काठमाडौँ। मुलुकको कुल ऊर्जाजडित क्षमता चार हजार २९६ मेगावाट पुगेको छ।
नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रका ऊर्जा उत्पादकद्वारा उत्पादित विद्युत्का आधारमा उक्त क्षमता निर्धारण भएको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ।
परीक्षणमा रहेका आयोजना र वैकल्पिक ऊर्जाको स्रोतबाट उत्पादितबाहेक चार हजार २९६ मेगावाट क्षमता निर्धारण भएको हो। चालु आवको अन्त्यसम्म कुल जडित क्षमता चार हजार ५०० मेगावाटभन्दा माथि पुग्ने मन्त्रालयको प्रक्षेपण छ।
हाल निर्माणका क्रममा तीन हजार मेगावाट क्षमताका आयोजना छन्। निर्माणमा जान तयारी अवस्थामा रहेका आयोजनाको क्षमता पनि समान रहेको मन्त्रालयले जनाएको छ।
हालसम्म ६६ केभीभन्दा माथिका करिब सात हजार ३६० सर्किट किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भएको छ। यस्तै १४ हजार ३२३ एमभीए क्षमताको सबस्टेसन निर्माण सम्पन्न भएको मन्त्रालयले उल्लेख गरेको छ। ३३ केभी क्षमताका करिब आठ हजार २२५ सर्किट किलोमिटर प्रसारण लाइन तथा तीन हजार ३०८ एमभीए क्षमताको सबस्टेसन निर्माण भएका छन्।
सरकारको पहल र सक्रियता, नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरेको विशेष अभियानका कारण देशभरको विद्युत् चुहावट १२.५ प्रतिशतमा सीमित भएको प्राधिकरणले जनाएको छ। प्राविधिक चुहावटलाई क्रमशः घटाउँदै लैजाने लक्ष्य राखिएको छ। सबस्टेसनको क्षमता विस्तार, प्रसारण लाइनको स्तरोन्नति तथा प्राविधिक उपाय अवलम्बन गर्दै चुहावट क्रमशः घटाइने मन्त्रालयले स्पष्ट पारेको छ।
यसैगरी प्रतिव्यक्ति विद्युत् खपत ४५० किलोवाट घण्टाबराबर पुगेको छ। हालसम्म राष्ट्रिय विद्युत् प्रणाली र वैकल्पिक ऊर्जाको स्रोतबाट विद्युत्मा पहुँच प्राप्त जनसङ्ख्या ९९ प्रतिशतबराबर पुगेको छ। हालसम्म विद्युत् निर्यात दुई हजार ९१८ गिगावाट प्रतिघण्टा छ। विद्युत् आयात करिब ५९० गिगावाट घण्टा भएको छ।
हालसम्म सौर्य विद्युत् उत्पादन क्षमता ६२.७ मेगावाटबराबर पुगेको छ। लघु तथा साना जलविद्युत् आयोजनाबाट ५५.३ मेगावाटबराबर विद्युत् उत्पादन भएको छ। सिँचाइतर्फ हालसम्म सिँचाइ सुविधा १५ लाख ८७ हजार ९१० हेक्टर जमिनमा पुगेको मन्त्रालयले जनाएको छ।
सिँचाइयोग्य जमिनमध्ये पाँच लाख ३२ हजार ९० हेक्टरमा भने वर्षभरि सिँचाइ सुविधा उपलब्ध रहेको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको विवरणमा उल्लेख छ।