आवरण
पश्चिम नेपालमा सन् १५२५ पछि ठूलो भूकम्प नगएको मान्यतालाई रारा तालमा गरिएको नयाँ अध्ययनको चुनौती
भूगर्भशास्त्री अनन्त गजुरेलका लागि तालतलैया घुमफिर थलो र पानीको स्रोत मात्र होइन, अध्ययन गर्ने ठाउँ पनि हो। भूगर्भ विषयको सहप्राध्यापकका रूपमा चार दशक बिताएका गजुरेल गत साता त्रिचन्द्र कलेजबाट निवृत्त भए। यस अवधिमा उनले स्वदेशी र विदेशी टोलीसँग मिलेर विभिन्न तालमा अध्ययन-अनुसन्धान गरे।
ताललाई आधार बनाएर बेलायती, फ्रान्सेली अनुसन्धाता र नेसनल जिओग्राफिक जस्ता अन्तर्राष्ट्रिय संस्थाहरूले नेपालमा गर्ने अनुसन्धानमा गजुरेल संलग्न रहँदै आएका छन्। तालहरूले जलवायु, भूगर्भ, जैविक विविधता र मानव गतिविधिसहित धेरै वटा विषयको इतिहास बोकेको हुने उनी बताउँछन्। “तालको आफ्नै पारिस्थितिकीय प्रणाली (इकोसिस्टम) हुन्छ। त्यो प्रणालीलाई तापक्रम, वर्षा र जलस्तर धेरै कुराले निर्धारण गर्छ। तालको पिँधमा थुप्रिएको गेग्रानले अभिलेखालयको जस्तो गर्छ,” उनी भन्छन्।
नेपालका तालहरूलाई हामीले लामो समयसम्म धार्मिक, सांस्कृतिक वा पर्यटकीय दृष्टिले मात्र हेर्यौँ। तर, वैज्ञानिकहरूका लागि यी तालमा समयको लामो बहावमा संकलित इतिहास हुन्छ, जहाँ जलवायु परिवर्तनदेखि भूकम्पसम्मका जानकारी सुरक्षित छन्। रारा तालमा गरिएको पछिल्लो अध्ययनले पश्चिम नेपालमा रहेको ‘सेस्मिक ग्याप’ (भूकम्पीय अन्तर)को प्रचलित मान्यतालाई चुनौती दिएको छ र भूकम्पीय जोखिमका बारेमा नयाँ बहस सुरु गरेको छ।

तिलिचो तालमा अनुसन्धान गर्दै भूगर्भशास्त्रीहरू।
गजुरेलले नेपालको उच्च हिमाली र मध्यपहाडी क्षेत्रमा रहेका प्रमुख तालहरूमा अध्ययन गरेका छन्। जसमा पोखराको फेवा, मुगुको रारा, डोल्पाको से-फोक्सुन्डो, मनाङका धुम्बा र तिलिचो, सगरमाथा क्षेत्रको गोक्यो ताल पर्छन्। ब्रिटिस अन्टार्टिक सर्भेका जकारिया गजोई-सासको नेतृत्वमा रारा तालमा अध्ययन गरिएको थियो। अध्ययनले पश्चिम नेपालको ‘सेस्मिक ग्याप’ सम्बन्धी धारणालाई चुनौती दिएको थियो।
ब्रिटिस अनार्टिक सर्भेको टोलीले सन् २०१४ बाट अध्ययन सुरु गरेको थियो र अनुसन्धान लेख जनवरी २०२६ मा एड्भान्स्ड साइन्स जर्नलमा प्रकाशन भएको थियो।
पश्चिम नेपालमा ठूलो भूकम्प नगएको लामो समय भयो। भूकम्पको दृष्टिले नेपालको पूर्वी भेग जस्तो पश्चिम नेपाल सक्रिय छैन। पूर्व क्षेत्रमा ८० देखि १०० वर्षको अन्तरालमा ठूलो भूकम्पको जाने गरेको इतिहास भेटिए पनि पश्चिम नेपालमा महाभूकम्प नगएको ५०० वर्षभन्दा बढी भइसक्यो। सन् १५२५ को महाभूकम्पपछि ठूलो भूकम्प गएको जानकारी थिएन। वैज्ञानिकहरूले पश्चिम नेपालमा ‘सेस्मिक ग्यास’ निकै लामो भएको भन्दै महाभूकम्प आउने गरी शक्ति सञ्चय भएको बताउने गरेका थिए।
