राजनीति
चुनावमा अन्तर्घात गरेको भन्दै कांग्रेसमा ६०० नेता तथा कार्यकर्ताविरुद्ध उजुरी
काठमाडौँ। २१ फागुन २०८२ को प्रतिनिधिसभा निर्वाचनमा असहयोग र अन्तर्घात गरेको भन्दै नेपाली कांग्रेसको अनुशासन समितिमा ६०० जनाविरुद्ध उजुरी परेको छ।
चुनावमा परेका उजुरीबारे गम्भीर छानबिन भइरहेको समिति सभापति तारामान गुरुङ बताउँछन्। “समितिमा अहिले ६०० भन्दा बढी उजुरी परेका छन्। हामी ती उजुरीबारे छानबिन गरिरहेका छौँ। उजुरी परेकाहरूसँग जवाफ पनि माग गरिरहेका छौँ‚” गुरुङ भन्छन्, “कतिपय स्थानमा आन्तरिक रूपमा पनि छानबिन गरिरहेका छौँ।”
उनले उजुरी परेकामध्ये कतिको छानबिन सकियो भनेर बताउन चाहेनन्। कांग्रेसको नियमावली, २०७६ अनुसार उजुरी परेको ६ महिनाभित्र विषयलाई किनारा लगाइसक्नुपर्छ। २९ फागुनमा बसेको समिति बैठकले उजुरीबारे छानबिन सुरु गर्ने निर्णय गरेको थियो। २५ माघ २०८२ मा बसेको केन्द्रीय कार्यसमितिको बैठकले गुरुङको नेतृत्वमा तीनसदस्यीय अनुशासन समिति गठन गरेको थियो। समिति सदस्यमा धना खतिवडा र सुवासकुमार पोखरेल छन्।

तिरहुतियागाछीको आमसभामा गगन थापा। तस्बिर : कांग्रेस सचिवालय
निर्वाचनमा बागी उम्मेदवारी दिएका तथा समर्थक र प्रस्तावक बसेकाविरुद्ध कारबाहीका लागि उजुरी परेको गुरुङको भनाइ छ। उनका अनुसार निर्वाचनमा पार्टीका उम्मेदवारविरुद्ध प्रचारमा लागेका र विपक्षीलाई टेवा पुर्याएकाहरूविरुद्ध पनि उजुरी आएका छन्।
२१ फागुन २०८२ मा भएको प्रतिनिधिसभामा चुनावमा कांग्रेसले प्रत्यक्षतर्फ १८ स्थान मात्रै जितेको थियो। अन्तर्घातका कारण २१ स्थानमा चुनावमा पराजित भएको कांग्रेसले जनाएको छ।

चुनावी अभियानका क्रममा गगनकुमार थापा।
पार्टीको आन्तरिक किचलोले पाँचदेखि तीन हजारभन्दा कम मतले पराजित हुनुपरेको कांग्रेसको निष्कर्ष छ। त्यसैगरी, प्रत्यक्षतर्फ सभापति गगनकुमार थापासहित सबै पदाधिकारी पराजित भएका थिए। प्रत्यक्षतर्फ मात्रै नभएर समानुपातिकतर्फ पनि कांग्रेसको मत उल्लेख्य घटेको थियो।
चुनावको करिब दुई महिनाअघि विशेष महाधिवेशन गरेर थापा सभापति बनेपछि पूर्वसभापति शेरबहादुर देउवा पक्ष असन्तुष्ट छ। त्यसबेला कार्यवाहक सभापति रहेका पूर्णबहादुर खड्काले समानान्तर गतिविधि गर्दै आएका छन्। विशेष महाधिवेशनलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय चित्त नबुझेपछि खड्का सर्वोच्च अदालत गएका थिए। देउवा र खड्का पक्षका नेता तथा कार्यकर्तालााई निर्वाचनमा असहयोग गरेको आरोप लाग्दै आएको छ।

कांग्रेसको प्रतिज्ञा सभा। तस्बिर : कांग्रेस सचिवालय
चुनावमा अन्तर्घात हुने विषय कांग्रेसमा नयाँ भने होइन। २०७९ सालको आमनिर्वाचनपछि २१ सय उजुरी परेका थिए। चुनाव भएको तीन वर्षपछि प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा अन्तर्घात गरेको भन्दै कारबाही पनि गरिएको थियो। त्यसबेला ६ नेतालाई एक वर्षका लागि पार्टीबाट निष्कासन गरिएको थियो। यस्तै, १२ जनालाई निलम्बन गरिएको थियो। तीमध्ये ११ जनालाई ६ महिनाका लागि र एक जनालाई तीन महिनाका लागि निलम्बनमा परेको थिए।
त्यसबेला इतर समूहमा रहेका गगनकुमार थापाले पार्टीभित्र फरक कित्तामा रहेकाहरूलाई मात्रै कारबाही गरिएको भन्दै विरोध गरेका थिए।