आवरण
प्रहरी-प्रशासन पुग्न नसक्ने पश्चिम नेपालका गाउँ गाउँमा अवैध लागुऔषध अफिमको खेती र कारोबार
गत १ वैशाखमा जाजरकोटको छेडागाड नगरपालिका-५, थलाबजारबाट अवैध लागुऔषध अफिमसहित दुई जना पक्राउ परे। महेन्द्र साल्मी होटलबाट अफिम बिक्रीका लागि लैजान लागेको अवस्थामा प्रहरीले बाँकेको राप्ती सोनारी गाउँपालिका-१, बैरियाबजारका दीपक कुमाल र जाजरकोटको कुशे गाउँपालिका-५, दम्दलाका जयबहादुर वरलाई सात किलो ३० ग्राम अफिमसहित पक्राउ गरेको थियो।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनीहरूले होटलको कोठा भाडामा लिएर जाजरकोटकै गाउँबाट अफिम ल्याई बिक्री गर्ने गरेको खुलेको जिल्ला प्रहरी कार्यालय, जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक एक्कबहादुर नेपाली बताउँछन्। उनका अनुसार, उनीहरूले उक्त अफिम नेपालगन्ज हुँदै भारत लैजाने योजना बुनेका थिए।
कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतस्थित लागुऔषध नियन्त्रण ब्युरो शाखा र जिल्ला प्रहरी कार्यालय जाजरकोटको टोली अफिम खेती र कारोबार भइरहेको विशेष सूचना पाएर थलाबजार पुगेको थियो।
जाजरकोटका गाउँमा स्थानीयवासीहरूले अफिम उत्पादन गर्ने र बिचौलियाहरूले त्यसलाई बजारसम्म पुर्याउने गरेको जाजरकोट प्रहरीको अनुसन्धानमा देखिएको छ। “यही अनुसन्धान गर्दै जाँदा दुई जना पक्राउ परेका हुन्। अवैध रूपमा भइरहेको अफिम खेती र यसको कारोबारबारे हामीले विस्तृत अनुसन्धान गरिरहेका छौँ,” जाजरकोट प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) वसन्तकुमार शर्मा भन्छन्।
उनका अनुसार जाजरकोटका अधिकांश क्षेत्रमा अफिमको खेती व्यापक छ। नलगाड नगरपालिका, छेडागाड नगरपालिका, बारेकोट गाउँपालिका, कुशे गाउँपालिका, जुनीचाँदे गाउँपालिकालगायतमा अफिम खेती ठूलो मात्रामा भइरहेको हो। यीमध्ये नलगाड नगरपालिकामा यसको खेती धेरै रहेको प्रहरीको अध्ययनले देखाएको छ। ती क्षेत्रमा अफिम खेती नष्ट गर्न तीव्रता दिइरहेको डीएसपी शर्मा बताउँछन्।

“जाजरकोटमा शिवालय गाउँपालिकाबाहेक सबै पालिकामा अफिम खेती भइरहेको छ,” उनी भन्छन्, “हामीले पछिल्लो एक महिनामै एक हजार ७०० रोपनीमा लगाइएको अफिम नष्ट गरेका छौँ।” अफिम खेतीमा प्राय: विपन्न र द्वन्द्वपीडितहरू संलग्न रहेको उनी बताउँछन्। यी भेग तत्कालीन विद्रोही माओवादीका आधार क्षेत्र हुन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार, २०८२ सालमा एक हजार ४६२ रोपनीमा लगाइएको अफिम नष्ट गरिएको थियो। यो वर्षको सुरुआतमै एक हजार ७०० रोपनीको अफिम खेती नष्ट पारिनुले जाजरकोटमा अफिम खेती पहिलेभन्दा भयावह रहेको देखिन्छ। “यसको खेती प्रायः प्रहरी पुग्न नसक्ने दुर्गम क्षेत्रहरूमा मौलाएको छ,” डीएसपी शर्मा भन्छन्।