सासको टोलीले सन् २०१४ देखि रारा तालमा गरेको अध्ययनले पश्चिम नेपालमा १५२५ पछि कम्तीमा पाँच वटा ठूलो भूकम्प गएको देखायो। सो क्षेत्रमा ६ हजार वर्षमा ५० वटा ठूलो भूकम्प गएकोमा १५२५ यता मात्र पाँच वटा गएको अध्ययनमा पाइयो। त्यस क्षेत्रमा भूकम्प जाने कुनै निश्चित ढाँचा नभएको पनि अध्ययनले देखाएको थियो।

तिलिचो तालमा भूगर्भशास्त्रीहरू।
नेपाल युरेसियन र इन्डियन टेक्टोनिक प्लेटको सीमामा अवस्थित छ। यो क्षेत्र भूकम्पको उच्च जोखिममा पर्छ।
तालसम्बन्धी अध्ययन
ताललाई आधार बनाएर नेपालमा विभिन्न विषयमा अध्ययन-अनुसन्धान भइरहेका छन्। तालसम्बन्धी अध्ययनमा संलग्न नेपाल माउन्टेन एकेडेमीका सहायक क्याम्पस प्रमुख टंकप्रसाद पौडेल तालसम्बन्धी र तालभित्र रहेका दुवै विषयमा अध्ययन हुने बताउँछन्। “एउटा चाहिँ, ताल कसरी बन्यो, त्यसको आकार र इतिहास के हो भनेर अध्ययन गरिन्छ,” उनी भन्छन्, “अर्को, ताललाई ‘प्राइम डेटा’ अर्थात् अनुसन्धानको प्राथमिक तथ्यांक मानेर अन्य विषयबारे अध्ययन गरिन्छ।”
भूगर्भविद्हरूले ताललाई आधार बनाएर भूकम्पको इतिहास, जलवायु परिवर्तन र भौगोलिक उत्पत्तिका विषयमा अनुसन्धान गरिरहेका छन्। सगरमाथा क्षेत्रमा नेसनल जियोग्राफिकसँग मिलेर भूगर्भविद् गजुरेल अध्ययनमा संलग्न छन्। सो क्षेत्रमा जैविक विविधता, हिमताल, जलवायु, कार्टोग्राफी जस्ता बहुआयामिक विषयमा अध्ययन गरिएको छ। विशेषगरी यहाँको ‘सेडिमेन्ट कोर’ (माटो र बालुवाको लेदो) निकालेर पछिल्लो दुई हजार वर्षको जलवायु र भूकम्पको प्रभावबारे अनुसन्धान गरिएको छ।
रारा तालमा मुख्य रूपमा पुराना भूकम्पहरूको रेकर्ड अध्ययन भइरहेको छ। सेडिमेन्टको अध्ययनबाट यस तालमा कम्तीमा ६ हजार ५०० वर्ष पुरानो इतिहास सुरक्षित रहेको पाइएको छ। यो समय भनेको मानिसले घुमन्ते अवस्थाबाट कुनै ठाउँमा अडिएर कृषि कर्म सुरु गरेको समय हो।
गजुरेल भूकम्पबारे अध्ययन गर्न हामीसँग उपकरण (सिस्मोमिटर- भूकम्प मापन यन्त्र) र ऐतिहासिक अभिलेख सीमित समयको मात्र रहेको अवस्थामा तालको अध्ययनले त्योभन्दा धेरै अगाडिदेखिको इतिहास केलाउन सघाउने बताउँछन्। “तालको पिँधमा हजारौँ वर्षको इतिहास सुरक्षित छ। कुन कुन समयमा ठूला भूकम्प गए र कति समयको अन्तरालमा जाँदा रहेछन् भन्ने प्याटर्न पत्ता लाग्यो भने भविष्यको जोखिमबारे थाहा पाउन सकिन्छ,” उनी भन्छन्।

