कविता
हैट !
तँ मुले मास्टर
मलाई चिनिस्
म सरकार
तँ दुई पैसे
नाथे जागिरदार
अनि मेरो कामदार
खोइ त मलाई नमस्कार?
म वेग हुँ सत्ताको
खोइ मलाई पत्याको
नायक हुँ देशको
माननीय भेषको
सम्राट म अभिमानको
स्वामी तेरै स्वाभिमानको
जनमत मेरै ढाल हो
तेरै कुर्सीको काल हो
अपमान मेरै बिल्लाको?
तँ रैती मेरै किल्लाको
घण्टी गर्जन नसुन्ने
तँ बहिरो होस् कि सुस्त छस्
मलाई ढोग्न बिर्सने
खाइस् कि त सोमरस
तँ मुले मास्टर
म तेरो सरकार
खोइ त मलाई नमस्कार?