काठमाडौँ
००:००:००
५ असार २०८३, शुक्रबार

राजनीति

अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वबाट विस्थापन गर्न एमालेमा बढिरहेको मोर्चाबन्दी

७ बैशाख २०८३
एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल। तस्बिर : बिक्रम राई
अ+
अ-

२३ फागुन २०८२ मा आफ्नो निर्वाचन क्षेत्र रुपन्देही-२ को नतिजा सार्वजनिक हुनेबित्तिकै नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सामाजिक सञ्जाल फेसबुकमा ‘पार्टीको नीति, नेतृत्व, संगठन र कार्यशैलीलाई जनअपेक्षाअनुरूप पुनर्गठन गर्न अग्रसरता लिने’ लेखेका थिए। पौडेलले चुनावी परिणाम आएको करिब दुई महिनापछि नेतृत्व परिवर्तनका लागि अन्य नेताहरूसँग संवाद सुरु गरेका छन्। उनी परिस्थिति बुझेर अध्यक्ष केपी शर्मा ओली जिम्मेवारीबाट हट्न तयार नभए विधानको अन्य व्यवस्थाअनुसार हटाउने पक्षमा देखिएका छन्।

२१ फागुन २०८२ को प्रतिनिधिसभा चुनावमा पार्टीले पराजय बेहोर्दा पनि अध्यक्ष ओली नैतिकताका आधारमा नेतृत्व छाड्न तयार भएनन्। ओलीसहित पार्टीका सबै पदाधिकारी पराजित भएको चुनावमा एमालेले प्रत्यक्षमा नौ सिट मात्र जित्न सक्यो। जेन-जी आन्दोलनपछि सत्ताबाट अपदस्थ भएका र आन्दोलनमा राज्यबाट भएको मानवीय क्षतिका कारण आक्रोश र असन्तुष्टिको तारो बनेका ओलीले ११औँ महाधिवेशनबाट तेस्रो पटक अध्यक्ष पद सुरक्षित गरे पनि पार्टीभित्र असन्तुष्टि बढ्दै गएको थियो।

ओलीको अलोकप्रियताका कारण चुनावमा पार्टीले लज्जास्पद पराजय भोग्नुपरेको बुझाइपछि नेतृत्वमा ओली रहिरहे पार्टी विसर्जनमा जाने भन्दै नेताहरू नेतृत्व परिवर्तनको पक्षमा देखिएका छन्।

लामो समयदेखि साथ दिँदै आएका नेताहरू नै चुनावपछि अब ओलीबाट पार्टी चल्न सक्दैन भन्ने निष्कर्षमा पुगेका छन्।

यस क्रममा ओलीकै विश्वासपात्रहरूसमेत उनलाई हटाएर पार्टी पुनर्गठनको प्रयासमा लागेका छन्। जसमा ओलीलाई विशेष अवस्थामा सधैँ साथ दिँदै आएका उपाध्यक्ष पौडेल र ओलीका छाया जस्तै रहेका महासचिव शंकर पोखरेलसम्म छन्।

पौडेलसँग संवादमा रहेका एक पदाधिकारी चुनावी परिणाम आउँदाआउँदै नीति र नेतृत्वको पुनर्गठनमा अघि बढ्ने बताएका पौडेलले अब अग्रसरता लिएको बताउँछन्। उनी भन्छन्, “अध्यक्ष पहिले हिरासत र त्यसपछि अस्पतालमा रहनुभएकाले पार्टी पुनर्गठनको कुरा धेरै उठेन, अब जोडसँग उठ्छ।”

ती पदाधिकारीका अनुसार लामो समयदेखि साथ दिँदै आएका नेताहरू नै चुनावपछि अब ओलीबाट पार्टी चल्न सक्दैन भन्ने निष्कर्षमा पुगेका छन्। जसमा महासचिव पोखरेलसमेत छन्। तर, पोखरेलले ओलीलाई परिस्थितिको बारेमा सम्झाएर छाड्न लगाउन सकिने बताउने गरेको उनी निकटका नेताहरू बताउँछन्। “जबर्जस्ती हटाउन खोज्दा पार्टी एउटै नरहन सक्ने धारणा राख्दै आएका छन्,” ती नेता भन्छन्।

