काठमाडौँ
००:००:००
२ असार २०८३, मंगलवार

राजनीति

एमालेमा अध्यक्ष ओलीको निष्क्रियतासँगै आन्तरिक गतिविधि ठप्प

२३ बैशाख २०८३
तस्बिर : नेपाल फ़ोटो लाइब्रेरी
अ+
अ-

२१ फागुन २०८२ को आमनिर्वाचनमा अनपेक्षित पराजय भोगेको नेकपा (एमाले)मा आन्तरिक गतिविधि ठप्प छ। पदाधिकारीसहित केही नेता उपस्थित भएर नियमित कार्यालय सञ्चालन गरे पनि अन्य गतिविधि सञ्चालन हुन सकेका छैनन्।

चुनावपछि अध्यक्ष केपी शर्मा ओली एक पटक मात्रै कार्यालय पुगेका छन्। १२ चैत २०८२ मा कार्यालय पुगेर उनले प्रतिनिधिसभा सदस्यहरूलाई सम्बोधन गरेका थिए।

“बाह्य गतिविधि गर्ने वातावरण नभए पनि पार्टीका आन्तरिक गतिविधि सञ्चालन गर्नुपर्थ्यो, तर सन्नाटा छाएको छ,” केन्द्रीय सदस्य झपटबहादुर रावल भन्छन्, “सामूहिक नेतृत्व प्रणालीलाई कमजोर बनाएर अध्यक्ष ओलीलाई सर्वेसर्वा बनाउँदाको परिणाम हो यो।”

त्यसैकारण नीति र विचारले भन्दा पनि व्यक्तिको लोकप्रियता र अलोकप्रियताका आधारमा पार्टी राम्रो र नराम्रो हुने अवस्थामा सिर्जना भएको उनको बुझाइ छ। २०७१ सालमा भएको नवौँ महाधिवेशनबाट ओली एमाले अध्यक्षमा निर्वाचित भएदेखि नै सामूहिकता हराउँदै गएको र पार्टी एकलौटी रूपमा सञ्चालन हुन थालेको आरोप लाग्दै आएको छ।

गत २१ फागुनको प्रतिनिधिसभा चुनावलगत्तै अध्यक्ष ओलीका पिता मोहनप्रसादको निधन भएको थियो। ३० फागुनमा भक्तपुरको गुन्डुस्थित निवासमा सचिवालयको बैठक बस्दा ओली आशौचमा थिए। त्यसबेला उनकै अध्यक्षतामा बसेको बैठकले प्रतिनिधिसभाका लागि समानुपातिक सांसद छानेको थियो।

वालेन्द्र शाह नेतृत्वको नयाँ सरकार गठनलगत्तै जेन-जी आन्दोलनको दमन गरेको आरोपमा १६ चैतमा ओली पक्राउ परेका थिए।

२६ चैतमा मुक्त भए पनि पित्तथैलीको पत्थरीको अपरेसनपछि उनी निवासमै स्वास्थ्यलाभ गरिरहेका छन्। शल्यक्रिया गरेको ठाउँमा संक्रमण भएपछि उनले भेटघाटसमेत बन्द गरेका थिए। तर, सुदूरपश्चिम प्रदेशको एमाले संसदीय दलमा समस्या देखिएपछि ओली २३ वैशाखमा छलफलमा सहभागी भएका थिए।

केन्द्रीय सदस्य रमेश पौडेल अध्यक्ष ओली निष्क्रिय देखिँदा पार्टी गतिविधि ठप्प भएको बताउँछन्। “भविष्यमा कसरी अघि बढ्ने भन्ने योजना बनाउने त परको कुरा भयो, अहिलेसम्म चुनावमा किन अनपेक्षित परिणाम आयो भन्ने समीक्षा पनि हुन सकेको छैन,” पौडेल भन्छन्। अध्यक्ष अनुपस्थित नहुँदा उपाध्यक्षसहितका पदाधिकारीलाई जिम्मेवारी दिएर अघि बढ्नुपर्नेमा त्यसो हुन नसकेको उनी बताउँछन्। भन्छन्, “सचिवालयको बैठक कहिले बस्छ र केन्द्रीय कमिटी बस्छ, ठेगानै छैन।”

प्रहरी हिरासतमा रहँदा भने ओलीले कार्यवाहकको जिम्मेवारी उपाध्यक्ष रामबहादुर थापालाई दिएका थिए। ओली पक्राउ परेपछि त्यसको विरोधमा एमालेले सडक आन्दोलनको घोषणासमेत गरेको थियो। त्यसले खासै गति लिन नसकेपछि  आन्दोलन स्थगित भयो।

एमाले सचिव भानुभक्त ढकाल भने अब चाँडै बैठक बसेर पार्टीले आगामी नीतिबारे निर्णय लिने बताउँछन्। तर, पार्टी सचिवालय र केन्द्रीय कमिटीको बैठक कहिले बस्छ भन्ने जानकारी उनलाई पनि छैन। “अब चाँडै बैठक गर्ने विषयमा नेतृत्वमा तहमा छलफल भइरहेको होला,” ढकाल भन्छन्, “बैठक कहिले बस्छ भन्ने जानकारी अध्यक्ष र महासचिवलाई हुन्छ। नेतृत्व तहमा छलफल गरेर अहिले देखिएको अन्योल छिटै टुङ्ग्याउनुपर्छ भनेर हामीले भन्दै आएका छौँ।” उनी अहिले देखिएको अन्योल चिर्न नेतृत्वले गृहकार्य गरिरहेको दाबी भने गर्छन्।

यसैबीच अनपेक्षित परिणामपछि त्यसको जिम्मेवारी लिँदै अध्यक्ष ओलीले पद छाड्नुपर्ने भन्दै एमालेभित्र पुनर्गठनका लागि अभियानसमेत सुरु भएको छ। युवा केन्द्रीय सदस्यहरूको पहलमा १९ वैशाखमा मीनभवन क्याम्पसमा युवा तथा विद्यार्थी नेताहरूको भेला भएको थियो। अध्यक्ष ओलीले पार्टीको नेतृत्व अघि बढाउन नसक्ने भन्दै उनले पद छाड्नुपर्ने निष्कर्ष भेलाले निकालेको थियो। त्यसैगरी, पार्टीलाई पुन: सामूहिक नेतृत्वमा लैजानुपर्ने भेलाको निचोड थियो। त्यसका लागि आफैँ उपस्थित भएर पार्टीको सदस्यता नवीकरण गर्नुपर्ने र पार्टी नेतृत्व छान्नका लागि प्रत्यक्ष निर्वाचन हुनुपर्ने प्रस्तावसमेत भेलाले गरेको छ।

पुस २०८२ को एघारौँ महाधिवेशनबाट तेस्रो कार्यकालका लागि निर्वाचित ओलीबाट पार्टी अघि बढ्न नसक्ने भन्दै उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलसहितका नेताहरूले पनि छलफल अघि बढाएका छन्। यसअघि नै पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डे, उपाध्यक्ष गोकर्ण विष्ट र उपमहासचिव योगेश भट्टराईले अध्यक्ष ओलीको राजीनामा माग गरिसकेका छन्। तर, अध्यक्षनिकट नेताहरूले ओली त्यसका लागि तयार नभएको बताउँदै आएका छन्।