगो एकैछिनमा बस्तीभर फैलिएको थियो। “केही घरमा रहेका खाना पकाउने ग्यासका सिलिन्डर पनि पड्किँदा आगलागीले भीषण रूप लियो, आगो नियन्त्रणमा आउनै पौने घण्टा लाग्यो,” उनी भन्छन्।

अग्निपीडितलाई गाउँपालिकाले उपलब्ध गराएको लत्ताकपडा।

आगलागी नियन्त्रणका लागि विराटनगर महानगरपालिकाका दुई वटा दमकलसहित हात्तीमुढास्थित इलाका प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालयको प्रहरी टोली खटिएको थियो । आगलागीबाट घर संरचना, खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडालगायत गरी एक करोड १७ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक तथ्यांक छ।

जनता आधारभूत विद्यालयमा शरण लिइरहेका आगलागीपीडित।

विपद्को यस घडीमा बुढीगंगा गाउँपालिकाले राहतको पहल थालेको छ। गाउँपालिका अध्यक्ष जितनारायण थापामगरका अनुसार पीडितहरूलाई तत्कालका लागि खाना, तन्ना, झुल र त्रिपालको व्यवस्था गरिएको छ। भन्छन्, “थप सहयोग र पुन:स्थापनाका लागि कार्यपालिका बैठक बसेर निर्णय गर्ने तयारी गरिरहेका छौँ।”