ओलीले चुनावी परिणाम निराशाजनक आउनुमा आफ्नो भूमिका नरहेको भन्दै विदेशी षड्यन्त्र र ‘अल्गोरिदम’ लाई दोष देखाउने गरेका छन्।

ओलीलाई साथ दिँदै आएका उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङ भने ‘पर्ख र हेर’ को अवस्थामा छन्।

एमालेका पोलिटब्युरो सदस्य खिमलाल भट्टराई पार्टीलाई अगाडि बढाउन नीति र नेतृत्वमा पुनर्गठन नगरी नहुने बताउँछन्। “हामीले सबै निर्णय र घटनाक्रमको समीक्षा गर्नुपर्‍यो। नीतिमा कहाँ त्रुटि रह्यो, संगठन र नेतृत्वमा कहाँ कमजोरी रह्यो खोजिनुपर्छ,” भट्टराई भन्छन्, “पार्टी परिचालन गर्न नीति र नेतृत्वको पुनर्गठन नगरी सुख छैन, त्यसका लागि नेताहरू छलफलमा हुनुहुन्छ।” भट्टराई उपाध्यक्ष पौडेलनिकट नेता मानिन्छन्।

जेन-जी आन्दोलनमा दमन गरेको आरोपमा अनुसन्धानका लागि ओलीलाई १४ चैत २०८२ मा पक्राउ गरिएको थियो। हिरासतमा रहँदा पनि स्वास्थ्यका कारण उनलाई अस्पतालमै राखिएको थियो। १३ दिनपछि २६ चैतमा हाजिरी जमानीमा रिहा भएका ओलीलाई शिक्षण अस्पताल महाराजगन्जमा राखिएको थियो। त्यहीँ उनको पित्तथैलीमा रहेको पत्थरीको शल्यक्रिया गरिएको थियो र ५ वैशाखमा अस्पतालबाट डिस्चार्ज भएका थिए।

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ५ वैशाखमा टिचिङ अस्पताल महाराजगन्जबाट डिस्चार्ज हुँदै। तस्बिर : एमाले पार्टी सचिवालय

अध्यक्ष ओलीसँग भेट्ने नेताहरू उनी अध्यक्ष छाड्न तयार नभएको बताउँछन्। “अध्यक्षको कुरा सुन्दा उहाँ नेतृत्व छाड्ने पक्षमा देखिनुभएको छैन,” एक पदाधिकारी भन्छन्।

ओलीलाई भेट्न गएका पोलिटब्युरो सदस्य विशाल भट्टराईले अध्यक्ष ओलीले ‘आफू पूर्णतः स्वस्थ भएपछि पार्टीका नियमित गतिविधिमा फर्कने र देशव्यापी रूपमा कार्यकर्ता र जनतामा आशा जगाउने कार्यक्रम ल्याएर अघि बढ्ने’ बताएको फेसबुकमा लेखेका छन्।

ओलीले चुनावी परिणाम निराशाजनक आउनुमा आफ्नो भूमिका नरहेको भन्दै विदेशी षड्यन्त्र र ‘अल्गोरिदम’ लाई दोष देखाउने गरेका छन्।

पछिल्लो समय एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच एकता गर्ने चर्चा चल्न थालेको छ। ओलीले आफूनिकटका नेताहरूमार्फत नेकपासँग एकता गर्न अनौपचारिक छलफल थालेका थिए। यसलाई एमालेभित्रका नेताहरूले ओलीले पार्टीभित्र आफ्नो संकट टार्न एकता प्रयास अगाडि बढाएको बताइरहेका छन्। पार्टीभित्र सल्लाह नै नभई बाहिर धेरै हल्ला मच्चाइएको उनीहरूको भनाइ छ।

ओली आफ्नो राजनीतिक अस्तित्व जोगाउन यस्तो रणनीतिमा लागिरहँदा नेताहरू भने पार्टी जोगाउन उनलाई बिदा गरेर संगठन सुधारमा लाग्नुपर्ने पक्षमा देखिएका छन्।

