राजनीति
यौनकाण्डदेखि भुटानी शरणार्थी प्रकरणसम्म जोडिएका एमालेका कार्यवाहक अध्यक्ष रामबहादुर थापा
माओवादी पृष्ठभूमिका रामबहादुर थापा (बादल) अन्तर्मुखी र अल्पभाषी नेता मानिन्छन्। तर, नेकपा (एमाले)का संसदीय दलको नेताको हैसियतमा उनले १९ चैतको प्रतिनिधिनिसभा बैठकमा गरेको पहिलो सम्बोधन नै विवादित बन्यो। उनले २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जित हासिल गर्नुमा नेपाली सेना, सरकारी कर्मचारीसहित विभिन्न संघसंस्थाको भूमिका रहेको भन्दै त्यसको आलोचना गरेका थिए। ‘यो सबै परिणामका पछाडि मुख्यत: नेपाली सेना, ब्युरोक्रेसी, सुशीला सरकार र बारबरा फाउन्डेसन विजयका आधारहरू हुन्,’ बैठकमा थापाले भनेका थिए।
थापाको अभिव्यक्तिको पार्टीभित्रै विरोध भयो। एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, उपमहासचिव योगेश भट्टराई, पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डेलगायतले तत्कालै सामाजिक सञ्जालमार्फत विरोध गरे।
भोलिपल्ट २० चैतमा एमालेको सचिवालय बैठकले कार्यवाहक अध्यक्षसमेत रहेका थापाले संसद्मा राखेको विचार पार्टीको आधिकारिक धारणा नभएको जनायो। नवनिर्वाचित प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दियो।
जब थापा राजनीतिक सहयात्री पुष्पकमल दाहाललाई छाडेर ओलीको छत्रछायामा बसे, तब उनले अवसरै अवसर पाए।
पूर्वमाओवादी नेता थापाले १८ चैतमा संसदीय र पार्टी मोर्चाको जिम्मेवारी पाए। गत २३ भदौको जेन-जी आन्दोलनमा १९ जनाको ज्यान जाने घटनामा संलग्न रहेको आरोपको अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री ओलीले थापालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका हुन्।
एमालेसँग थापाको सम्बन्ध गाँसिएको एक दशक पनि भएको छैन। २०७४ सालमा एमालेसँग उनको सहकार्य सुरु भएको हो। २०७४ सालको प्रतिनिधिसभा चुनावमा वाम गठबन्धन गरेर प्रतिस्पर्धामा उत्रिएका एमाले र माओवादी केन्द्रले करिब दुई तिहाइ मत पाएपछि ओलीको नेतृत्वमा सरकार बन्यो, जसमा थापाले गृह मन्त्रालयको जिम्मेवारी पाएका थिए। त्यहीँबाट जब थापा राजनीतिक सहयात्री पुष्पकमल दाहाललाई छाडेर ओलीको छत्रछायामा बसे, उनले अवसरै अवसर पाए।
एमाले र माओवादीले सत्ता गठबन्धन मात्र गरेनन्, ३ जेठ २०७५ मा पार्टी एकता गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन गरे। नेकपामा थापा सचिवालय सदस्य थिए। नेकपाभित्र विवाद हुँदा थापाको साथ दाहाललाई नभई ओलीलाई थियो।
२३ फागुन २०७८ मा सर्वोच्च अदालतले नेकपाको एकतालाई मान्यता नदिँदा पार्टी विभाजन भई एमाले र माओवादी केन्द्र ब्युँतिए। त्यसबेला थापा माओवादीतर्फ नगई एमालेमा लागे।
थापाका लागि अध्यक्ष ओली कतिसम्म ‘दाहिना’ भए भने, आफू हिरासतमा रहेको समयमा पार्टीभित्रका अन्य व्यक्तिलाई विश्वास नगरी माओवादी पृष्ठभूमिका थापालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोके।