तिलिचो तालमा अनुसन्धान गर्दै भूगर्भशास्त्रीहरू।
मनाङको तिलिचो तालमा भने ब्रिटिस अन्टार्कटिक सर्भेसँगको सहकार्यमा अध्ययन भइरहेको छ। यो ताल पूर्ण रूपमा हिमनदीबाट बनेको हुनाले यसको बनावट र ‘मोरेन’ (हिमनदीले थुपारेको गेग्रान) कति वर्ष पुरानो हो भन्ने पत्ता लगाउने काम भइरहेको छ।
पर्यटकीय सहर पोखराको फेवा तालमा पनि ब्रिटिस अन्टार्कटिक सर्भेले अध्ययन गरिरहेको छ। जसमा तालको उत्पत्ति, भूकम्पले तालको पिँधमा पारेको प्रभाव र मानवीय गतिविधिले वातावरणमा पारेको असरबारे अनुसन्धान भइरहेको छ। “मानवीय अतिक्रमण, घर निर्माण र बाँध जस्ता गतिविधिका कारण फेवा ताललाई वैज्ञानिक दृष्टिकोणबाट अध्ययनका लागि धेरै उपयुक्त मानिँदैन,” गजुरेल भन्छन्, “फेवा तालको उमेर पनि करिब ५०० वर्ष मात्र छ र त्यसमा मानवीय हस्तक्षेप धेरै भएकाले वैज्ञानिकहरूले शुद्ध प्राकृतिक रेकर्ड पाउन कठिन हुन्छ।”
फेवा तालको अतिक्रमण विषय सधैँ चर्चा रहँदै आएको छ। गत चैत २०८२ को दोस्रो साता नयाँ सरकार गठन भएपछि सार्वजनिक गरेको एक सय दिनमा गर्ने सय कार्यसूचीमा फेवातालको अतिक्रमण हटाउने पनि उल्लेख छ।
से-फोक्सुन्डो तालमा फ्रान्सेली र बेल्जियमका टोलीहरूले अध्ययन गरेका छन्। यसको उत्पत्ति प्रक्रिया (पहिरोले नदी थुनिएर बनेको) र उमेरका बारेमा अनुसन्धान भएको छ। जापानी अनुसन्धाताहरूले माटोको अध्ययनका आधारमा यो ताल करिब ३० देखि ३५ हजार वर्ष पुरानो हुन सक्ने अनुमान गरेका छन्।
नेपाल माउन्टेन एकेडेमीका सहायक क्याम्पस प्रमुख पौडेल इतिहासदेखि नै तालभित्र फरक फरक प्रकारका डेटा संगृहीत हुने भएकाले समय र उद्देश्यअनुसार फरक विषयमा अध्ययन-अनुसन्धान गर्न सकिने बताउँछन्। उनी रसुवाको गोसाइँकुण्ड, सिन्धुपाल्चोकको पाँचपोखरी, मनाङको तिलिचो तालको अध्ययनमा संलग्न छन्। “यस वर्ष भने पैसा र समयको अभावका कारण राम्रोसँग काम हुन सकेको छैन,” उनी भन्छन्।

अनन्त गजुरेल। तस्बिर : बिक्रम राई
सन् २००९ मा गरिएको एक अध्ययनमा त्यस समयका ७५ जिल्लामध्ये ७४ जिल्लामा ताल भेटिएका थिए। नेपाल जर्नल अफ साइन्स एन्ड टेक्नोलोजीको भोलम ११ (सन् २०१०)मा प्रकाशित ‘अ म्याप बेस इन्भेन्टरी अफ लेक्स इन नेपाल’ शीर्षकको अध्ययन लेखअनुसार नेपालमा पाँच हजार ३५८ वटा ताल छन्। उकेशराज भुजू, मधुकर खड्का, पवनकुमार न्यौपाने र रेडियम अधिकारीले उक्त अध्ययन गरेका हुन्।
तालले कसरी भन्छ इतिहास?
