असल अभ्यास
जमलमा रहेको देशकै पहिलो विद्यालयले शैक्षिक भौतिक पूर्वाधारदेखि प्रविधिमा मारेको फड्को
प्रवीण राईले कक्षा १ देखि १२ सम्मको पढाइ जमलस्थित नेपालकै जेठो विद्यालय दरबार हाई स्कुलबाट २०८० सालमा पूरा गरे। २१ वर्षीय राई अहिले सोही विद्यालयमा कर्मचारी छन्। “जुन विद्यालयमा पढेँ, त्यहीँ काम गर्न पाउँदा खुसी छु,” राई भन्छन्, “मेरो पालामा यस विद्यालयमा अहिले जस्तो प्रविधि थिएन। प्रविधिको प्रयोग गरी पढ्न पाएको भए आज म धेरै अगाडि बढिसकेको हुन्थेँ।”

२०७२ सालको भूकम्पअघिको दरबार हाई स्कुल। तस्बिर : क्रिश दुलाल
महिला प्रधानाध्यापकले हाँकेको यस विद्यालयले यतिबेला पूर्वाधारदेखि प्रविधिमा फड्को मारेको छ। भविष्यमा आफ्ना सन्तानलाई पनि यही विद्यालयमा पढाउने चाहना रहेको कर्मचारी राई बताउँछन्।

प्रवीण राई।
विद्यालयकी प्रधानाध्यापक शारदाकुमारी पौडेलका अनुसार विद्यालयले प्लेग्रुप (साहसिक कमिला), नर्सरी (व्यस्त मौरी), एलकेजी (क्रिएटिभ क्याटरपिलर) र युकेजी (डान्सिङ ड्रागनफ्लाई) जस्ता नयाँ कक्षा सञ्चालन गरिरहेको छ। “शिक्षणका लागि मन्टेसरी विधि र प्रत्येक कक्षामा दिगो विकास पाठ्यक्रम समावेश गरिएको छ,” २०७१ सालदेखि प्रधानाध्यापकको जिम्मेवारी सम्हालेकी पौडेल भन्छिन्, “विद्यालयले प्राविधिक शिक्षाका लागि रोबोटिक्स कक्षा पनि सञ्चालनमा ल्याएको छ। अतिरिक्त क्रियाकलापमा अझ बढी ध्यान केन्द्रित गरिने प्रधानाध्यापक पौडेलको भनाइ छ।

प्रधानाध्यापक शारदाकुमारी पौडेल।
कर्मचारी तथा पूर्वविद्यार्थी राईका अनुसार २०७२ सालमा यस विद्यालयमा ७४ विद्यार्थी मात्र थिए। यस्तै, २०७७ सालमा जम्मा विद्यार्थी ३०० पुगे भने अघिल्लो वर्ष (२०८२ साल) एक हजार १०० जति विद्यार्थी अध्ययनरत थिए।

नयाँ भर्ना खुलेसँगै आवेदन दिन आएका विद्यार्थी र अभिभावक।
२०७२ सालको भूकम्प र त्यसपछिको कोभिड-१९ महामारीबाट थलिएको विद्यालयलाई उकास्न आफूहरूले मिहिनेत गरेको प्रधानाध्यापक पौडेल बताउँछिन्। “२०४६ साल र २०६३ सालको आन्दोलनले विद्यार्थी कम हुन थाले। त्यसबेला राजनीतिक अस्थिरता र निजी विद्यालयको उदयको प्रत्यक्ष प्रभाव दरबार हाई स्कुलमा पनि पर्यो,” प्रधानाध्यापक पौडेल भन्छिन्, “अहिले विद्यालयले नै धान्न नसक्ने संख्यामा विद्यार्थी छन्।”

साइन्स ल्याबका सामग्री।
प्रधानाध्यापक पौडेलका अनुसार विद्यार्थी बढेपछि अहिले प्रत्येक कक्षामा १५० विद्यार्थी तोकिएको छ, तर दुई हजार जति विद्यार्थीले आवेदन दिने गरेका छन्।

