अनुभूति
कलंकी कीर्तिपुरको डाँडोबाट हेरे जति मात्र हैन। साँझ छुट्दै गरेका रात्रिबस हेर्दै घर सम्झिएर सोचमा हराउनु मात्र पनि होइन।
कलंकी मेरा लागि घर र सहरबीचको साँध हो। स्युचाटार खोला तरेर नैकाप ओर्लिनेबित्तिकै गाउँ सुरु हुन्छ, सातदोबाटो र चाबहिल छुट्याउने चोकबाट सहर। एसएलसी सकेर उच्च शिक्षा पढ्न सहर पसेको म चोकमै अल्झिएँ।
घरको खोजी जहिल्यै हुन्छ। मैले दोबाटोमै घर बनाएँ। त्यो थियो, कलंकी हल।
घर सम्झँदा आवाजहरू देखिन थाल्छन्। ती घर जहाँकहीँ बसेका हुन सक्छन्। डेरा छाउनीमा थियो, घर कलंकीमा हुन्थ्यो।
पर्दामा देखिएका दृश्यहरू बरु त्यति सम्झिइँदैन, तर वरिपरिका आवाजले सम्झनालाई तिक्खर बनाउँछन्। त्यो ‘साउन्डस्केप’ एउटा जमाना थियो। त्यो जमाना ‘बाल्कोनी’, ‘ड्रेस सर्कल’ र ‘स्पेसल’ मार्फत दर्शकहरूको वर्गीकरण हुन्थ्यो। शनिबारको दिन बाल्कोनीको टिकट पाउनु सजिलो सिटका लागि होइन, फिल्मका कलाकारहरूको तहमा बसेर फिल्म हेर्न पाउनका लागि हो।
बाल्कोनीका दर्शक खर्च गर्न सक्थे। त्यसको अर्थ हुन्थ्यो, कोकाकोला र कुरकुरे किन्न सक्नु। यो हलभित्र ‘पपकर्न’ को बास्ना फैलिनुअघिको जमाना हो।
बाल्कोनीका दर्शक खर्च गर्न सक्थे। त्यसको अर्थ हुन्थ्यो, कोकाकोला र कुरकुरे किन्न सक्नु। यो हलभित्र ‘पपकर्न’ को बास्ना फैलिनुअघिको जमाना हो।
तर, कोकाकोला आवाजमा बिक्थ्यो। दृश्यका माध्यमबाट सामान किन्न मनोवैज्ञानिक दबाब पार्ने जमाना सुरु भइसकेकै थिएन। कोकाकोलाको विज्ञापन ‘ओपनर’ ले गर्थ्यो।
टिरिङ टिरिङ, किर्र, ट्याङ। क्यारेटमा लहरै राखिएका सिसाका बोतलमा धातुको बाक्लो ओपनरले बाजाको शैलीमा बजाउँदै कोकाकोला बेच्ने पनि किरण दाइ नै हुन्थे। किरण दाइ बेलाबेला सोध्थे, ‘चिसो खान्छौ, भाइ?’
यसको मतलब हुन्थ्यो, किरण दाइ खुसी छन्। आज उनले जुवा जितेछन्। किरण दाइ जुवाबाट छुट्न पैसाको बचत गर्न चाहन्थे। उनले एउटा सपना पनि पालेका थिए। जुवाबाट उम्किने सपना देखेका थिए। तर, कतिपयका लागि साना सपना महँगा हुँदा रहेछन्। सपना पूरा गर्न जुवा जित्ने सपना देखेरै होला, उनको जित र बचतमा कहिल्यै तालमेल हुन सकेन। उनी थप बचतका लागि जित्न चाहन्थे र सञ्चित बचत जितका लागि प्रयोग गर्थे। दुवै गुम्ने मात्र होइन, थप लतमा फसेका हुन्थे।
कलंकी हलसँगै जुवा खेल्ने ‘स्लट मेसिन’ थियो। मेरै गाउँका दाइले चलाएका। बच्चैदेखिको साथी गोकुल दाइको पसल हेर्थ्यो। उसैले किरण दाइसँग चिनायो। किरण दाइले झन्डै दुई वर्ष निःशुल्क फिल्म देखाए। जति धेरै उनले फिल्म देखाए, चिसो खान पाउने मौका भने थोरै मिल्थ्यो।