ओली आफ्नो राजनीतिक अस्तित्व जोगाउन यस्तो रणनीतिमा लागिरहँदा नेताहरू भने पार्टी जोगाउन उनलाई बिदा गरेर संगठन सुधारमा लाग्नुपर्ने पक्षमा देखिएका छन्।

एक सचिवालय सदस्य उपाध्यक्ष पौडेलले सचिवालयदेखि जिल्ला तहका नेताहरूसँग संवाद गरिरहेको बताउँछन्। भन्छन्, “पौडेलले ओलीबाट अब पार्टी चल्दैन भन्न थाल्नुभएको छ, तर विगतमा नेतृत्वप्रति औँला उठाउने तर आफूअनुकूल सम्झौता गर्ने प्रवृत्तिका कारण उहाँ आफ्नो अडानमा टिक्नुहुन्छ कि हुँदैन भन्नेमा प्रशस्त शंका छ।”

पौडेल पार्टीभित्रको शक्ति सन्तुलनलाई परख गर्न सक्ने नेताका रूपमा चिनिन्छन्। पछिल्लो समयमा उनी पार्टीको शक्तिशाली निकाय सचिवालयमै अध्यक्षको विपक्षमा बहुमत पुर्‍याउने प्रयासमा लागेका छन्। २०८२ को मंसिर अन्तिम साता भएको ११औँ महाधिवेशनबाट निर्वाचित १९ सदस्यीय सचिवालयमा ओलीइतरका दुई जना मात्रै नेता चुनिएका थिए, उपाध्यक्ष गोकर्ण विष्ट र उपमहासचिव योगेश भट्टराई।

यी दुई नेताले भदौको जेन-जी आन्दोलनलगत्तै ओलीबाट पार्टीको नेतृत्व हुन नसक्ने भन्दै पद छाड्नुपर्ने माग गरेका थिए। मंसिर २०८२ मा भएको ११औँ महाधिवेशनले ओलीलाई तेस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित गरेको थियो। ओली हट्नुपर्ने पक्षमा आवाज उठाएका अधिकांश नेता महाधिवेशनमा पराजित भएका थिए।

उपाध्यक्ष पौडेल र महासचिव पोखरेल दुवैले २०६५ सालमा भएको आठौँ महाधिवेशनदेखि नै ओलीलाई अध्यक्ष बनाउन सक्रिय भूमिका खेलेका थिए। त्यसबेला झलनाथ खनालसँग पराजित भएका ओली नवौँ महाधिवेशनबाट पहिलो पटक अध्यक्ष भएका हुन्।

उपचारपछि भक्तपुरको गुन्डुस्थित निवासमै आराम गरिरहेका ओलीले नेता-कार्यकर्तासँग भेटघाट तीव्र पारेका छन्। निर्वाचनमा भएको पराजयको एमालेले हालसम्म समीक्षा गरेको छैन। चुनावी हारबारे केन्द्रले समीक्षा नगरीकनै तल्लो तहबाट त्यससम्बन्धी राय मागिएको छ। विभिन्न जिल्ला कमिटीले आगामी दिनमा ओलीबाट पार्टीको नेतृत्व हुन नसक्ने राय दिएका छन्।

गत २१ चैतमा भएको युवा तथा विद्यार्थी विशेष जिल्ला कमिटीको बैठकले चुनावको समीक्षा गर्दै अहिलेकै नेतृत्वबाट पार्टी चल्न नसक्ने निष्कर्ष केन्द्रमा बुझाएको थियो। ‘अहिलेको पार्टी नेतृत्वले २३ र २४ भदौको घटनाको यथार्थपरक विश्लेषण गरी माफी माग्नुपर्ने अथवा आत्मालोचना गर्नुपर्छ,’ बैठकको निष्कर्षमा भनिएको छ, ‘यही नेतृत्वबाट पार्टी अघि बढ्न सक्दैन।’

युवा तथा विद्यार्थी नेताहरूले पार्टीको विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर अभियान चलाएका थिए। पार्टी नेतृत्वले हस्तक्षेप गरेर त्यो अभियान रोकेको थियो।