मंसिर २०७८ मा चितवनमा भएको एमालेको दशौँ महाधिवेशनबाट थापा उपाध्यक्ष निर्वाचित भए। मंसिर २०८२ मा काठमाडौँमा भएको एघारौँ महाधिवेशनबाट उपाध्यक्षमा दोहोरिए। गत २१ फागुनको चुनावमा समानुपातिक सूचीमा आदिवासी जनजाति क्लस्टरको पहिलो नम्बरको उम्मेदवार बनाएर ओलीले उनको संसद् प्रवेश सुनिश्चित गरिदिए। जबकि, प्रत्यक्षमा चुनाव लडेका ओलीसहितका सबै पदाधिकारी पराजित हुन पुगे।
थापाका लागि अध्यक्ष ओली कतिसम्म ‘दाहिना’ भए भने, आफू हिरासतमा रहेको समयमा पार्टीभित्रका अन्य व्यक्तिलाई विश्वास नगरी माओवादी पृष्ठभूमिका थापालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोके। यस्तै, संसदीय दलको नेतामा उनी नै निर्विरोध चयन भए। दलको नेता चयनका लागि चुनावको माग गरेका सांसद सुहाङ नेम्वाङले प्रस्तावक र समर्थक नै नपाउने अवस्था बन्यो।

नेकपा (एमाले)को संसदीय दलको नेतामा थापा चयन भएपछि बधाई दिँदै सुहाङ नेम्वाङ। तस्बिर स्रोत : ऐन महरको फेसबुक
संसदीय चुनावमा निराशाजनक परिणाम आएर पार्टी अप्ठेरो अवस्थामा रहेको समयमा ओलीले थापालाई संसद् र पार्टी दुवै मोर्चाको जिम्मेवारी दिएका हुन्।
थापा १९ चैतमा संसद्मा गरेको सम्बोधनको विषयले मात्रै नभएर विगतमा पनि विभिन्न प्रकरणमा विवादमा परेका पात्र हुन्।
ती बादल
माओवादी सशस्त्र विद्रोहको समयमा औपचारिक नामभन्दा उपनाम बादलको नामले चर्चित थिए थापा। पार्टीभित्र र बाहिर पनि उनलाई सशस्त्र विद्रोहको सैन्य रणनीतिकारका रूपमा प्रस्तुत गरिएको थियो। १ फागुन २०५२ मा माओवादीले सशस्त्र विद्रोह सुरु गर्दा मध्यपश्चिमका पहाडी जिल्लाको नेतृत्व उनले गरेका थिए। त्यस समयमा थापा राप्तीका इन्चार्ज थिए। रोल्पा, रुकुम, जाजरकोट, सल्यानलगायत जिल्लाको पार्टीपंक्तिमा उनको बलियो प्रभाव थियो।
वामपन्थी राजनीतिका अध्येता किरण पुनका अनुसार माओवादीले राप्तीमा बनाएको आधार क्षेत्र बादल नभएको भए सम्भव हुने थिएन। “बादललाई त्यहाँ मिथकीय पात्रका रूपमा प्रयोग गरिएको थियो,” उनी भन्छन्, “बादल रसियाबाट पढाइ छाडेर क्रान्ति गर्नकै लागि नेपाल आएका हुन्, व्यक्तिगत रूपमा उनको जिन्दगी पुगिसरी छ, सहज जीवनका लागि उनले क्रान्ति गरिरहनुपर्ने आवश्यक नै छैन भन्ने भाष्य स्थापित गरिएको थियो।”
चुनावी नतिजामा एमालेको पराजयपछि पनि थापा अध्यक्ष ओलीको प्रतिरक्षामा उभिएका छन्। चुनावी परिणाम प्रतिकूल भएपछि रक्षात्मक बनेका ओलीका लागि पार्टीमा शक्ति कायम राख्ने सबैभन्दा उपयुक्त पात्रका रूपमा थापा देखिएका छन्।
सशस्त्र विद्रोहकालमा नन्दबहादुर पुन र वर्षमान पुन माओवादीको महत्त्वपूर्ण जिम्मेवारीमा नआउँदासम्म मगर मात्र नभई समग्र आदिवासी जनजाति नेताका रूपमा बादल नै प्रमुख थिए। “जिन्दगीमा पुगिसरी भएका मानिस पनि हामीलाई उत्पीडनबाट मुक्ति दिन आए भन्ने बताइयो, जसका कारण राप्तीका मगर युवाहरू बादलप्रति बढी आकर्षित भए। मगरहरूमा आफ्नै समुदायको मानिस आयो भन्ने भयो,” पुन भन्छन्।
सशस्त्र विद्रोह सुरु गर्दा त्यसको नेतृत्व गरे पनि पुष्पकमल दाहाल छायामै थिए। पार्टी कार्यकर्ताका लागि बादल प्रभावशाली थिए भने पार्टीबाहिरका लागि बाबुराम भट्टराई सशस्त्र विद्रोहका नेता थिए।
