काठमाडौँ
००:००:००
५ असार २०८३, शुक्रबार

खेल

आर्थिक रूपमा टिक्न कठिन र युवाहरू वैदेशिक रोजगारीमा जाँदा मधेसमा मरणासन्न पहलवानी खेल

२ बैशाख २०८३
अ+
अ-

जनकपुरधाम। महोत्तरीको भँगहा नगरपालिका-८ अन्हारवनका ५० वर्षीय श्याम यादवको स्मृतिमा डेढ-दुई दशकअघिका ती दिन ताजै छन्। जतिबेला उनको समय घरमा कम र कुस्तीको अखडामा बढी बित्थ्यो। उनी थिए, त्यसबेलाका व्यस्त पहलवान। अखडामा आफूभन्दा बलिष्ठ ज्यानका पहलवानलाई समेत उनी पछार्थे। सम्झन्छन्, “त्यसबेलाको पहलवानीको मजा नै बेग्लै थियो। जबसम्म एउटा पहलवानले अर्कोलाई थकाउँदैनथ्यो, तबसम्म घन्टौँ लछारपछार चलिराख्थ्यो।”

अनेक छल र दाउपेचले पहलवानले अर्कोलाई धुलाम्मे अखडामा ड्याम्म पछार्थ्यो। वरिपरि झुम्मिएका दर्शक उल्लसित मुद्रामा ताली पिट्दै अखडा नै उचाल्ने गरी हुटिङ गर्थे।

मेला-महोत्सवमा पहलवानी कला देखाउनेदेखि ‘दंगल’ मा भिडेर इनाम जित्नेसम्ममा कुस्तीबाज व्यस्त हुन्थे। त्यसबखत पहलवानी खेल्न सिरहा, सप्तरी, धनुषा, महोत्तरीदेखि पर्सासम्मको मेलामा पुगेको उनको सम्झनामा छ। उनी कुस्ती लड्नकै लागि भारतको दिल्ली र मद्रास (हालको नाम चेन्नई) सम्म गएका थिए। “सिरहामा लाग्ने सहलेस मेलाको आर्कषण नै कुस्ती हुन्थ्यो,” यादव भन्छन्, “एउटा गाउँमा कुस्ती-पहलवानी आयोजना गरियो भने १० किलोमिटर परसम्मका बस्तीबाट दर्शक आउँथे। जित्ने पहलवानको चर्चा त्यो एरियाभरि हुन्थ्यो।” प्रतियोगितामा जाँदा तीन-चार हजारसम्म दर्शक हुन्थे।

कुस्तीबाट गाउँसमाजमा सम्मान र पहिचान मिल्ने, आम्दानी पनि हुने भएकाले युवाहरू पहलवानी खेलमा आकर्षित थिए। गाउँका जमिनदारहरूले आफ्नो सुरक्षाका लागि पैसा दिएर पहलवानहरू राख्ने भएकाले यसप्रतिको आकर्षण थपिएको थियो। अर्कातिर, जनसाधारणका लागि कुस्ती मनोरञ्जनको माध्यम थियो। जसका कारण पहलवानी कला मधेसको पहिचान र संस्कृति नै बनेको थियो।

तर, यादवले देख्दादेख्दै मधेसका जिल्लामा कुस्ती खेल्नेहरू घट्दै गए, फलस्वरूप पहलवानी संस्कृति हराउँदै गयो। पहलवानीमा लागेकालाई पहिलेको तुलनामा सम्मान नभएको र आर्थिक रूपमा टिक्ने अवस्था नभएको कारण यो खेल मधेसमा खिइँदै गएको उनको बुझाइ छ। “पोसिला खुराक टन्न खानुपर्ने भएकाले अन्य खेलको तुलनामा यो धेरै खर्चालु छ। तर, प्रतियोगिताबाट मात्रै आर्थिक उपार्जन हुने अवस्था छैन,” उनी भन्छन्, “आर्थिक रूपमा टिक्न गाहो भएकाले यसमा कोही पनि आउन चाहँदैन।”

उनका अनुसार पहिले सस्तो जमाना र अधिकांश व्यक्ति कृषिमा आधारित हुँदा धेरै कुरा किन्नुनपर्ने भएकाले पहलवानी गरेर टिक्न कठिन थिएन।

यादव अखडामा चम्किएको समयमा महोत्तरीको भँगहा, धनुषाको सपही र सिरहामा नाम कहलिएका पहलवानहरू थिए। तर, पुरानाहरूको मृत्यु हुँदै गयो, नयाँहरू आउन सकेनन्। अहिले मधेसका जिल्लामा करिब ५० जना पहलवान रहेको उनको अनुमान छ। उनी अखडामा नगएको १५ वर्ष भयो। कोही खेल्न आएमा भने सिकाउने गरेका छन्।

पहलवानको घट्दो संख्यासँगै खेलको बदलिएको नियमका कारण पनि यसको रौनक हराउँदै गएको उनको भनाइ छ। “पहिले पहलवानहरू नथाक्दासम्म खेल चल्थ्यो, अहिले यसलाई नियमले बाँधेर तीनदेखि पाँच मिनेटसम्ममा झारिएको छ। यसमा न दर्शकलाई मजा आउँछ, न त पहलवानलाई,” उनी भन्छन्। यसकै कारण दर्शक घटेको र नयाँ खेलाडी नजन्मिएको उनी बताउँछन्।