कारोबार र ओसारपसार
अफिमको खेती जाजरकोटमा मात्र सीमित छैन, छिमेकी जिल्ला रुकुम पश्चिम, रुकुम पूर्व र रोल्पामा समेत उत्तिकै भयावह छ। यस्तो खेती र अवैध कारोबारका कारण धेरै स्थानीयवासी कानुनी फन्दामा परेका छन्।
२६ जेठ २०७५ मा रुकुम पूर्वको सिस्ने गाउँपालिकाका तीन जना नेपालगन्जबाट अफिमसहित पक्राउ परेका थिए। जेठ २६ गते बिहान बाँकेको नेपालगन्ज उपमहानगरपालिका-१ मा सञ्चालित दैलेखी जय होटल एन्ड लजबाट रुकुम पूर्व सिस्ने गाउँपालिका-४ काँडाका भुपेश खड्का, सिस्ने-४ पोखराका मनबहादुर खत्री र बमबहादुर खड्कालाई प्रहरीले ६ किलो ५०० ग्राम अफिमसहित पक्राउ गरेको थियो।
प्रहरीका अनुसार भुपेश अफिम ल्याउन दाङबाट रुकुम पुग्थे। दाङ, तुलसीपुर बसेर उनी नेपालगन्जको सीमानाकामा लागुऔषधका व्यापारीसँग सम्पर्क राख्थे। सीमानाकामा बसेर अफिमको कारोबार गर्ने व्यापारीले अफिम मगाएपछि भुपेश रुकुम पश्चिमको सोलाबाङ पुगे, र मनबहादुर खत्री र बमबहादुर खड्कासँग मिलेर नेपालगन्ज पुर्याउने योजना बुनेका थिए। ५ चैत २०७६ मा बाँके जिल्ला अदालतले तीनै जनालाई १७ वर्ष ६ महिना कैद र १२ लाख ५० हजार रुपैयाँ जरिवानाको सजाय सुनायो।
यो घटना प्रतिनिधि मात्र हो। पश्चिम नेपालका दुर्गम गाउँका धेरै मानिस अफिमको कारोबारमा संलग्न भएका कारण जेल पुगेका छ्न्। तर पनि त्यस्तो अवैध काम गर्नेहरूको कमी देखिँदैन।
५ जेठ २०७४ मा इलाका प्रहरी कार्यालय कुसुमले बाँकेको राप्ती सोनारी गाउँपालिका-१, बैरियास्थित प्रहरी चेक पोइन्टबाट तीन जनालाई नियन्त्रणमा लियो। उनीहरूको साथबाट दुई किलो ५५१ ग्राम अफिम बरामद भएको थियो। पक्राउ पर्नेमा दाङको घोराही उपमहानगरपालिका-६ का रुपेश पुन, अयन रोका र भागेश्वर रोका थिए। पुर्ख्यौली घर रुकुम पूर्व भएका उनीहरूले रुकुम, जाजरकोटलगायत ठाउँबाट अफिम ल्याएर बिक्री गर्ने गरेको अनुसन्धानमा देखियो। २७ मंसिर २०७६ मा बाँके जिल्ला अदालतले तीनै जनालाई लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार जनही १५ वर्ष कैद र पाँच लाख रुपैयाँ जरिवाना तोकेर कारागार पठायो।
गाउँमा बिचौलियाको रजगज
प्रहरी अनुसन्धानले देखाएअनुसार बिचौलियाहरूले आफैँ स्थानीय किसानको घरदैलोमा पुगेर बीउ उपलब्ध गराउने र उत्पादित अफिम खरिद गर्ने गरेका छन्। जसका कारण दुर्गम गाउँहरू अफिम खेतीमा आकर्षित छन्। विपन्न र निम्न वर्गको आर्थिक गर्जो टार्नुपर्ने बाध्यतामा बिचौलियाहरूले खेलेर फाइदा उठाइरहेका छन्।
दुर्गम क्षेत्रमा सरकारी उपस्थिति र निगरानीको कमीका कारण बिचौलियाहरूले संगठित सञ्जाल सजिलै फैलाएको देखिन्छ। बेलाबखत कारबाही र निगरानी भए पनि पर्याप्त र निरन्तर नहुँदा त्यसको फाइदा बिचौलियाहरूले उठाइरहेका छन्।
