काठमाडौँ
००:००:००
१४ असार २०८३, आईतवार

७ बैशाख २०८३
अ+
अ-

काठमाडौँ। अभिनेत्री तथा निर्मात्री केकी अधिकारीले नयाँ चलचित्र ‘स्टेसन’को निर्माण औपचारिक रूपमा सुरु गरेकी छन्।

अक्षय तृतीयाको अवसर पारेर सोमबार ललितपुरस्थित बगलामुखी मन्दिर परिसरमा चलचित्रको शुभमुहूर्त गरिएको हो। मुहूर्त कार्यक्रममा चलचित्रका निर्देशक, निर्माता तथा प्राविधिक टोलीको उपस्थिति थियो।

अभिनेत्री अधिकारीले नयाँ वर्षको अवसर पारेर यो चलचित्र निर्माणको घोषणा गरेकी थिइन्। निर्माण घोषणासँगै सार्वजनिक गरिएको ‘थिम पोस्टर’ले चलचित्रको विषयवस्तुप्रति दर्शकमाझ कौतुहलता जगाएको छ। पोस्टरमा एउटा पुरानो काठको दराज र त्यहाँभित्र केही रहस्यमय सामग्री देखिन्छन्। यसले चलचित्र सोसल ड्रामामा आधारित रहने संकेत गरेको छ।

केकी अधिकारी फिल्मसको ब्यानरमा निर्माण हुने चलचित्रलाई सुलक्षण भारतीले निर्देशन गर्नेछन्। चलचित्रको कथा पनि स्वयं भारतीकै छ। चलचित्रका निर्माता बद्री अधिकारी हुन्।

चलचित्रको मुहूर्त गरिए पनि निर्माण पक्षले यसमा अभिनय गर्ने कलाकारबारे खुलासा गरेको छैन। तेस्रो सातादेखि छायाकंन सुरु गरिने तयारीमा रहेको यो चलचित्र आगामी १९ भदौदेखि देशभरका सिनेमाघरमा रिलिज हुने निर्माण पक्षले जानकारी दिएको छ।