पुरुषार्थको प्रतीकदेखि लोपोन्मुख खेलसम्म

जनकपुरधामदेखि करिब पाँच किलोमिटरको दूरीमा रहेको सपही गाउँ पूर्वराष्ट्रपति रामवरण यादव जन्मे-हुर्केको थलो हो। २० वर्षअघिसम्म यो गाउँ पहलवानीका लागि प्रख्यात थियो। हरेकजसो घरमा एक पहलवान हुन्थे। तर, त्यसबेलाका पहलवानहरू बूढो हुँदै गए, युवाहरू बिदेसिए। अहिले यस गाउँमा पहलवान खोज्दा समेत भेट्न मुस्किल छ। सपहीसहित पहलवानीका लागि प्रख्यात मधेसका हरेक गाउँको यही अवस्था छ।

मधेसमा पहलवानी पुरुषार्थ र अनुशासनको प्रतीक रहँदै आएको छ। आत्मरक्षाका लागि पहलवानी विद्या सिक्ने र बलिष्ठ ज्यान बनाउनेहरू धेरै हुन्थे। अर्कातिर, गाउँका जमिनदारहरूले आफ्नो र अन्नबालीको सुरक्षाका लागि पहलवानहरूलाई संरक्षण गर्थे। किनभने, विगतमा मधेसमा चोरीडकैती हुने र अन्नबालीहरू लुट्ने जस्ता घटना अत्यधिक हुन्थे। त्यस्ता कार्य रोक्न पहलवानहरू खटाइन्थे। तर, जमिनदार हराउँदै जाँदा पहलवानसमेत हराउन थाले।

मधेसमा कृष्ण जन्माष्टमीको मेला र महावीर झन्डा मेलामा पहलवानी कला मुख्य आकर्षण बन्थ्यो। तर, पहलवानी संस्कृति मासिँदै जाँदा अचेल मधेसका यस्ता मेलामा त्यो कला देख्न पाइँदैन। जनकपुरधाम उपमहानगरपालिका-४ का विजय चौधरी पहलवानको संख्या पातलिँदै जाँदा मेलामा उनीहरूलाई देख्न छाडिएको बताउँछन्। अर्कातिर, पहिले मनोरञ्जनको सीमित विकल्प भएको समयमा पहलवानी रमाइलोको माध्यम रहेको र अहिले सूचना-प्रविधिका साधनका कारण मानिसहरूमा समेत रुचि नभएको उनको भनाइ छ।

पूर्वराष्ट्रपति यादव मधेसको संस्कृति पहलवानी हराउँदै जाँदा चिन्ता प्रकट गर्छन्। “पहिला मधेसका गाउँ नै पिच्छे अखडा हुन्थ्यो, जहाँ बिहान-बेलुका पहलवानी हुन्थ्यो। पहलवानी खेल मात्रै होइन, मधेसको संस्कृति नै हो,” उनी भन्छन्।

महोत्तरीको भंगहा नगरपालिका-८ का ३५ वर्षीय रामचन्द्र यादव उक्त क्षेत्रका चर्चित पहलवान हुन्। आफ्ना बाजे र बुवाको पहलवानी बिरासतलाई निरन्तरता दिँदै उनी यस पेसामा लागेका छन्। बिहान ४ बजे नै उठ्ने उनी करिब पाँच किलोमिटर दौडिन्छन्, त्यसपछि अखडामा अभ्यास गर्छन् र घर गएर नास्ता गर्छन्। बिहान र बेलुका गरी करिब चार लिटर दूध, १०० ग्राम घिउ र चना खाने गरेको उनी बताउँछन्। भन्छन्, “पहलवानी गर्नेले खानपानमा ध्यान दिनुपर्छ। खानपान राम्रो भए मात्रै यसमा टिक्न सकिन्छ।”

उनले विभिन्न गाउँमा आयोजना हुने मेला र महोत्सवमा पहलवानीमा भाग लिने गरेका छन्। जसमा केही प्रतियोगितामा जितेको पनि उनी सुनाउँछन्। मधेसमा पहलवानी सुस्ताउँदै जानुमा उनले केही कारण देखेका छन्। भन्छन्, “युवाहरू विदेश जान थाले, यहाँ बाँकी रहेका युवा कुलतमा फस्न थाले, अनि कसरी हुन्छ पहलवानीको विकास?”