अफिम खेतीमा संलग्न व्यक्तिहरूसँग कुराकानी गर्दा उनीहरूले आफ्नो नाम बताउन चाहेनन्। तर, रोजगारीको अभाव, न्यून आम्दानी र खाद्यान्नको कमीका कारण छिटो आम्दानी हुने प्रलोभनमा परेर यस्तो अवैध काममा संलग्न भएको खुलाए।

जाजरकोटका डीएसपी शर्मा भन्छन्, “दुर्गम भेगका गरिब किसानहरू अफिम खेतीमा संलग्न छन्। उनीहरूको खेती त नष्ट गरिन्छ, तर समस्या दोहोरिरहन्छ।”
रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट र कालिकोटलगायतका बासिन्दा अफिम खेती र यसको कारोबारमा संलग्न देखिन्छन्। प्रायः यी क्षेत्रको अफिम नेपालगन्जसहित सीमानाकाबाट भारत पुग्ने प्रहरीको अध्ययनले देखाएको छ।
अल्पकालीन समाधान
अफिम खेती नियन्त्रणका लागि प्रहरीले अहिलेसम्म अपनाइरहेको उपाय हो, खेती नष्ट। तर, विज्ञहरूका अनुसार यो दीर्घकालीन समाधान होइन। हुन पनि प्रहरीले बर्सेनि खेती नष्ट गर्छ, तर फेरि पनि स्थानीयहरूले जोखिम मोलेर यसको खेती गर्ने क्रम घटिरहेको छैन।
रुकुम पश्चिममा गत फागुनदेखि वैशाखसम्मको छोटो अवधिमा मात्रै ५१८ रोपनी क्षेत्रफलमा लगाइएको अफिम नष्ट गरियो। जिल्ला प्रहरी कार्यालयका अनुसार त्यहाँ उत्पादित अफिम बिचौलियाहरूले दाङ र सल्यान हुँदै नेपालगन्ज पुर्याउने र त्यहाँबाट भारततर्फ तस्करी गर्ने गर्छन्।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदबहादुर पौडेल अफिम खेती विशेषगरी प्रहरीको पहुँच नपुग्ने दुर्गम, कम विकसित र विपन्न वर्गको बसोबास रहेका क्षेत्रमा फैलिएको बताउँछन्। “सामान्य बालीझैँ भइरहेको अवैध अफिम खेती नियन्त्रणका लागि हामी हरसम्भव लागिपरेका छौँ,” उनी भन्छन्, “हामी कानुनी कारबाही अगाडि बढाउँदै गर्दा बिचौलियाहरूले दुर्गमका किसानलाई कसरी यो अवैध बाटोमा धकेल्दै छन् भन्ने पक्षमा पनि अनुसन्धान गरिरहेका छौँ।”
पछिल्लो तीन महिनामा रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा सबैभन्दा धेरै ४०० रोपनी क्षेत्रफलको अफिम खेती नष्ट गरियो। यस्तै, सानीभेरी गाउँपालिकामा ९० र बाँफिकोट गाउँपालिकामा २८ रोपनीमा लगाइएको खेती नष्ट गरिएको थियो। आठबीसकोट नगरपालिकामा ज्यालामजदुरी गर्न भारत गएका निम्नवर्गीय बासिन्दाका परिवारसमेत अफिम खेतीमा संलग्न देखिन्छन्।
भारतीय ‘कनेक्सन’
नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको अध्ययनले कर्णाली प्रदेशअन्तर्गत सुर्खेत, जाजरकोट,सल्यान, रुकुम पूर्व र रुकुम पश्चिममा अफिम खेती उल्लेखनीय रूपमा बढिरहेको देखाएको छ। यति मात्र होइन, दाङ, मकवानपुर, धादिङ, रौतहट, बारा, उदयपुर, पर्सा र सिरहालगायत जिल्लामा पनि अवैध रूपमा अफिम खेती भइरहेको छ। ती क्षेत्रमा खेती नष्ट गर्ने कार्य निरन्तर हुँदै आएको ब्युरोले जनाएको छ।
