काठमाडौँ
००:००:००
१० असार २०८३, बुधबार

राजनीति

निर्वाचनमा लज्जास्पद हार बेहोरेसँगै नेतृत्वप्रति उठे प्रश्नहरू

१९ चैत्र २०८२
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का। तस्बिर : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

१८ चैतमा नेकपा (एमाले)ले उपाध्यक्ष रामबहादुर थापा (६९ वर्ष)लाई संसदीय दलको नेता छान्यो। थापासँग केन्द्रीय सदस्य सुहाङ नेम्बाङ (३६ वर्ष)ले प्रतिस्पर्धा गर्ने तयारी गरेका थिए। पार्टी मुख्यालय च्यासलमा भएको संसदीय दलको बैठकमा नेतृत्वबाट यस्तो परिस्थिति निर्माण गरियो कि नेम्बाङले उम्मेदवारीका लागि प्रस्तावक र समर्थक नै पाएनन्। यो समाचार बाहिरिएलगत्तै सामाजिक सञ्जालमार्फत नेता तथा कार्यकर्ताले मूल नेतृत्वप्रति असन्तुष्टि जनाइरहेका छन्।

पछिल्लो समय पाका नेताले ठाउँ छाडेर युवाहरू आउनुपर्ने आवाज सबै दलभित्र उठिरहेको छ। जेन-जी आन्दोलनपछि कांग्रेसले त विशेष महाधिवेशन गरेरै नेतृत्व परिवर्तन गर्‍यो। एमालेमा महाधिवेशनबाट नेतृत्व परिवर्तन हुन सकेन। २१ फागुनमा भएको प्रतिनिधिसभाको निर्वाचनमा बेहोरेको लज्जास्पद हारको नैतिक जिम्मेवारी नेतृत्वले लिनुपर्ने र नेतृत्व परिवर्तन हुनुपर्ने माग अहिले एमाले पार्टी पंक्तिभित्र व्याप्त छ। संसदीय दलको नेता छान्ने क्रममा पुरानै रबैया देखिएपछि एमालेका नेता तथा कार्यकर्ता आक्रोशित छन्।

संसदीय दलको नेता छान्ने प्रक्रियामा पार्टी महासचिव शंकर पोखरेलले हस्तक्षेप गरेको भन्दै अमृत साइन्स कलेजका केही विद्यार्थी नाराबाजी गर्दै च्यासल पुगेका थिए। उनीहरूले महासचिवको पुत्लासमेत जलाए। बिहीबार पनि महासचिव पोखरेलको राजीनामा माग गर्दै युवा कार्यकर्ताहरूले केन्द्रीय कार्यालयमा प्रदर्शन गरेका छन्।

जेन-जी आन्दोलनलाई हेर्ने दृष्टिकोणमै एमालेभित्र दुई कित्ता रहेको छ। एक पक्षले अहिलेको परिस्थितिलाई देश बनाउने र जलाउनेबीचको अन्तर्द्वन्द्वका रूपमा हेरेको छ भने अर्को पक्षले पार्टी सञ्चालन र नीतिका विषयमा छलफल हुनुपर्ने बताउँदै आएको छ।

जेन-जी आन्दोलनमा भएको मानवीय तथा भौतिक क्षतिको जाँचबुझ गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको सिफारिसबमोजिम पछिल्लो निर्वाचित सरकारले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेसँगै एमालेमा नेतृत्व परिवर्तनको आवाज उठ्न थालेको छ। संसदीय दलको नेता छान्ने क्रममा यो आवाज झनै मुखरित भयो।

चुनावी परिणामपछि एमालेका नेताहरूले अहिलेको नेतृत्व र नीतिले पार्टी अघि बढ्न नसक्ने टिप्पणी गर्दै आएका छन्। पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डेले चुनावमा पराजित भएका ओलीले राजीनामा दिनुपर्ने बताएका छन्। यद्यपि, अहिले नै नेतृत्व परिवर्तन नहुने संकेत अध्यक्ष ओलीले गरिसकेका छन्। गत मंसिरमा भएको एघारौँ महाधिवेशनबाट ओली तेस्रो पटक अध्यक्षमा निर्वाचित भएका थिए। २१ फागुनको निर्वाचनमा पार्टीले हार बेहोरेसँगै ओलीको नेतृत्वप्रति प्रश्न उठेको छ।

