काठमाडौँ
००:००:००
९ असार २०८३, मंगलवार

सुकुम्बासी

अतिक्रमित सार्वजनिक जग्गा खाली गर्न पोखरा महानगरपालिकाले जारी गरेको सूचनाको विरोधमा सुकुम्बासीको प्रदर्शन

२१ बैशाख २०८३
तस्बिरहरू: रिना थापा/नेपालन्युज
अ+
अ-

पोखरा पोखरा महानगरपालिकाले अतिक्रमित सार्वजनिक जग्गा ३५ दिनभित्र खाली गर्न सूचना जारी गरेपछि विरोध सुरु भएको छ। सुकुम्बासी बस्तीका बासिन्दाले सोमबार नयाँबजारस्थित महानगरको कार्यालयअगाडि प्रदर्शन गरेका हुन्।

महानगरले ४ वैशाखमा सूचना जारी गरेर सरकार तथा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका अवैध संरचना हटाउन अल्टिमेटम दिएको थियो। पोखरा महानगरपालिका-९ मा रहेका सुकुम्बासीहरूले संघर्ष समिति गठन गरी ३५ दिने सूचना खारेजीको माग गर्दै प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा उनीहरूले ‘सुकुम्बासी बस्ती उठिबास बन्द गर’, ‘गरिबलाई बाँच्न देऊ’, ‘हाम्रो नारा हाम्रो भोट, बिर्सियौ वाचा, दियौ चोट’ जस्ता नारा लगाएका थिए।

आफूहरूलाई उठिबास लगाउने कार्य रोक्न माग गर्दै सुकुम्बासीहरूले सोमबार कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई ज्ञापनपत्र बुझाएका छन्।

यसैबीच, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले महानगरले भूमिहीन सुकुम्बासीको समस्या समाधानका लागि काम गरिरहेकाले आन्दोलन आवश्यक नरहेको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा स्टेटस लेखी उनले सुकुम्बासी बस्तीलाई मानव ढालका रूपमा प्रयोग गर्ने प्रयाससहित अनावश्यक उत्तेजना सिर्जना गरिएको उल्लेख गर्दै स्वार्थसमूहको प्रयोगमा नआउन सुकुम्बासीलाई आग्रहसमेत गरेका छन्।

पछिल्लो समय सरकारले अतिक्रमित सरकारी र सार्वजनिक जग्गा खाली गराउने अभियान देशव्यापी बनाएको छ।