काठमाडौँ
००:००:००
११ असार २०८३, बिहीबार

११ चैत्र २०८२
कोमलकुमारी साहको हत्याको घटनाबारेमा जानकारी दिँदै प्रहरी। तस्बिर : अनिल श्रेष्ठ
अ+
अ-

विराटनगर। विराटनगर-१५ हर्तालीहाटकी ३२ वर्षीया कोमलकुमारी साहको हत्या गरेको आरोपमा प्रहरीले उनका श्रीमान् र जेठाजुलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मृतकका श्रीमान् रोशन साह र जेठाजु दीपेन्द्र साह छन्।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट श्रीमान् रोशनले श्रीमतीको ‘परपुरुषसँग अवैध सम्बन्ध’ रहेको शंकामा हत्या गरेको खुलेको छ। मोरङ प्रहरी प्रवक्ता डीएसपी लीलाराज लामिछानेका अनुसार गत ६ चैत राति करीब साढे १२ बजे कोमलकुमारीको हत्या भएको थियो। छोराछोरी सुतिसकेपछि राति साढे १२ बजे रोशन कोठामा छिरेका थिए।

“सुतिरहेकी श्रीमतीले ओढेको गलबन्दी र साडीले घाँटी कसेर हत्या गरेको उनले स्वीकार गरेका छन्,” डीएसपी लामिछानेले भने, “हत्यापछि शव व्यवस्थापनका लागि उनले दाजु दीपेन्द्रको सहयोग लिएको पाइयो।’’

पत्नी बेपत्ताको नाटक, चार दिनपछि खुल्यो रहस्य

हत्यापछि रोशनले श्रीमतीको हातखुट्टा बाँधेर तन्नाको पोको बनाएका थिए। त्यसपछि दीपेन्द्रले चलाउने सिटी सफारीमा राखेर घरदेखि करिब चार किलोमिटरपूर्व विराटनगर-१७ स्थित छाला फ्याक्ट्रीनजिकैको कल्भर्टमुनि शव फालिएको अनुसन्धानबाट खुलेको छ।

कोमलकुमारी ६ चैतदेखि सम्पर्कविहीन थिइन्। हत्या लुकाउन रोशनले ८ चैतमा इलाका प्रहरी कार्यालय रानीमा पुगेर पत्नी हराएको भन्दै हुलियासहितको निवेदन दिएका थिए।

शव व्यवस्थापनका लागि प्रयोग भएको सिटी सफारी।

मंगलबार साँझ कल्भर्टमुनि शव फेला परेपछि प्रहरीले अनुसन्धान तीव्र पारेको थियो। शव भेटिएको चार घण्टाभित्रै प्रहरीले अभियुक्तहरूलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो। बुधबार पत्रकार सम्मेलन गर्दै प्रहरीले घटनाबारे विस्तृत जानकारी गराएको हो। डीएसपी लीलाराज लामिछाने र इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर कविन राई नेतृत्वको संयुक्त टोलीले घटनास्थलको सूक्ष्म अनुसन्धान गरेको थियो। बुधबार मोरङ जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा पाँच दिनको म्याद थप गरी दुवै जनाविरुद्ध विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।