धनुषाको शहिदनगर नगरपालिका-१ बालाबाखरका ४५ वर्षीय जिवछ यादवले गाउँका करिब १० युवाको समूह बनाएर पहलवानी खेल्ने गरेका छन्। विभिन्न गाउँमा आयोजना गरिने झन्डा मेलामा पुगेर पहलवानी खेल देखाउने गरेका छन्। गाउँका युवाहरूलाई सिकाउँदै आफूले समेत पहलवानी गर्दै आए पनि आर्थिक हिसाबले यसमा टिक्न गाह्रो रहेको उनको अनुभव छ। “हामीलाई दैनिक दूध, घिउ चाहिन्छ, जुन अहिलेको महँगीमा किनेर धान्न मुस्किल पर्छ। त्यसैले यसलाई पेसाका रूपमा टिकाउन गाहो छ।”

उनले देशका विभिन्न जिल्लाका साथै भारतको दिल्ली, वाराणसीसम्म पुगेर कुस्ती खेलेका छन्।

जिवछका अनुसार पहिलेका युवाहरू बिहान ४ बजे उठेर अखडामा खन्न पुग्थे। तर, अहिले मधेसका गाउँका हट्टाकट्टा युवाहरूको हातमा मुग्दर (पहलवानले अभ्यासका लागि निर्माण गरिएको एक खालको काठको समान) होइन, विदेश जाने राहदानी छ, जसको शरीरमा १० जनालाई पछार्ने तागत थियो, अहिले उनीहरू कतारको गर्मीमा लेबरको काम गर्न बाध्य छन्। उनी भन्छन्, “मधेसको गाउँबाट पहलवानी हराउनु भनेको एउटा खेल मात्र हराउनु होइन, बरु जीवन्त इतिहास र पहिचान मेटिनु हो। स्थानीय सरकारले यसका लागि आफ्नो अवधारणामा ल्याउन जरुरी छ।”

पर्साको बिन्दबासिनी गाउँपालिका-५ का ३५ वर्षीय फजिल राउत गद्दी डेढ दशकदेखि कुस्तीमा सक्रिय रहँदै आएका छन्। १५ वर्षको पहलवानी जीवनमा उनले छैटौँ, सातौँ, आठौँ, नवौँ राष्ट्रिय कुस्ती प्रतियोगिता खेलिसकेका छन् भने भारतमा समेत खेलेर जितेको अनुभव बटुलेका छन्। यतिका समयदेखि यस खेलमा लाग्ने ऊर्जा उनले आफूमा कसरी भरिरहेका छन्? उनी भन्छन्, “बिहान उठ्दा घरको भित्तामा झुन्डिएको मेडल, तक्मा र प्रशंसापत्रमा आँखा जान्छ। त्यसैबाट हौसिन्छु र अखडामा गएर अभ्यासमा जुट्छु।”

शहिदनगर नगरपालिका-१ बालाबाखरकै ४४ वर्षीय जीवनाथकुमार यादवले पनि पहलवानी गर्दै आएका छन्। पहलवानीप्रति पहिलेको तुलनामा आकर्षण घट्नुमा आम्दानी नहुनु र यो खेल खर्चिलो हुनु कारण रहेको उनको अनुभव छ। उनका अनुसार एक जना पहलवानलाई दैनिक एकदेखि दुई लिटरसम्म दुध, आधा किलो घिउ र बदाम चाहिन्छ। पहलवानी धेरैजसो मध्यम वर्गका मानिसले गर्ने र उक्त खर्च धान्न कठिन पर्ने भएकाले अखडा रित्तिने अवस्था देखिएको हो। “स्थानीय स्तरबाट सहयोग र राज्यका निकायहरूले यसलाई प्रवर्द्धन गर्ने नीति नल्याएसम्म पहलवानी खेलको संरक्षण हुन सक्दैन,” उनी भन्छन्।

स्थानीय र प्रदेश सरकारको बेवास्ता

स्थानीय र प्रदेश सरकारले रैथाने खेललाई प्रवर्द्धन गर्ने बताउँदै आएका छन्। तर, व्यवहारमा मधेसको पहिचान र संस्कृतिसँग जोडिएको पहलवानी वा कुस्ती खेल मर्दै छ। सरकारले क्रिकेट, फुटबल, हकी जस्ता खेलमा लगानी र तिनका खेलाडीलाई सरसहयोग गरिरहँदा रैथाने खेलहरूको प्रवर्द्धनमा ध्यान नदिएको कुस्ती खेलाडीहरू बताउँछन्।

पहलवान जिवछ भन्छन्, “हामी कतै खेल्न जाँदा गाउँपालिका र प्रदेशको नाम नै उजागर हुने हो, तर स्थानीय र प्रदेश सरकारबाट हामीले सहयोग पाउने गरेका छैनौँ।” कहिलेकाहीँ खेल्न बाहिर जाँदा स्थानीय सरकारले भने कपडाको व्यवस्था गर्ने गरेको उनी सुनाउँछन्।

अहिले स्थानीय तहले सबैभन्दा बढी क्रिकेटमा लगानी गरेको देखिन्छ। जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह किक्रेटका लागि सहयोग माग्नेहरू आउने गरे पनि रैथाने खेलका खेलाडीहरू नआएका कारण सहयोग नगरेको बताउँछन्। भन्छन्, “हामी सबै खेलको प्रवर्द्धन होस् भन्ने चाहन्छौँ।”

मधेस प्रदेशका खेलकुद तथा समाज कल्याणमन्त्री वसन्तकुमार कुशवाहा मधेसको रैथाने खेललाई प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको बताउँछन्।