लागुऔषध नियन्त्रण ब्युरोका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्णप्रसाद कोइरालाका अनुसार जाजरकोट, रुकुमलगायत पहाडी क्षेत्रमा उत्पादित अफिम विभिन्न सीमानाका हुँदै भारततर्फ ओसारपसार हुने गरेको छ। उनी भन्छन्, “हामीले बिचौलियालाई पक्राउ गरेका छौँ। धेरै ठाउँमा खेती नष्ट गरेका छौँ।”
नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी नेपालमा अफिम खेतीको विस्तार चिन्ताजनक भए पनि सरकारले यसप्रति पर्याप्त संवेदनशीलता नदेखाएको बताउँछन्। “अफिम खेती नष्ट गर्दा केही समय होहल्ला हुन्छ, तर त्यसपछि सरकारले चासो दिन छाड्छ,” उनी भन्छन्, “लागुऔषध नियन्त्रण गर्न सरकारबाट आवश्यक लगानी भए जस्तो लाग्दैन, त्यसैले अफिम खेती बढ्दै गएको हो।”

ठकुरीको बुझाइमा नेपालमा अफिम खेती विस्तार हुनुमा भारतीय व्यापारीहरूको ठूलो भूमिका छ। “उनीहरूले आफ्नै बजारका लागि नेपालमा उत्पादन गराइरहेका हुन्। अफिमको माग भारतमा बढी भएका कारण नेपाली किसानलाई प्रयोग गरिन्छ। यसमा नेपाली बिचौलियाहरू पनि संलग्न हुन्छन्,” उनी भन्छन्।
सरकारले कसिलो अनुसन्धान गरेर अफिम खेतीलाई समयमै प्रभावकारी नियन्त्रण गर्न नसके भविष्यमा ठूलो जोखिम बेहोर्नुपर्ने उनी बताउँछन्।
लागुऔषध नियन्त्रण ब्युरोको पछिल्लो तीन वर्षको तथ्यांक हेर्दा लागुऔषधका कारोबारीहरू बढिरहेको देखिन्छ। ब्युरोले आर्थिक वर्ष २०८०/८१ मा लागुऔषधसम्बन्धी चार हजार ३९९ मुद्दा दर्ता गरेको थियो। आव २०८१/८२ मा यस्ता मुद्दाको संख्या बढेर पाँच हजार ६१ पुग्यो। आव २०८२/८३ मा भने दुई हजार ८५१ जनाविरुद्ध लागुऔषध सम्बन्धी मुद्दा दर्ता भएको छ।
ब्युरोले आव २०८०/८१ मा ६१ किलो ६९० ग्राम अफिम बरामद गरेको थियो। यस्तै, २०८१/८२ मा १८४ किलो ९८ ग्राम र २०८२/८३ मा ३९ किलो २८६ ग्राम अफिम बरामद गरिएको तथ्यांक छ।
ब्युरोका प्रमुख, एसएसपी कोइराला लागुऔषध अफिम र हेरोइन बरामदका घटनामा भारतीय नागरिकविरुद्ध समेत मुद्दा चलाइएको बताउँछन्।
नेपाल प्रहरीका उच्च अधिकारीका अनुसार पहिले अफिम खेती र कारोबार मुख्यतया तराईका जिल्ला र सीमावर्ती क्षेत्रमा भारतीय लगानीमा केन्द्रित थियो। तर, अहिले त्यो शैली फेरिएर खेती कर्णालीलगायत दुर्गम पहाडी जिल्लामा फैलिएको छ। लागुऔषध नियन्त्रण ब्युरोका पूर्वप्रमुख तथा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा काम गरिसकेका नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) गोविन्द थपलिया यो तथ्य स्विकार्छन्।
हाल मधेस प्रदेश प्रमुख रहेका थपलिया भन्छन्, “अफिम खेती दुर्गम पहाडमा भए पनि यसको बजार सीमापारि नै हो। अहिले पनि केही स्थानमा नेपाली किसानसँग भारतीय व्यापारीको सम्बन्ध छ। नेपाल प्रहरीले यस विषयमा गम्भीर अनुसन्धान गरिरहेको छ।”