काठमाडौँ
००:००:००
९ असार २०८३, मंगलवार

शब्द-चित्र

पछिल्ला वर्ष यात्रा सहज भएसँगै स्वदेशी पर्यटकको रोजाइमा घोडेपानी र पुनहिल

७ बैशाख २०८३
घोडेपानी र पुनहिल क्षेत्रमा ढकमक्क फुलेका लालीगुराँस हेर्न पुगेका आन्तरिक र बाह्य पर्यटक। तस्बिरहरू : रिना थापा
अ+
अ-

पोखरा। लालीगुराँस हेर्न घोडेपानी क्षेत्रमा १० हजारभन्दा बढी पर्यटक पुगेका छन्।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा पर्ने पर्यटकीय गन्तव्य घोडेपानी र पुनहिल क्षेत्रमा स्वदेशी/विदेशीसहित दुई महिनामा १० हजार ६६४ पर्यटक पुगेका हुन्।

घोडेपानीमा रहेको प्रहरी चेकपोस्टको तथ्यांकअनुसार गत फागुन र चैतमा ६ हजार ७४७ विदेशी पर्यटक पुगेका छन्। यी दुई महिनामा नेपाली पर्यटक पनि लालीगुराँस हेर्न पुगे। तथ्यांकअनुसार तीन हजार ९१७ स्वेदशी पर्यटक लालीगुराँस हेर्न घोडेपानी पुगे।

वसन्त सुरु भएपछि घोडेपानीको जंगलमा ढकमक्क फुलेको गुराँसले जंगललाई रातै बनाउँछ। गुराँसले ढाकेका डाँडा हेर्ने प्रत्येक वर्ष स्वदेशी तथा विदेशी पर्यटकको गन्तव्य बनिरहेको छ घोडेपानी। पछिल्ला वर्ष यात्रा सहज भएसँगै स्वदेशी पर्यटकको रोजाइमा घोडेपानी पनि पर्ने गरेको छ।

तथ्यांकअनुसार २०८२ सालमा मात्र चार हजार २६७ नेपाली पर्यटक घोडेपानी पुगेका छन्। यस्तै, २० हजार १५६ विदेशी पर्यटकको गन्तव्य घोडेपानी बनेको छ। गएको वर्ष (२०८२) भरि विदेशी र स्वदेशी २४ हजार ४२३ पर्यटक घोडेपानी क्षेत्र भ्रमणका लागि पुगे।

घोडेपानीसम्म सडकको सुविधा पुगेको छ। यसले यात्रा अवधि छोट्याएको छ। हिँड्न नरुचाउने पर्यटक पोखराबाट जिप यात्रामा सहजै घोडेपानी पुग्न सक्छन्। चारपाँच घण्टाको यात्रा गर्न रुचाउने पर्यटक आधा बाटोसम्म जिप र आधा बाटो गुराँसको जंगल छिचोल्दै घोडेपानी पुग्न सक्छन्। घोडेपानी हुँदै पुनहिल पुग्न सकिन्छ।

सूर्योदय हेर्ने घोडेपानीबाट दुई घण्टा उकालो लागेपछि पुनहिल पुगिन्छ जहाँबाट हिमालयको रमणीय दृश्य देखिन्छ।

कास्कीको नयाँपुलबाट घान्द्रुकको बाटो हिँड्दै पनि घोडेपानी पुग्न सकिन्छ। छोटो यात्रा तय गर्न स्वदेशी पर्यटक पोखराबाट जिपमा कास्कीको वनठाँटीसम्म यात्रा गर्छन्। त्यहाँबाट झन्डै पाँच घण्टाको पैदल यात्रापछि घोडेपानी पुगिन्छ। पहिलो दिनको यात्रामा घोडेपानी पुगेर दोस्रो दिन सहजै पोखरा फर्कन सकिन्छ।

घोडेपानीमा बस्नका लागि सुविधायुक्त होटेलहरू छन्। पर्यटकीय सिजनको समयमा भने होटेल पहिल्यै बुक गरेर जाँदा सहज हुन्छ। कतिपय पर्यटकले सिजनको समयमा कोठा नपाउने समस्या पनि हुन्छ। घोडेपानीबाट दुई घण्टा उकालो लागेपछि पुनहिल पुगिन्छ। यहाँबाट सूर्योदय र हिमालको रमणीय दृश्य देखिन्छ।

“यो वर्ष झरी-बादलले गर्दा हिमाल नदेखिने बेमौसमी हिउँ पर्‍यो। फूल मुर्झाउँदै गए‚ तीनचार दिनदेखि पर्यटक घटेका छन्‚” घोडेपानीमा सन्नी होटलका सञ्चालक तथा अन्नपूर्ण गाउँपालिका पूर्वअध्यक्ष डमबहादुर पुन भन्छन्‚ “अघिल्लो वर्षको तुलनामा यो वर्ष पर्यटक अलि बढी आए। यसपालि गुराँस पनि राम्रैसँग फुलेको थियो। मौसम अझै राम्रो भइदिएको भए वैशाखभरि लालीगुराँस हुन्थ्यो‚ पर्यटकको चहलपहल पनि हुन्थ्यो।”

फूल प्रशस्त फुलेका कारण आन्तरिक र बाह्य पर्यटकको आवागमन बढी भएसँगै पर्यटन व्यवसायीको आम्दानी पनि अघिल्लो वर्षको तुलनामा राम्रो भएको उनको भनाइ छ।

नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरिलगायत हिमालको आनन्द पुनहिलबाट लिन सकिन्छ। गुराँस हेर्ने उपयुक्त समय चैतको पहिलो सातादेखि सुरु हुन्छ। चैतको दोस्रो र तेस्रो साता घोडेपानीको डाँडा गुराँसले ढपक्कै ढाकेको हुन्छ। अन्तिम साता लाग्दै गर्दा भने गुराँस भुइँले छुन्छ।

घोडेपानी र पुनहिल क्षेत्रमा ढकमक्क फुलेका लालीगुराँसका तस्बिरहरू गत चैतको अन्तिम साता लिइएका हुन्।

हेरौँ थप तस्बिर

गुराँसलाई पृष्ठभूमि राखेर तस्बिर खिचाउन व्यस्त आन्तरिक पर्यटक।

पुनहिलबाट देखिएको सूर्योदयको दृश्य।

पुनहिलबाट देखिएको सूर्योदय हुँदै गर्दाको दृश्य।

पुनहिल क्षेत्रमा योग साधना गर्दै  पर्यटक।