इतिहास बुझ्न हामी प्रायः कागजी दस्ताबेज, शिलालेख वा मौखिक कथामा निर्भर हुन्छौँ। तर, अनुसन्धाताहरूले भौगर्भिक, वातावरणीय र तालको पिँधमा थुप्रिएका तहहरू अध्ययन गरेर पनि इतिहासका विविध पाटो उजागर गरिरहेका छन्।
तालको पिँधमा तहगत रूपमा पत्रहरू बनेका हुन्छन्। यस्ता पत्र मौसमको चक्रअनुसार बन्छन्। जस्तो– गर्मी वा वर्षा याममा प्रशस्त पानी पर्छ, भेल बाढीले माटो, बालुवा र साना साना कणहरू बगाएर तालमा पुर्याउँछ। यो थिग्रिँदै गएर तालको पिँधमा एउटा खैरो र सेतो रङको पत्र बन्छ। हिउँदमा अर्को पत्र बन्छ, तर त्यो फरक प्रकारको हुन्छ। उच्च भूभागमा रहेका ताल हिउँदमा जम्छन्, जसले गर्दा बाहिरी गतिविधिको प्रभाव तालमा पर्दैन। बाहिरबाट माटो, बालुवा र अन्य वस्तु आउन पाउँदैनन्। तर, तालभित्रै रहेका जीवजन्तु, वनस्पति र जैविक वस्तु कुहिएर बिस्तारै पिँधमा झर्ने क्रम चलिरहन्छ। त्यस्ता जैविक वस्तुहरूमा कार्बनको मात्रा धेरै हुन्छ। त्यसैले यो तह गाढा खैरो वा कालो हुन्छ। यसरी बन्ने पत्रहरू अध्ययनका क्रममा केलाइन्छ। “यी पत्रले तापक्रम र वर्षा कस्तो थियो भन्ने रेकर्ड देखाउँछन्। विगतमा भएका जलवायु परिवर्तन वा टेक्टोनिक अर्थात् भूकम्पका घटना हेर्न तालको पिँधमा भएको गेग्रान एकदमै महत्त्वपूर्ण हुन्छ,” गजुरेल भन्छन्।
ठूलो भूकम्प जाँदा जमिनसँगै तालको पिँध र पानी पनि हल्लिन्छ। तालको वरिपरि पहिरो गएर त्यसमा भएका वस्तुहरू पनि झरेर वा सोहोरिएर तालमा प्रवेश गर्छन्। सामान्य अवस्थामा पानीले बगाएर ल्याउन नसक्ने ठूला ढुंगा वा गेग्रानहरू भूकम्पको बेला तालमा पुग्छन्। त्यसले तालभित्र छुट्टै किसिमको संरचना बन्न पुग्छ। तालको पिँधमा गेग्रान पत्र-पत्र भएर बसेको हुन्छ। भूकम्पले जोडसँग हल्लाउँदा ती पत्रको स्वरूप बिग्रिन्छ वा तलमाथि हुन्छ। “यो संकेत हेरेर विगतमा कति म्याग्निच्युडको भूकम्प गएको थियो होला भनेर हामीले अनुमान गर्न सक्छौँ,” गजुरेल भन्छन्।
त्यसैगरी, मौसमको विषयमा परागकणहरूको अध्ययन हुन्छ। हावाले उडाएर तालमा खसेका परागकणको अध्ययनबाट पहिले कुन समयमा कुन प्रकारका घाँस वा रूख थिए र तापक्रम कस्तो थियो भन्ने थाहा हुन्छ। त्यस्तै, घोँगी जस्ता जलचर र सूक्ष्म जीवहरूको अवशेषको विश्लेषण गरी कुन कालखण्डमा ताल र त्यस आसपासका क्षेत्रमा तापक्रम कस्तो थियो भन्नेर अध्ययन हुन्छ।