संक्रमण
सुरुमा मोरङमा देखिएको बर्डफ्लु सुनसरी हुँदै झापासम्म
मोरङको सुन्दरहरैँचा नगरपालिका-४ स्थित हलेसी महादेव कृषि फार्ममा ३ चैतमा अचानक कुखुरा मर्न थालेपछि नमुना संकलन गरी परीक्षणका लागि काठमाडौँ पठाइएको थियो। ४ चैतमा प्राप्त परीक्षण रिपोर्टले बर्डफ्लु संक्रमण पुष्टि गरेपछि कोसी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले तत्कालै ‘र्यापिड रेस्पोन्स टिम’ परिचालन गर्यो। तर, बर्डफ्लु संक्रमण कुनै एउटा फर्ममा मात्र सीमित रहेन। ४ चैतमा सोही वडाको बुढीगंगा कृषि फार्ममा पनि बर्डफ्लु देखियो।
मन्त्रालयको पशुपन्छी महाशाखा प्रमुख दीपा दियालीका अनुसार मोरङकै उर्लाबारी-८ स्थित अठियाबारी कृषि फार्म, कटहरीको कामक्षिया कृषि फार्म र इनजेस्ठ कोल्टी फार्ममा पनि यो संक्रमण पुष्टि भएको छ। कामक्षिया र इनजेस्ठ कोल्टी फार्ममा त प्राविधिक टोलीले ११ हजार कुखुरा नष्ट गरिसकेको छ। “सुन्दरहरैँचाबाट सुरु भएको संक्रमण अहिले झापाको दमक र सुनसरीको इटहरीसम्म पुगेको छ,” दियाली भन्छिन्, “हामी धमाधम कुखुरा नष्ट गर्ने काम गरिरहेका छौँ।”

मोरङको सुन्दरहरैँचा-४ मा रहेको फर्ममा कुखुराको अन्डा नष्ट गरिँदै।
८ चैतको रातिसम्म झापा, मोरङ र सुनसरीका विभिन्न फार्ममा रहेका ३७ हजार ६६० कुखुरा नष्ट गरिएको छ। संक्रमण नियन्त्रणका लागि मन्त्रालयले गठन गरेको ‘र्यापिड रेस्पोन्स टिम’ अहिले प्रभावित क्षेत्रमा संक्रमित पन्छी नष्ट गर्न सक्रिय छ।
झापाको दमक नगरपालिका-१० स्थित दमक एग्रिकल्चर फार्म प्रालिमा पनि संक्रमण पुष्टि भएपछि त्यहाँ पनि २० हजारभन्दा बढी कुखुरा नष्ट गरिएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाकी प्रमुख शीतल भट्टराईले अचानक कुखुरा मर्न थालेपछि परीक्षण गर्दा बर्डफ्लु संक्रमण भेटिएको बताइन्। यस्तै, सुनसरीको इटहरीका केही फार्ममा पनि संक्रमणको लक्षण देखिएपछि निगरानी बढाइएको छ।

बर्डफ्लु संक्रमणबाट ठूलो संख्यामा कुखुरा नष्ट गरिएका कारण प्रभावित जिल्लाका कुखुरा व्यवसायी मर्कामा परेका छन्। लेयर्स कुखुरापालक संघ मोरङ-सुनसरीका अध्यक्ष होम बाँस्कोटाका अनुसार ठूलो लगानी गरेर कुखुरा हुर्काएका किसानहरू प्रतिफल लिने बेलामा रित्तो हात भएका छन्। “ऋण लिएर फार्म चलाइएको थियो, बिक्री हुने बेला संक्रमण देखिँदा व्यवसायीहरू सडकमा पुग्ने अवस्था आएको छ,” बाँस्कोटा भन्छन्।
नेपालमा पहिलो पटक माघ २०६५ मा झापाकै काँकडभिट्टाबाट बर्डफ्लु भित्रिएको थियो। त्यसबेला २८ हजार कुखुरा नष्ट गरिएको थियो। त्यसयता पटक पटक देखिने यो संक्रमण चार वर्षपछि फेरि कोसी प्रदेशमा देखा परेको हो।

मोरङको उर्लाबारीस्थित बर्डफ्लु देखिएको कृषि फर्मका कुखुरा नष्ट गर्दै स्वास्थ्यकर्मीसहितको प्राविधिक टोली।
संक्रमण फैलिएपछि स्थानीय तहहरूले उच्च सतर्कता अपनाउन सजग गराएका छन्। उर्लाबारी नगरपालिकाका प्रमुख गंगाप्रसाद खरेल र सुन्दरहरैँचाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले छुट्टाछुट्टै सूचना जारी गर्दै संक्रमण प्रभावित क्षेत्रबाट कुखुरा, अन्डा, मासु, दाना र उपकरण ओसारपसारमा पूर्ण प्रतिबन्ध लगाएका छन्।

उर्लाबारीमा बर्डफ्लु पुष्टि भएपछि नगरपालिकाले जारी गरेको सूचना।
नगरपालिकाले फार्म वरपरका कुखुरामा समान लक्षण देखिए तुरुन्त जानकारी दिन, फार्ममा अनावश्यक व्यक्तिको प्रवेश रोक्न र जैविक सुरक्षा (बायो-सेक्युरिटी)का उपायहरू जस्तै– चुना, फिनेल र सेनिटाइजरको प्रयोग गर्न निर्देशन दिएको छ। बर्डफ्लु संक्रमित कुखुराको सुली, र्याल र सम्पर्कबाट यो संक्रमण अन्यत्र सजिलै फैलिने हुनाले सर्वसाधारणलाई मृत वा बिरामी कुखुरा नछुन विज्ञहरूले आग्रह गरेका छन्। उद्योग, कृषि तथा सहकारी मन्त्रालय कोसी प्रदेशका पशु चिकित्सक डा. देवकुमार दर्लामीका अनुसार कुखुराको मासु र अन्डा राम्ररी पकाएर खाँदा जोखिम कम हुने भए पनि संक्रमण देखिएका क्षेत्रमा उच्च सतर्कता अपनाउनुको विकल्प छैन।