नेवा: संस्कार
१०५ वर्ष ५ महिना ५ दिन पुगेपछि गरिने पाँचौँ जंकुलाई भनिन्छ ‘महादिव्यरथारोहण’
ललितपुर। ललितपुर महानगरपालिका १७, हकटोलकी मनमाया महर्जनको दुर्लभ पाँचौँ ‘महादिव्यरथारोहण’ भएको छ।
हकत्वा: मंका: खल: र ज्यापू समाज यलले आयोजना गरेको कार्यक्रममा समाजका ४० सदस्य टोलको सहभागिता थियो। कार्यक्रममा सांस्कृतिक झाँकीसँगै नगर परिक्रमा गरिएको थियो। परिक्रमापश्चात पाटन दरबार स्क्वायरस्थित ऐतिहासिक काति दबु, मंगलबजारमा महर्जनलाई विराजमान गराई नागरिक अभिनन्दन गरिएको छ।
नेवार समुदायमा जीवनचक्रसँग सम्बन्धित जंकु संस्कारको विशेष महत्त्व छ।
परम्पराअनुसार ७७ वर्ष ७ महिना ७ दिनमा पहिलो जंकु ‘भीमरथारोहण’, ८३ वर्ष ४ महिना ४ दिनमा दोस्रो ‘चन्द्ररथारोहण’, ८८ वर्ष ८ महिना ८ दिनमा तेस्रो ‘देवरथारोहण’ तथा ९९ वर्ष ९ महिना ९ दिनमा चौथो ‘दिव्यरथारोहण’ गरिन्छ।
यी सबै चरण पार गरिसकेपछि १०५ वर्ष ५ महिना ५ दिन पुगेपछि गरिने पाँचौँ जंकुलाई ‘महादिव्यरथारोहण’ भनिन्छ, जुन अत्यन्तै दुर्लभ मानिन्छ। यो संस्कार सम्पन्न भइसकेपछि सम्बन्धित ज्येष्ठ नागरिकलाई देवी-देवतासरह सम्मान दिने चलन छ।
यस संस्कारले नेवार समुदायमा दीर्घायुको सम्मान गर्दै सांस्कृतिक निरन्तरता र सामाजिक एकताको सन्देश दिने विश्वास गरिन्छ।
हेर्नुहोस् थप तस्बिर :
