प्रवास
आफ्नै देशको सरकारले रोजगारी दिन्छ भन्ने भारतका पुगेका नेपाली मजदुरहरूको आशा
नैनीताल। १० वैशाख २०८३। रातको ९ बज्नै लागेको थियो। नैनीताल बजार शान्त बन्दै थियो। तर, नेपालीकाे एक समूह सामान गोदाममा थन्क्याउन व्यस्त थियो। सामान ओसार्दै गरेका महाबै गाउँपालिका-१‚ कालीकोटका गंगाराम जैसीले सुनाए‚ “राति भएपछि सबै जना ओछ्यानतिर लाग्छन्। तर, हामीले यतिखेरै हाे काम पाउने। सकेर कोठामा फर्किनुपर्ला। काम पाए राति पनि गर्नुपर्छ, बिहान पनि गर्नुपर्छ। समयको ठेगान छैन।” उनका अनुसार यस क्षेत्रमा करिब सय नेपालीले मजदुरी गर्छन्।
नेपाली पहिचान ढाका टोपी लगाएका कालीकोटका ६५ वर्षीय कविराज विक पनि नैनीतालमै भारी बोक्छन्। “लेखपढ छैन। यो काम, त्यो काम भनेर छान्ने कुरा पनि भएन। जे काम आउँछ, त्यही गरिदिन्छु‚” विक सुनाउँछन्‚ “काम नगरे पैसा आउँदैन‚ जीवन फेरि पैसाले नै चल्छ।” उनी दैनिक एक हजारदेखि १५ सय रुपैयाँसम्म कमाउँछन्।
“सुरुआतमा भारी बोक्न गाह्रो हुन्छ। अहिले बानी परिसक्यो‚” विक भन्छन्। नैनीतालछेउको रंगशालामा बिहानीपख पनि नेपाली कामदारको समूह जम्मा हुन्छ। कामदार चाहिनेहरू पनि त्यहीँ पुग्छन्।

नैनीतालको चिया पसलमा थकाइ मार्दै नेपाली कामदार।
त्यसरी नै दैनिक कामकाे खाेजीमा बजार निस्किने अर्का नेपाली हुन्, कालीकोटका धनबहादुर रावत। १५ वर्षदेखि उनी नैनीतालमा यही दैनिकी पछ्याइरहेका छन्। उनी सामानहरू एक ठाउँबाट अर्को ठाउँमा पुर्याउने‚ सडक मर्मत गर्ने, ग्यास सिलिन्डर पुर्याउने जस्ता काम गर्छन्। “आफ्नै देशमा रोजगारी पाइएन। भारी बाेक्न पनि अर्काको देशमा आउनुपर्यो,” उनकाे गुनासाे थियाे।
अल्माेडामा पनि उत्तिकै नेपाली
भारतको उत्तराखण्डको सांस्कृतिक नगरीका रूपमा परिचित अल्मोडाको मल्ला महलको छेउमा गत बुधबार दिउँसो ४ बजेतिर धनबहादुर साहुको घरमा खाना पकाउने ग्यास पुर्याएर सुस्ताउँदै गरेको अवस्थामा भेटिए। त्यतिखेर उनले आफ्ना जीवनका पोयो खोले।
१६ वर्षकै उमेरमा पहिलाे पटक मजदुरी गर्न नैनीताल पुगेका सोरु गाउँपालिका-३, मुगुका धनबहादुर रोकाया अहिले ४५ वर्ष पुगे। बिहान ९ बजेपछि कामको खोजीमा निस्कन्छन्। तीन छोराछोरीसहितको उनको परिवार त्यही मजदुरीको आम्दानीमा आश्रित छ। गत वर्ष उनले छोरीको विवाह गरिदिए। अहिले छोरी बेल र ज्वाइँ धनजित रोकाया पनि उनीसँगै मजदुरी गर्छन्।
२५ सय भाडा तिरेर कोठामा बस्दै आएका उनीहरू बजार पुग्छन्। पसलहरूको सामान ओसार्नेदेखि निर्माणको कामसमेत गर्छन्। “कुनै दिन काम हुन्छ, कुनै दिन हुँदैन। भएको दिनमा त ठीकै हो, नभएको दिनमा जसरीतसरी जीवन चलाउँछौँ‚” धनबहादुर भन्छन्।