यतिखेर जेन-जी आन्दोलनलाई हेर्ने दृष्टिकोणमै एमालेभित्र दुई कित्ता रहेको छ। एक पक्षले अहिलेको परिस्थितिलाई देश बनाउने र जलाउनेबीचको अन्तर्द्वन्द्वका रूपमा हेरेको छ भने अर्को पक्षले पार्टी सञ्चालन र नीतिका विषयमा छलफल हुनुपर्ने बताउँदै आएको छ।

कांग्रेसमा कलह

जेन-जी आन्दोलनपछिको नयाँ परिस्थितिलाई आत्मसात् गर्ने नीति र नेतृत्व कांग्रेसभित्र आवश्यक रहेको भन्दै तत्कालीन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले अभियान सञ्चालन गरेका थिए। तत्कालीन सभापति शेरबहादुर देउवा र शेखर कोइराला पक्ष तयार नभएको अवस्थामा समेत महामन्त्रीद्वयले विशेष महाधिवेशन आह्वान गरे। निर्वाचनअघि (२७ पुस देखि १ माघसम्म) विशेष महाधिवेशन गरेर गगनकुमार थापाको नेतृत्वमा निर्वाचनमा गएको कांग्रेसले अपेक्षित नतिजा निकाल्न सकेन। यसको नैतिक जिम्मेवारी लिँदै थापाले दिएको राजीनामा कांग्रेस केन्द्रीय कार्यसमितिले स्वीकृत गरेन।

विशेष महाधिवेशनबाट थापा सभापति चुनिए पनि कांग्रेसमा आधिकारिकताको विवाद जारी छ। विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई निर्वाचन आयोगले ३ माघमा मान्यता दिएको थियो। तत्कालीन सभापति शेरबहादुर देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्ष विशेष महाधिवेशनलाई मान्यता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध ६ माघमा अदालत गएको थियो। सो मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा कांग्रेसभित्र समानान्तर गतिविधि देखिएका छन्। थापा हस्ताक्षरित टिकटबाटै देउवा-खड्का पक्ष २१ फागुनको निर्वाचनमा गएको थियो। निर्वाचनमा हार बेहोरेसँगै यो समूह समानान्तर गतिविधिसहित सलबलाउन थालेको हो।

पछिल्लो चुनावी परिणामलाई लिएर सुरु भएको विवादले कांग्रेस र एमाले दुवैको अस्तित्व संकटमा परेको संकेत कांग्रेस नेता शेखर कोइरालाले गरेका छन्।

सभापति थापाले ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा नियमित रूपमा बैठक तथा भेलाहरू आयोजना गर्दा खड्का तथा शेखर कोइराला समूहले विभिन्न होटलमा बैठक र भेलाहरू आयोजना गर्न थालेका छन्। केही दिनअघि पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेको विरोधमा खड्काले कार्यवाहक सभापतिकै हैसियतमा विज्ञप्ति गरे। शेखर कोइरालाले पनि छुट्टै भेला आयोजना गरेका थिए। १८ चैतमा बसेको कांग्रेस अनुशासन समिति बैठकले खड्कालाई सचेत गराउने निर्णय गरेको छ। अर्को पटक पनि खड्काले कांग्रेसको कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरे कारबाही गर्ने चेतावनी दिइएको छ।

पछिल्लो चुनावी परिणामलाई लिएर सुरु भएको विवादले कांग्रेस र एमाले दुवैको अस्तित्व संकटमा परेको संकेत कांग्रेस नेता शेखर कोइरालाले गरेका छन्। बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले अबका दिन कांग्रेस र कम्युनिस्टका लागि कठिन भएको बताए। ‘एमाले र कांग्रेस दुवै पार्टी विचित्रको अप्ठेरो र विवादमा फसेका छन् भनेर स्वीकार गरौँ,’ उनले भने, ‘म भन्छु– कांग्रेस र एमाले एकढिक्का भएर लड्न सक्यौँ भने अस्तित्व रहन्छ, होइन भने अप्ठेरो परिस्थितिमा जान्छौँ, यसमा कुनै दुईमत छैन।’