सशस्त्र युद्ध थालेको दुई वर्ष पुग्दानपुग्दै यौन विचलनको आरोपमा थापा सांस्कृतिक कारबाहीमा परे। उनको राप्ती इन्चार्जको जिम्मेवारी खोसियो। २०५३ सालको अन्त्यमा भारतमा बसेको केन्द्रीय समिति बैठकले उनलाई ‘लिन प्याओवाद उन्मुख’ आक्षेप लगाउँदै साधारण सदस्यबाट समेत निलम्बन गर्यो। २०५६ सालको अन्त्यतिर कारबाही फुकुवा भएपछि उनी उपत्यका विशेष ब्युरोको इन्चार्जको जिम्मेवारीमा काठमाडौँ छिरेका हुन्। “कारबाहीपछि पार्टीभित्र बादलको पहिले जस्तो प्रभाव भने हुन सकेन,” पुन भन्छन्।

रामबहादुर थापा ‘बादल’। तस्बिर : नेपाल फ़ोटो लाइब्रेरी
२०६३ सालमा माओवादी शान्ति प्रक्रियामा आएपछि थापाले आफूलाई खुला राजनीतिमा अघि बढाउन सकेनन्। अन्तर्मुखी स्वभावमै रहेर आममानिस र सञ्चारमाध्यमबाट टाढै बसे।
२०६४ सालमा संविधानसभा चुनावमा थापा चितवन २ मा विजयी भएका थिए। तर, त्यसपछि उनले सांसद हुन सहज बाटो खोजे। २०७४ सालमा राष्ट्रिय सभाका सांसद बने। यसपटक उनी समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य बने। प्रत्यक्षतर्फ चुनाव लडेका पार्टीको नेतृत्वको पूरै पंक्ति चुनावमा पराजित हुँदा संसद्मा पार्टीको नेतृत्व गर्ने जिम्मेवारी थापाको काँधमा आएको छ।
यौनकाण्डदेखि नक्कली भुटानी शरणार्थी प्रकरणसम्म
२०५३ सालमा थापा यौनकाण्डमा मुछिए। त्यस बखत मुख्य नेतृत्व हत्याउन खोजेको आरोप पनि उनीलाई लाग्यो। सहकर्मी नेतृसँगको सम्बन्धलाई उनले स्विकारे पनि नेतृत्व हत्याउन खोजेको विषय भने अस्वीकार गरे। सांस्कृतिक विचलनको आरोपमा पार्टीको केन्द्रीय समितिले उनलाई कारबाही गरेको थियो।
एमालेका पूर्वसांसद केआर खम्बूले छायाँको लस्कर पुस्तकमा २०३६ सालतिर थापालाई भेटेको प्रसंग लेखेका छन्। ‘अजीवका पाहुना’ शीर्षकमा खम्बूले रुसमा पढ्दा थापाले विश्वविद्यालय भ्रमणमा आएका त्यहीँका उच्च तहका नेताहरूसँग वादविवाद गरेर अप्ठेरोमा पारेको भनेर साथीले सुनाएको उल्लेख छ।
त्यसको केही महिनापछि नेपाल फर्केका थापासँग खम्बूले कीर्तिपुरमा भेटेका थिए। कीर्तिपुरस्थित होस्टलको गेस्ट रुममा केही दिन बसेका थापा झोला र चप्पल छाडेर खाली खुट्टा चितवन पुगेका थिए। ‘‘एकदिन प्रारम्भिक कमिटीको बैठक सकिएपछि रामबहादुर थापाको कुरा निस्कियो। मैले सबै कुरा सुनाउँदै ‘साथी चप्पल, झोला छाडेर कता बेपत्ता भए होला’ भनेँ। ए, त्यो मान्छे त जङ्गलै जङ्गल पैदलै आफ्नो घर चितवन पुगेछ’ जागृत भेटवालले भन्नुभयो,’’ खम्बूले लेखेका छन्।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै लाखौँ असुली गरेको गिरोहलाई सघाएको आरोप थापालाई लागेको छ। उनले सो क्रममा गिरोहमार्फत रकम बुझेको समेत आरोपीहरूले बयानका क्रममा खुलाएका थिए। तर, उनी अनुसन्धानको दायरामै परेनन्।
रुसमा बालीविज्ञानको पढाइ बीचैमा छाडेर नेपाल फर्केका थापा चौथो महाधिवेशन (चौम) पार्टीमार्फत राजनीतिमा सक्रिय भएका थिए। चौम विभाजनपछि नेकपा (मशाल), एकता केन्द्र हुँदै २०५१ सालमा नेकपा (माओवादी)मा रूपान्तरण भएको थियो।