अल्मोडामा सामान ओसार्दै मुगुका धनबहादुर रोकाया।
धनबहादुर २१ फागुन २०८२ को निर्वाचनमा मतदानका लागि मुगु पुगेर फर्किए। यसअघि पनि पटक पटक मतदानमा सरिक भएका उनी यसपटक भने आशा पलाएकाे बताउँछन्। उनी भन्छन्, “नयाँ सरकार बनेको छ‚ सायद हाम्रो अवस्थामा सुधार आउँछ कि!”
नयाँ सरकारले अर्काको देशमा बस्दाको पीडा बुझ्ला कि भन्ने उनकाे आशा छ। “यहाँ बस्दाकाे पीडा र दु:ख निकै छ। काम नगरे बालबच्चा र जहानलाई के खुवाउने? कसरी पाल्ने? नयाँ सरकारले याे पीडा बुझिदेओस्,” उनी भन्छन्।
अल्माेडामा काम गर्ने नेपाली मजदुरले सिमेन्ट, छडलगायत निर्माण सामग्री, ग्यास, अन्य घरायसी सामान ढुवानी गरेबापत दूरीका र तौलका आधारमा ज्याला पाउँछन्। त्यस्तै, सडक निर्माण र होटेलमा कामदारका रूपमा पनि नेपालीहरू कार्यरत छन्।
कुमाउको नेपाल ‘कनेक्सन’
नैनीताल र अल्माेडासमेत समेटिएकाे कुमाउ क्षेत्रमा कुनै समय गाेर्खाली शाहवंशको शासन चल्ने गरेको थियो। जहाँकाे मल्ला महल गोर्खा राज्यको प्रशासनिक भवन थियो। सन् १७९० मा नेपालका चौतरिया हस्तीदल शाह‚ अमरसिंह थापा, जगजित पाण्डेलगायतकाे नेतृत्वमा गोर्खाली फौजले कुमाउमाथि विजय प्राप्त गरेपछि यहाँ नेपालीहरू स्थायी रूपमा बस्न सुरु गरेका हुन्।
अल्मोडाको इतिहास २३६ वर्ष पुरानो रहेको इतिहासकार अजयकुमारसिंह रावतले आफ्नो पुस्तक उत्तराखण्डका समग्र राजनीतिक इतिहासमा उल्लेख गरेका छन्। चन्द्र राजाहरूले आफ्नो राजधानी चम्पावतबाट सारेर अल्मोडामा ल्याएका थिए। महेन्द्र चन्द्रलाई पराजित गरेर करिब २५ वर्ष यही क्षेत्रमा गोर्खा राज्यले शासन गरेको थियो। उनीहरूले गोर्खा शासकले जितेकाे राज्यमा आफ्नो प्रतिनिधिमार्फत शासन चलाउँदै आएका थिए।

चन्द्र राजाहरूको महल र पछि गोर्खा शासनको केन्द्र रहेको मल्ला महल।
कुमाउ क्षेत्र जितेपछि पहिलो पटक जोगा मल्ललाई सुब्बा नियुक्त गरेर त्यहाँ शासन सञ्चालन गरिएकाे थियाे। चन्द्र राजाहरूले राज्य सञ्चालनका लागि भव्य दरबारको निर्माण गरेका थिए। जसको नाउँ उनीहरूले मल्ला महल राखेका थिए। गोर्खाका शासकहरूले शासन गर्न थालेपछि त्यही महललाई प्रशासनिक कार्यथलोका रूपमा विकास गरेका थिए। ढुंगाबाट बनेको दरबारको भव्यता अहिले पनि देख्न सकिन्छ।
सन् १७९० देखि १८१५ सम्म यस क्षेत्रमा गोर्खाको शासन थियो। उक्त समयमा महलमा राजाका प्रतिनिधि र सैनिक अधिकारीहरू बस्ने गर्थे। अहिले यसलाई संग्रहालयका रूपमा परिणत गरिएकाे छ। अल्मोडा क्षेत्रमा अहिले पनि गोर्खा राज्यको अवशेष देख्न सकिन्छ। ढुंगाको बाटो‚ पुरानै शैलीका घर र साँघुरो गल्लीले नेपालको पुरानो सहरका रूपमा स्मरण गराउँछ।

भारतको नैनीताल।
सन् १८१६ मा भएको सुगौली सन्धिपछि यो भूभाग गोर्खा राज्यले गुमाएकाे थियाे। त्यसपछि अधिकांश नेपाली नेपाल फर्किए। तर, सहरको बनावटले नेपालीपनलाई जीवन्त राखेको अल्मोडाकाे एक होटलमा कार्यरत महेश धामी बताउँछन्। यहाँ अहिले पनि नेपालीहरूको उल्लेख्य उपस्थिति छ। उनीहरू मजदुरीका लागि आउने गरेको महल संग्रहालयकी मीना रावत बताउँछिन्।
संस्कृति, भाषा र वेशभूषा नेपालीसँग मेल खाने गरेको कारण कुमाउ क्षेत्र नेपालीका लागि सहज छ। यहाँका पुराना सम्पदालाई संरक्षण गरिएको छ भने यातायात सहज छ। अल्मोडा बजारको दृश्य अवलोकन गर्न सकिने भएकाले मल्ला महल पछिल्लाे समय पर्यटक आकर्षणको केन्द्र बनेको छ। भारत सरकारले अहिले यस क्षेत्रलाई सांस्कृतिक नगरीका रूपमा प्रचार गरिरहेको छ। पर्यटकीय नगरी बनेसँगै पर्यटकको चहलपहल बढ्दा नेपालीका लागि रोजगारी सहज बनेकाे छ।