म भर्खरै काठमाडौँ आएको, एक चोटि मात्र हलभित्र फिल्म हेरेको। म भित्रबाट त पूरै गाउँले थिएँ, आवरणमा पोतिएको गाउँ मेटिन भ्याएकै थिएन।
उनले कोकका सिसाहरूबाट आवाज निकाल्दा मलाई छटपटी हुन्थ्यो। कोकको भोक लाग्थ्यो। यो भोक मनमा यसरी गढ्यो कि म केही वर्षपछि कोकाकोलाको लती भएको थिएँ। जस्तो कोक छ, उस्तै छ फिल्मको ‘नोस्टाल्जिया’। कसैका लागि पुँजीवाद, कसैका लागि अति नै अस्वस्थ खाना। कोक र सिनेमा बिल्कुलै विपरीत विपरीत जस्ता लागे पनि यी दुईले सँगै यात्रा गर्न थालेको सय वर्षभन्दा बढी भइसकेछ। फिल्म हलको ‘साउन्डस्केप’ धेरै फेरिइसक्यो, तर सिनेमामा मध्यान्तर भए पनि नभए पनि कोकाकोला जस्ता पेयहरू नयाँ ध्वनिमा सँगै हिँडिरहेका छन्।
एकातिर पुँजीवादको बिम्ब मानिने कोकाकोला, अर्कातिर मानवीय भावनाहरूको कथा भन्ने सिनेमा। बजारअघि मान्छेका भावनाहरू लुक्छन् या हराउँछन्। किरण दाइ मध्यान्तरमा कोकाकोला बेच्थे। मध्यान्तरअघि टिकट जाँच्थे। यसबीचमा सिनेमा हुन्थ्यो। किरण दाइ आधा अँध्यारो हलमा मुखमा टर्च च्यापेर हिँडिरहेका हुन्थे। लाग्थ्यो, उनी कतै पुग्न खोजिरहेका छन्, तर निस्कने बाटो भेटिरहेका छैनन्।
डेढ दशक भयो, किरण दाइ बेखबर छन्। कतै छन्, तर सम्पर्कमा छैनन्। सम्पर्कमा नभए पनि सम्झना त रहन्छ नै।
कदकाँठीले विराज भट्टभन्दा निकै होचा तर रूपरङले उस्तै थिए। उनको पाखुरामा पाडो उठ्थ्यो। हलभित्र छिर्न जोसिएको हुललाई एक हात र एक खुट्टाले सजिलै रोक्थे।
म पहाडको भेलसँगै झरेको धमिलो खहरे जस्तो थिएँ, विशाल नदीमा छिर्दा पनि गाउँले माटोको रङले छुट्याएको। म नदीको पानीमा मिसिएर उसको नीलो रङ धारण गर्न चाहन्थेँ।
म भर्खरै काठमाडौँ आएको, एक चोटि मात्र हलभित्र फिल्म हेरेको। म भित्रबाट त पूरै गाउँले थिएँ, आवरणमा पोतिएको गाउँ मेटिन भ्याएकै थिएन। सहरमा एक्लो थिएँ। नितान्त एक्लो। हरेक नयाँ ठाउँमा घरको खोजी हुन्छ। ओतको खोज हुन्छ। धक फुकाएर ‘आफू कोही हुँ’ भन्नका लागि सुरक्षित ठाउँ चाहिन्छ। त्यो ठाउँ मेरा लागि सिनेमाघर बनेर आयो। जसभित्र मलाई किरण दाइले हुलिदिए। जसले लेख्यो सिनेमा घर, सही लेख्यो। त्यो मान्छे सायद भौँतारिँदै थियो आफैँलाई भेट्टाउन।
म पनि भौँतारिएको थिएँ।
वर्षामा पहाडबाट झर्ने खहरेका हरेक कणको एउटा सपना हुन्छ– नदीको पानीमा मिसिने र उसकै नीलो रङ धारण गर्ने। तर, विशाल नदीले पनि फुच्चे खहरेलाई केहीबेर सहँदैन, मैलो माटो बोकेका कारण।
म पहाडको भेलसँगै झरेको धमिलो खहरे जस्तो थिएँ, विशाल नदीमा छिर्दा पनि गाउँले माटोको रङले छुट्याएको। म नदीको पानीमा मिसिएर उसको नीलो रङ धारण गर्न चाहन्थेँ।
