राजनीति
सोमबारसम्म कांग्रेस संसदीय दलको नेता चयन हुने सम्भावना
प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न गरेको ढिलाइले संवैधानिक परिषद्ले पूर्णता पाउन सकेको छैन। संसदीय दलको नेतामा आकांक्षीहरूको व्यवस्थापन गर्न नसकेपछि संसदीय दलको नेता छान्न ढिलाइ भएको हो। ६ सदस्यीय संवैधानिक परिषद्को एउटा सदस्यमा प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी दलको नेता सदस्य रहने संवैधानिक व्यवस्था छ।
२७५ सदस्यीय प्रतिनिधिसभामा २१ फागुनको चुनावपछि कांग्रेस ३८ स्थानसहित प्रमुख प्रतिपक्षी दल बनेको छ। शुक्रबारको प्रतिनिधिसभा बैठकले श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमार ठाकुरलाई उपसभामुखमा निर्वाचित गरेको छ। ठाकुरलाई उपसभामुखमा रास्वपाको समर्थन छ। राप्रपाले पनि उपसभामुखमा सरस्वती लामालाई उपसभामुखको उम्मेदवार बनाएको थियो।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ। तस्बिर : नेपाल फोटो लाइब्रेरी
सभामुख-उपसभामुख चयन मात्र होइन, प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै दलले नेता चयन गरिसक्दा पनि मुख्य विपक्षी कांग्रेस भने दलको नेता छान्न अनपेक्षित अलमलमा परेको छ। कांग्रेस पार्टीभित्रबाट पनि तत्कालै संसदीय दलको नेता छान्न दबाब परेको छ।
कांग्रेस महामन्त्री गुरुराज घिमिरे संसदीय दलको नेता छान्न आन्तरिक तयारी भइरहेको बताउँछन्। सुरुमा प्रतिनिधिसभाका जेष्ठ सदस्य अर्जुननरसिंह केसीले पनि संसदीय दल हुने इच्छा देखाएका कारण केही समय रोकिएको घिमिरेको कथन छ।
“अर्जुन दाइ ज्येष्ठ सदस्य हैसियतले सुरुमा सभामुखको भूमिका हुनुहुन्थ्यो। उहाँले पनि चुनाव लड्ने भनेपछि सुरुमा रोकिएको थियो। सभामुख भएको समयमा संसदीय दलको नेता लड्ने कुरा भएन। पछिल्लो समयमा अरू काम पनि भएकाले संसदीय दलको नेता चयनमा ढिलाइ भएको हो,” महामन्त्री घिमिरे भन्छन्, “संसदीय दलको नेता छान्नका लागि निर्वाचन समिति गठन गरिसकेका छौँ। समिति परामर्शमा छ र सोमबार छानिने सम्भावना छ।” कांग्रेस सभापति गगनकुमार थापाले गठन गरेको संसदीय दलको नेता चयनसम्बन्धी निर्वाचन समितिमा पार्टीका सहमहामन्त्री प्रकाश रसाइली, मुना भुसाल र राजु कटुवाल छन्।

प्रधानमन्त्री वालेन्द्र शाह। तस्बिर : नेपाल फोटो लाइब्रेरी
२१ फागुनको आमचुनावमा कांग्रेसका अधिकांश पाका नेता पराजित भएपछि कांग्रेसमा तीन जना नेताले संसदीय दलको नेतामा दाबी गरेका छन्। केसीबाहेक पूर्वसहमहामन्त्री भीष्मराज आङ्देम्बे र रसुवाबाट निर्वाचित सांसद मोहनप्रसाद आचार्य दलको नेताका आकांक्षी छन्। कांग्रेस नेता केसीले प्रतिनिधिसभामा सबैभन्दा वरिष्ठ नेता आफू भएकाले संसदीय दलको नेता पाउनुपर्ने दाबी गरेका छन्। सभापति गगनकुमार थापा भने केसीलाई दलको नेता नदिने पक्षमा छन्। केसी र थापा ज्वाइँ-ससुरा हुन्। सभापति थापानिकट नेताले पनि केसीलाई दलको नेता नबनाउन उनलाई सुझाव दिएका छन्। उनीहरूले केसी संसदीय दलको नेता हुन योग्य भए पनि आलोचना हुने जोखिम रहेको भन्दै अरूलाई नै दलको नेता बनाउन सभापति थापालाई सुझाव दिएका छन्। कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले २७ चैतमा पोखरामा कांग्रेसको प्रदेश समीक्षा बैठकमा केसीलाई संसदीय दलको नेताको साटो राजनेता बन्न सुझाव दिए। शर्माको कथन थियो, ‘उहाँले कांग्रेस संसदीय दलको नेता स्वयं बन्न चाहँदा हामीले हुन्न भन्न अप्ठ्यारो हुन्छ। त्यसैले हाम्रो अपेक्षा नेताको पदबाट राजनेता बन्ने मार्ग उहाँले अपनाउनु समयानुकूल हुन्छ।’

