मन्त्रीपरिषद्को उमेर
प्रधानमन्त्री बालेन्द्र शाहले १५ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्। ३६ वर्षका शाह नेतृत्वको मन्त्रिपरिषद्को औसत उमेर ३८.२१ वर्ष रहेको छ। शाहको मन्त्रिपरिषद्मा सबैभन्दा पाका ५१ वर्षका स्वर्णिम वाग्ले छन्। उनी तनहुँ १ बाट निर्वाचित भएका हुन्। मन्त्रिपरिषद्मा सबैभन्दा कान्छा शिक्षा, विज्ञान प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेल हुन्। काठमाडौँ ५ बाट विजयी पोखरेल २९ वर्षका छन्। शाह काठमाडौँ महानगर प्रमुख हुँदा पोखरेल उनको टिममा थिए।
वाग्लेपछि श्रम तथा रोजगार मन्त्री दीपककुमार साह सबैभन्दा पाका मन्त्री हुन्। पेसाले चिकित्सक साह ४९ वर्षका भए। उनले लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसनमा अध्ययन गरेका हुन्। उनीसँग विश्व स्वास्थ्य संगठनमा काम गरेको अनुभव छ।
परराष्ट्रमन्त्री शिशिर खनाल ४७ वर्षका भए। राष्ट्रिय स्वतन्त्र पार्टीको विदेश विभाग प्रमुख रहेका खनाल काठमाडौँ ६ बाट दोस्रो पटक निर्वाचित भएका हुन्। उनले अमेरिकाको युनिभर्सिटी अफ विसकन्सिन म्याडिसनबाट सार्वजनिक नीतिमा स्नातकोत्तर र वज्रपोर्ट विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय राजनीतिक अर्थशास्त्रमा स्नातक गरेका छन्।
त्यसैगरी, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम र महिला, बालबालिका तथा समाज कल्याणमन्त्री सीता बादीको उमेर ३०/३० वर्षको छ। गौतम चितवन ३ बाट निर्वाचित सांसद हुन्। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा गौतम काठमाडौँ २ बाट निर्वाचित भएकी थिइन्। उनी कानुनमा स्नातकोत्तर हुन्। बादी समुदायबाट पहिलो पटक सांसद बनेकी सीता सो समुदायको पहिलो मन्त्रीसमेत हुन्।
पूर्वपत्रकार प्रतिभा रावललाई सामान्य प्रशासनमन्त्री बनाइएको छ। उनी ३२ वर्षकी छिन्। कञ्चनपुर भीमदत्त नगरपालिकामा जन्मिएकी रावलसँग ग्यालेक्सी टेलिभिजन, रिपब्लिका दैनिक र साउथ एशिया चेकमा काम गरेको अनुभव छ। रावल रास्वपाकी सहप्रवक्ता पनि हुन्। त्यसैगरी, कृषि र पशुपन्छी, वन तथा वातावरणमन्त्री गीता चौधरी पेसाले कानुन व्यवसायी हुन्। उनले कानुनमा स्नातकोत्तर गरेकी छन्।
त्यसैगरी, बालेनको मन्त्रिपरिषद्मा ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री बनेका विराजभक्त श्रेष्ठ ४४ वर्षका छन्। उनी २०७४ सालमा विवेकशील साझा पार्टीबाट बागमती प्रदेश सांसद बनेका थिए। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा श्रेष्ठ काठमाडौँ ८ बाट निर्वाचित भएका थिए। श्रेष्ठसँग केही समयमा युवा तथा खेलकुद मन्त्रालय सञ्चालनको अनुभव पनि छ।
सूचना तथा सञ्चार प्रविधिमन्त्री विक्रम तिमल्सिना ४३ वर्षका छन्। नुवाकोट १ बाट निर्वाचित तिमल्सिना पूर्वसञ्चारकर्मी हुन्। एक दशकअघि रेडियो सगरमाथाका कार्यक्रम उत्पादक तथा प्रस्तोता उनी अध्ययनका लागि अस्ट्रेलिया गएर फर्किएका हुन्। उनले त्यहीँबाट सञ्चालित नेपाल एक्सप्रेसको कार्यकारी सम्पादक र सिड्नीबाट सञ्चालित साउथ एसिया डटकम डट एयूको सम्पादकीय सल्लाहकारका रूपमा काम गरेका थिए। उनले विद्यावारिधि गरेका छन्।
गृहमन्त्री बनेका सुधन गुरुङ २३ र २४ भदौमा भएको जेन-जी आन्दोलनबाट चर्चामा आएका व्यक्ति हुन्। रास्वपाका सभापति रवि लामिछाने र काठमाडौँ मेयर बालेन शाहलाई एकै स्थानमा ल्याउन भूमिका खेलका गुरुङ धेरैलाई चकित पार्दै गृहमन्त्री बने। उनी ३८ वर्षका छन्।