र, हलले नै सिकायो मलाई सहर। मैले सहर आएपछि मात्र फिल्मबाट सहर बुझ्न पाएँ। कलंकी हलमा फिल्म हेर्नुपहिले जम्मा दुई फिल्म हेरेको थिएँ, निखिल दाइ र सिलसिला। दर्पण छायाँ गाउँपारिको टेलिभिजनमा आधा घण्टा जति हेरे पनि मैले त्यसलाई सधैँ पूरा सिनेमा हेरेको सम्झिएँ।
उता किरण दाइ थिए, ग्याङ तयार भइसकेका। सिनेमामा गाउँबाट आएको हिरो जसरी सहरमा आफ्नो अस्तित्व स्थापित गर्छ, किरण दाइ मेरो नजरमा त्यस अवस्थामा पुगिसकेका थिए।
किरण दाइ सुकिलामुकिला जमातका थिएनन्। उनी उनकै वरिपरिका मान्छे जस्तै थिए। सहरभित्र पाकिसकेका भए पनि कलंकी आइपुग्ने गाउँलेहरूले भित्र्याउने बारीको माटो, पसिना र अरू गन्धहरू उनीबाट हराएको थिएन। किरण दाइ हलका रेखदेखकर्ता जस्ता थिए। फिल्म नचलेको दिनको हलमा मुर्दाशान्ति छाउँछ। तर, किरण दाइ रुँगेरै बसेका हुन्थे। उनका लागि हल नै फिल्म क्षेत्र।
किरण दाइ जुवा जितेको मनोदशामा हुन्थे। म उनकै आडमा बसेर कामना गर्थें– किरण दाइले जितून्। मलाई थाहा थियो, किरण दाइले हार्नु भनेको मेरो आफ्नै साथीको व्यापार घाटामा जानु हो। तर, मलाई उनले जित्दा बढी पैसा मिल्थ्यो, बचतका लागि।
हरेक नयाँ ठाउँ जाँदा जोकोही बच्चा जस्तो हुन्छ। हरेक चिजले बच्चाले झैँ सिक्नुपर्ने हुन्छ। मेरो काठमाडौँ पढाइमा मूल गुरु थियो, सिनेमा। र, पहिलो पाठ थियो, वरिपरिका मान्छेलाई हेर र उनीहरूको बाहिरी आवरणका आधारमा असल-खराब छुट्याऊ।
नाता सम्बन्ध, छिमेकीबाहेक मेरो पहिलो सम्बन्ध थिए, किरण दाइ। मैले सिनेमाले सिकाएबमोजिम किरण दाइका वरिपरिका साथीहरू नियालेँ। तिनीहरूको बाहिरी आवरण सिनेमाका भिलेनहरूसँग मिल्थ्यो। सुरुमा मलाई डर लाग्थ्यो। किरण दाइ आड दिँदै भन्थे, ‘नडराऊ भाइ, तिम्रो किरन दाइ छ।’
त्यतिबेला किरण दाइ जुवा जितेको मनोदशामा हुन्थे। म उनकै आडमा बसेर कामना गर्थें– किरण दाइले जितून्। मलाई थाहा थियो, किरण दाइले जित्नु भनेको मेरो आफ्नै साथीको व्यापार घाटामा जानु हो। तर, मलाई उनले जित्दा बढी पैसा मिल्थ्यो, बचतका लागि।
किरण दाइ आफूसँग भएको पैसा सकेर निस्कन्थे र भन्थे, ‘भाइ, अलिकति पैसा निकालेर ल्याइदेऊ न भोलि।’ बचत भुक्तानी फारम झोलामै हुन्थ्यो, किरण दाइ ख्यारख्यार पारेर हस्ताक्षर गर्थे।
कलंकीमा हरेक हप्ता नछुटाई फिल्म हेर्दाहेर्दै मेरो १२ को पढाइ आधाआधी हुँदै थियो। सहकारीको काम छाडेँ। त्यसको केही दिन किरण दाइसँग भेट भएन। नयाँ फिल्म आएपछि हलमा गएँ र किरण दाइलाई सुनाएँ, ‘मैले काम छोडेँ दाइ।’
सिनेमामा गाउँबाट आएको हिरो जसरी सहरमा आफ्नो अस्तित्व स्थापित गर्छ, किरण दाइ मेरो नजरमा त्यस अवस्थामा पुगिसकेका थिए।