रोबर्टिक ल्याब।
विद्यार्थी र विद्यालय सिकाइको गुणस्तर बढ्नुमा काठमाडौँ महानगरको समेत सहयोग रहेको उनी बताउँछिन्। उनका अनुसार अहिले हरेक विद्यार्थीलाई केही न केही तालिमको व्यवस्था गरिएको छ; हरेक कक्षामा प्रोजेक्टर जडान गरिएको छ। “कोरोनापछि पूरै प्रशासन फेरियो र त्यो बेला नयाँ अवधारणा ल्याएर आईसीटीमा आधारित टिचिङ लर्निङ प्राक्टिसको सुरुआत गरियो,” उनी भन्छिन्।

दरबार हाई स्कुल।
विद्यालयका कक्षाकोठा साना भएकै कारण विद्यार्थी संख्या तोकिएको विज्ञान शिक्षक विजयकुमार यादव बताउँछन्। यादवले यस विद्यालयमा २०५६ सालदेखि अध्यापन थालेका हुन्। उनी आएको साल विद्यालयमा ५०० को हाराहारीमा विद्यार्थी थिए। “त्यसपछि विद्यार्थी घट्ने क्रम सुरु भयो, किनभने त्यतिबेला अंग्रेजीमा पढ्ने-पढाउने ट्रेन्ड चल्यो,” उनी भन्छन्, “वरिपरिका अभिभावकले समेत सरकारी भनेर यस विद्यालयलाई विश्वास गर्न सकेनन्।”

पुस्तकालय।
यस विद्यालयको एउटै भवनमा दुई वटा विद्यालय (दरबार हाई स्कुल र संस्कृत माध्यमिक विद्यालय) सञ्चालनमा छन्। संस्कृत विद्यालयका लागि छुट्टै भवनको स्थापना गर्न सके धेरै विद्यार्थी भर्ना गर्न सकिने यादव बताउँछन्। “साइन्स ल्याब सानो छ। पालैपालो ल्याबको प्रयोग गर्दा एउटै कक्षाका विद्यार्थीले लामो समय लिन्छन्। अहिले एउटै कक्षामा तीन वटासम्म सेक्सन छुटयाइएको छ,” यादव भन्छन्, “अझ अर्को समस्या भनेको, यहाँ कुनै पनि सांस्कृतिक कार्यक्रम र अभिभावक भेला गर्न पर्याप्त ठाउँसमेत छैन।”

कक्षाकोठा।
१९१० सालमा स्थापित यो विद्यालय नेपालकै पहिलो औपचारिक विद्यालय हो। नेपालकै पहिलो अंग्रेजी भाषामा पढाइ हुने विद्यालयका रूपमा यसलाई अहिले थापाथली राष्ट्र बैंक रहेको दरबारमा स्थापना गरिएको थियो। सुरुआतमा शासक परिवारका सन्तानका लागि मात्र पढाइ हुने यस विद्यालयलाई १९४२ सालदेखि नागरिकका लागि पनि खुला गरियो। वीरशमशेरले १९४८ सालमा रानीपोखरीनजिकै भवन निर्माण गरेपछि दरबार हाई स्कुलले आफ्नै भवन पाएको थियो। १२ वैशाख २०७२ को शक्तिशाली भूकम्पले क्षतिग्रस्त भवनलाई चीन सरकारको सहयोगमा २०७६ सालमा पुनर्निर्माण सम्पन्न गरियो।

२०७२ सालको भूकम्पमा क्षतिग्रस्त दरबार हाई स्कुल। तस्बिर स्रोत : जनक भट्ट
यस विद्यालयमा २०७१ सालदेखि पढाउन थालेकी पौडेल २०७६ सालमा सहायक प्रधानाध्यापक नियुक्त भएकी थिइन्। देश कोरोना महामारीले थलिएका बेला (२०७८ साल) उनको काँधमा प्रधानाध्यापकको जिम्मेवारी आएको थियो। स्थापनाको १७३ वर्ष लामो इतिहासमा उनी यस विद्यालयको पहिलो महिला प्रधानाध्यापक हुन्। भूकम्पपछिको पुनर्निर्माण र आधुनिक शिक्षण विधिहरूको अवलम्बनले यस विद्यालयलाई नयाँ युगमा प्रवेश गराएको छ। “संस्कृत विद्यालयका विद्यार्थीका लागि छुट्टै भवन बनाउनुपर्नेछ,” प्रधानाध्यापक पौडेल भन्छिन्, “यो काम मेरो हातमा मात्रै छैन। स्थानीय सरकारले पहल गरिदिए यो योजना पनि पूरा हुने थियो।”
– अधिकारी र खनाल प्रशिक्षार्थी पत्रकार हुन्।