जनकपुर। विपक्षी दलहरूले बजेट संशोधनको माग गर्दै मधेस प्रदेश सभाको बैठक अवरुद्ध गरेका छन्।
बैठक सुरु हुनासाथ जसपा नेपालका सांसद उपेन्द्र महतोले सरकारले एक करोड रुपैयाँभन्दा तलको बजेट र योजना नल्याउने भन्दै सुशासनको कुरा गरे पनि बजेट अव्यवहारिक र अवैज्ञानिक रहेको बताए। उनले बजेट संशोधन हुनुपर्ने माग गरे।
उनले एउटा जिल्लाको बजेट अर्को जिल्लामा जोडेर एक करोड पुर्याइएको र यसले आउने दिनमा बजेट कार्यान्वयनमा समस्या आउने बताए। उनले बजेट सत्ताधारी दलकेन्द्रित रहेको भन्दै संशोधन नगरेसम्म बैठकमा अवरोध जारी रहने बताए।
विपक्षी दल जसपा‚ नेपाल राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीले प्रदेशसभामा उठेर विरोध जनाएका थिए। आजदेखि मधेस प्रदेश सभामा बैठक बजेटमाथिको छलफल सुरु भएको छ।