भोलिपल्टै किरण दाइले खाता बन्द गरेछन्। तर, मलाई फिल्म हलको ढोका खोल्दिइरहे। कहिले टिकट चेकर आउँछ भन्दै अरूको अधकट्टी दिन्थे त कहिले सबै छिरिसकेपछि खाली सिट फेला पारेर छिराउँथे।
बिस्तारै बिस्तारै मलाई किरण दाइ र मबीचको सम्बन्धमा के छुटे छुटे जस्तो लाग्न थाल्यो।
किरण दाइलाई दाउ लाग्यो कि लागेन, चासो घट्न थाल्यो। जुवा जित्दा बचत बढ्थ्यो। बचत बढे कमिसन। अब म उनका लागि बचत थिइनँ, उनी मेरा लागि कमिसन थिएनन्।
म कलंकी हल नै जान छाडेँ।
यसबीचमा मैले कहिल्यै सोधिनँ, किरण दाइको स्थायी घर कहाँ थियो भनेर।
तर उनको सपनाको साक्षी भने थिएँ। उनी चाहन्थे, सहकारीमा सय-दुई सय गर्दै १० हजार रुपैयाँ पुर्याउने। तर, लत यस्तो थियो कि आफ्नै पैसा निकाल्न पनि लजाएर कुरा गर्थे।
१२ को पढाइ सकिएसँगै कलंकी चोक बिरानो हुन थाल्यो। डेरासँगै घर फेरिए। कलंकी चोकको देब्रे लागेर पुगिने गोपीकृष्णदेखि, दाहिने लागे पुगिने गुण हुँदै सहरको मध्यभागको क्यूएफएक्ससम्म।
किरण दाइ र म छुट्यौँ। सायद म छुटेँ किरण दाइबाट। उनी त्यहीँ हुने त हुन्। लाग्थ्यो, किरण दाइको जरा भन्नु नै त्यहीँ हो, जो घरभित्रै हराएर भौँतारिइरहेको छ।
फिल्म हेर्ने बानी परेदेखि म आफ्नो ओहदा बढेको ठान्थेँ। तर, जसले मलाई त्यही फिल्मको संसारसँग परिचित गरायो, उसले माग्दा मसँग दुई सय रुपैयाँ भएन।
हलको गन्ध फरक भयो, हलभित्र छिर्नेहरूको गन्ध पनि। कलंकी हलमा सिनेमाको जस्तै दर्शकहरूको आवाज पनि चर्को हुन्थ्यो। समय यस्तो भयो, फिल्म चलिरहँदा पनि हल सुनसान लाग्ने। गर्मीमा चिसो, जाडोमा तातो हल।
त्यो अधकट्टी च्यात्ने हल, जमाना हाइटेकको आयो, टिकट स्क्यान हुन थाल्यो।
कोक, पेप्सीहरू त्यहाँ पनि थिए। तर, कोक दर्शकसम्म होइन, दर्शक कोक लिन बाहिर पुग्थे।
सायद किरण दाइ र मेरो सम्बन्धको दूरी यस्तै थियो। कसले कसलाई कसरी भेट्ने।
तर, म र किरण दाइको भेट हुनु थियो जसरी पनि। सीतापाइलाको उकालोको बिजुली पसलमा काम गर्थें।
भदौ महिना। साँझको बेला। बिजुली पसलबाहिर उभिएर म बजार आएका मान्छेहरू घर फर्किरहेको हेरिरहेको थिएँ। साइकल, बस, मोटरसाइकल, ट्याक्सी र मान्छेहरूको भिडमा सबैभन्दा छिटो गतिमा उकालो दौडिइरहेको मान्छे देखेँ।
मलाई ती मान्छे आफन्तजस्तो लाग्यो, तर को हो चिनिनँ। दिमागभरि थुप्रै टाउका सलबलाए। एउटा टाउकोमा गएर ट्याक्क रोकियो र चिनायो आफैँले।
‘किरण दाइ,’ मलाई त्यो टाउकोले बकायो। आफ्नै मुखबाट निस्किएको नामलाई एकछिन आफैँले चिनिनँ।
किरण दाइ नजिकै आए र सासले बोले, ‘भाइ, तिमी?’