नेपाली कांग्रेसको केन्द्रित कार्य सम्पादन समितिको बैठक। तस्बिर : नेपाल फोटो लाइब्रेरी
७३ वर्षीय केसी प्रतिनिधिसभाका सबैभन्दा ज्येष्ठ सदस्य हुन्। प्रतिनिधिसभाको सभामुख चयन नहुन्जेल उनी कामचलाउ सभामुख भएका थिए। केसी कांग्रेसका पूर्वसहमहामन्त्री तथा पूर्वप्रवक्ता पनि हुन्। उनी अहिलेसम्म पाँचौँ पटक सांसद भएका छन्। यसपटकको चुनावमा उनी समानुपातिकबाट सांसद चुनिएका हुन्। कांग्रेस संसदीय दलको नेतामा दाबी गर्दै आएका अर्का कांग्रेस नेता भीष्मराज आङ्देम्बे कांग्रेसका पूर्वसहमहामन्त्री हुन्। उनी पूर्वसभापति शेरबहादुर देउवानिकट मानिन्छन्। आङ्देम्बे पनि समानुपातिकबाटै सांसद छानिएका हुन्। प्रतिनिधिसभाको पहिलो बैठकमा आङ्देम्बेले कांग्रेसको तर्फबाट सम्बोधन गरेका थिए।

नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’। तस्बिर : नेपाल फोटो लाइब्रेरी
रसुवाबाट प्रत्यक्ष चुनाव जितेका सांसद आचार्य कांग्रेसका केन्द्रीय सदस्य हुन्। निर्माण व्यवसायीसमेत रहेका आचार्य प्रतिनिधिसभामा तेस्रो पटक निर्वाचित भएका हुन्। २०७४ सालमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को चुनावी गठनबन्धन हुँदा पनि आचार्य रसुवाबाट विजयी भएका थिए। यसपटक बागमती प्रदेशमा कांग्रेसबाट प्रत्यक्ष निर्वाचित हुने आचार्य एक्ला सांसद हुन्। “कांग्रेसमा प्रत्यक्षबाट निर्वाचित व्यक्ति र युवालाई संसदीय दलको नेता बनाउनुपर्छ भन्ने दबाब पार्टीभित्र छ,” कांग्रेसका युवा नेता शंकर तिवारी भन्छन्।

नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’। तस्बिर : बिक्रम राई
२०७९ सालको प्रतिनिधिसभा निर्वाचन ८९ स्थानसहित पहिलो स्थानमा रहेको कांग्रेस यसपटक ३८ स्थानमा खुम्चिएको छ। सो दलको समानुपातिकतर्फको मतमा पनि ठूलो गिरावट देखिएको छ।
कांग्रेसबाहेक प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै दलले दलको नेता चयन गरिसकेका छन्। रास्वपाले संसदीय दलको नेतामा पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहलाई चयन गरेको छ। त्यस्तै, नेकपा (एमाले)ले उपाध्यक्ष रामबहादुर थापा, नेपाली कम्युनिस्ट पार्टीले संयोजक पुष्पकमल दाहाल प्रचण्ड, श्रम संस्कृति पार्टीले अध्यक्ष हर्कराज राई र राप्रपाले कार्यसम्पादन समिति सदस्य ज्ञानेन्द्र शाहीलाई संसदीय दलको नेता चयन गरेका छन्।

राप्रपाका प्रवक्त्ता ज्ञानेन्द्र शाही।
अरू सबै दलले नेता छानिसक्दा पनि कांग्रेसले संसदीय दलको नेता चयनमा गरेको अस्वाभाविक ढिलाइका कारण संवैधानिक परिषद्ले पूर्णता पाउन सकेको छैन। संवैधानिक परिषद्मा प्रधानमन्त्री अध्यक्ष, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधिसभाका उपसभामुख र प्रमुख प्रतिपक्षी दलको नेता सदस्य रहने संवैधानिक व्यवस्था छ। संवैधानिक परिषद् र संसदीय सुनुवाइ समितिले पूर्णता नपाएको कारण सर्वोच्च अदालतसमेत कार्यवाहक प्रधानन्यायाधीशबाट चलेको छ। १८ चैतमा उमेर हदका कारण प्रकाशमानसिंह राउत प्रधानन्यायाधीशबाट सेवानिवृत्त भए। त्यसपछि न्यायाधीश सपना मल्ल प्रधान कार्यवाहक प्रधानन्यायाधीश बनेकी छिन्। संवैधानिक परिषद्ले प्रधानन्यायाधीश र अन्य संवैधानिक नियुक्तिका लागि सिफारिस गरेको व्यक्तिको अनुमोदनका लागि संसदीय सुनुवाइ समितिमा पठाइन्छ। संसदीय अनुमोदनपछि राष्ट्रपतिले सिफारिस गरिएका व्यक्तिलाई नियुक्त गर्छन्।