कुनै पनि विषयमा मुखर भएर आफ्नो कुरा नराख्ने थापा शान्तिपूर्ण राजनीतिमा आएपछि पनि विभिन्न प्रकरणमा मुछिए। जसमध्ये २०६६ सालको सेनापति प्रकरण एक हो। पुष्पकमल दाहाल नेतृत्वको सरकारमा थापा रक्षामन्त्री थिए। प्रधानसेनापति रुकमाङ्गद कटवालसँग थापा र दाहालको टकरावका कारण सरकार नै ढल्न पुग्यो। संविधानसभाको सबैभन्दा ठूलो दल विपक्षमा पुग्यो। सदनमा भन्दा बढी समय सडक आन्दोलनमा दियो। कांग्रेस, एमाले र विभिन्न मधेसवादी दल मिलेर बनेको सरकारसँग टकरावमै समय बित्यो। संविधान नबनी पहिलो संविधानसभाको कार्यकाल सकियो।
अध्यक्ष दाहालले क्रान्तिकारी धार छाडेको भन्दै थापासहितका नेताहरूले २०६९ सालमा एकीकृत नेकपा माओवादी छाडेर नेकपा (क्रान्तिकारी माओवादी) गठन गरे। जसले २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनको सक्रिय बहिष्कार गर्ने नारा ल्याएको थियो। घोषणाअनुरूप मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले संविधानसभा चुनावमा भाग लिएन। दाहाल नेतृत्वको एकीकृत माओवादी तेस्रो दल बन्यो।
एमालेका एक नेता पछिल्लो समयमा थापाले जस्तोसुकै विवादमा पनि नेतृत्वको प्रतिरक्षा गर्नुपर्छ भन्ने धारणा राख्ने गरेको बताउँछन्।
२०७२ सालमा थापासहितका नेताहरू माओवादीमै फर्किए। तर, उनी २०७४ सालको प्रतिनिधिसभा चुनावपछि दाहालसँग रहेनन्, ओलीतर्फ ढल्किए।
२०७४ सालमा थापा गृहमन्त्री भएको समयमा ठूला काण्ड भए। जसमा प्रमुख थियो, नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरण। सो काण्डमा संलग्न देखिएका पूर्वमाओवादी नेता तथा तत्कालीन एमाले सचिव टोपबहादुर रायमाझी, थापाका प्रमुख सल्लाहकार इन्द्रजित राई र स्वकीय सचिव रहेका थापाका छोरा प्रतीक थापा जेलमा छन्। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै लाखौँ असुली गरेको गिरोहलाई सघाएको आरोप थापालाई लागेको छ। उनले सो क्रममा गिरोहमार्फत रकम बुझेको समेत आरोपीहरूले बयानका क्रममा खुलाएका थिए। तर, उनी अनुसन्धानको दायरामै परेनन्। तत्कालीन मन्त्री थापा र तत्कालीन गृहसचिव र हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त रहेका प्रेमबहादुर राईलाई समेत आरोप लाग्दै आएको छ। थापापछि गृहमन्त्री भएका कांग्रेसका नेता बालकृष्ण खाण सो काण्डमा धरौटीमा छुटेका छन्।
नेकपा विभाजनपछि माओवादीतर्फ नगएर एमालेमै रहँदा थापाको सांसद पद गयो। जसका कारण ओली नेतृत्वको सरकारबाट उनी बाहिरिनुपर्यो। तर, ओलीले सांसद नै नरहेकी थापापत्नी नैनकला थापालाई सूचना तथा सञ्चार प्रविधिमन्त्री बनाएका थिए। एमालेले नैनकलालाई २०७९ सालको प्रतिनिधसभा निर्वाचनमा पनि समानुपातिकतर्फ सांसद बनाएको थियो।
एमालेका एक नेता पछिल्लो समयमा थापाले जस्तोसुकै विवादमा पनि नेतृत्वको प्रतिरक्षा गर्नुपर्छ भन्ने धारणा राख्ने गरेको बताउँछन्। “नेतृत्वको प्रतिरक्षा गरेर उहाँले लाभ पाइरहनुभएको छ,” उनी भन्छन्। चुनावी नतिजामा एमालेको पराजयपछि पनि थापा अध्यक्ष ओलीको प्रतिरक्षामा उभिएका छन्। चुनावी परिणाम प्रतिकूल भएपछि रक्षात्मक बनेका ओलीका लागि पार्टीमा शक्ति कायम राख्ने सबैभन्दा उपयुक्त पात्रका रूपमा थापा देखिएका छन्। जसका कारण थापाले कार्यवाहक अध्यक्ष पाएको ती एमाले नेता बताउँछन्। भन्छन्, “एमालेका अन्य नेताहरूको पार्टीको तल्लो कमिटीसम्म प्रभाव छ, तर बादलको छैन। यही कारण उनलाई कार्यवाहक दिँदा अध्यक्षले सुरक्षित ठानेको हुनुपर्छ।”