म बोल्न खोज्दै थिएँ। किरण दाइ हतारिएको सासमा बोले, ‘भाइ, तिमीसँग दुई-तीन सय रुप्पे छ? साह्रै अबर पर्यो।’
फिल्म हेर्ने बानी परेदेखि म आफ्नो ओहदा बढेको ठान्थेँ। तर, जसले मलाई त्यही फिल्मको संसारसँग परिचित गरायो, उसले माग्दा मसँग दुई सय रुपैयाँ भएन।
‘मसँग सय रुपैयाँ मात्र रहेछ।’
जब कुनै कुरा हराएझैँ लाग्न थाल्छ, ती बढी सम्झनामा आउँछन्। सपनाहरू सम्झनाकै खातहरू होलान्।
मागे जति दिन नपाएको नमज्जा थोरै थियो, तर पहिलोपल्ट मैले दिनुको मज्जा लिएँ। त्यो दुइटा टिकट बराबरको पैसा थियो, तर त्यसको मूल्य थिएन। उनका लागि सायद आनन्दको एक घुड्की थियो। मेरा लागि त्यसको मूल्य केही थियो भने, त्यो थियो– किरण दाइ।
किरण दाइ त्यसपछि फेरि हराए।
खासमा हामी दुवै एकअर्काको सम्झनामा सायदै थियौँ। भेटिनुपर्ने मान्छे या चिज नभेट्दा ‘हरायो’ बन्छ होला। तर, हामी आआफ्नो ठाउँमा कतै थियौँ। कसैका लागि भेटिनुनपर्ने तर हराएको सुर्ता नहुने।
तर, मैले केही वर्षअघि किरण दाइलाई साँच्चिकै खोजेँ। तर, उनको नामसम्म थाहा रहेनछ त्यहाँका मान्छेहरूलाई। हल मात्र होइन, वरिपरि सबै बदलिएको। नेपाली सिनेमालाई निश्छल प्रेम गर्ने मान्छेहरूले तयार पारेको माहोल फेरिएको थियो। ती दर्शकहरू, जसका लागि नेपाली फिल्म नै संसार थियो।
अब भने किरण दाइ साँच्चै हराएका थिए। म सोच्थेँ– मेरा लागि उनी जसरी पनि भेटिनुपर्थ्यो। म आफैँसँग जिद्दी गर्दै भन्थेँ– किरण दाइ कहीँका होइनन्, उनी कलंकीबाहेक कहीँ जानै मिल्दैन। तर, किरण दाइ पनि हराउँदा रहेछन्। मैले बिर्सेको रहेछु, कलंकीबाट त राजमार्ग सुरु हुन्छ।
मलाई फिल्म हेर्ने लत दिएर हराएका किरण दाइलाई हराउने लत पो लाग्यो कि?
जब कुनै कुरा हराएझैँ लाग्न थाल्छ, ती बढी सम्झनामा आउँछन्। सपनाहरू सम्झनाकै खातहरू होलान्।
कथाको नायक कता जान्छ भन्ने चासो भएझैँ म ती सपनाहरू दोहोर्याएर देख्न चाहन्थेँ। तर, टुक्रिएका सपना टुंगिने गरी फर्केर आएनन्।
मैले किरण दाइलाई सपनामा भेट्टाउन थालेँ, तर ती कतै अँध्यारोबीच पिठ्युँ फर्काएर हिँडिरहेका हुन्थे। कतै ठूलो पारदर्शी बट्टाभित्र चरा जत्रो। एकपल्ट हात बाँधिएको अवस्थामा भेटिए। खोलिदिन नजिकै गएँ। आफ्नै सास बढेको आवाजले ब्युँझिएँ।
कथाको नायक कता जान्छ भन्ने चासो भएझैँ म ती सपनाहरू दोहोर्याएर देख्न चाहन्थेँ। तर, टुक्रिएका सपना टुंगिने गरी फर्केर आएनन्।
एकदिन किरण दाइलाई अहिलेसम्मकै सबैभन्दा अलग रूपमा देखेँ। त्यहाँ एक किरण दाइ थिएनन्, हजारौँ किरण दाइ थिए। सीतापाइला चोकदेखि रामकोटतिर उकालो लागिरहेका।
प्रत्येक किरण दाइका काँधमा थिए, एक एक फिल्म कलाकार, निर्देशक र निर्माताहरू।
हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, राजेश हमाल, करिश्मा मान्धर, पूजा चन्ददेखि दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, रेखा थापा आदि।
सबै कलाकार अतिरिक्त उचाइ पाएकामा खुसी देखिन्थे।
तर, हजारौँ किरण दाइहरूको त्यो स्याँस्याँ आवाजले गर्दा सिंगो सहर नै निस्सासिएझैँ सुनिन्थ्यो।
टिरिङ टिरिङ बज्यो।
कलंकीबाट साँझ छुटेको रात्रिबसका सिटहरू फिल्म हलका जस्ता छन्। त्यहाँ बाल्कोनी सिटहरू छन्। अगाडि सेतो पर्दामा फिल्म चल्न सुरु गरेको छ। किरण दाइ बिराज भट्टको शैलीमा ‘इन्ट्री’ मार्छन्। म यसरी गुडिरहेको फिल्म हलभित्र बसेर घर जाँदै छु।