आवरण
अनुभवी बलरले धेरै रन गुमाउँदा हारिरहेको नेपाल
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पेसर सोमपाल कामीले गत २९ अप्रिलमा आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानविरुद्धको खेलमा डेथ ओभरमा बलिङको जिम्मेवारी सम्हाले।
६९ ओडीआई खेलको अनुभवका कारण उनलाई मुख्य प्रशिक्षक स्टुअर्ट ल र कप्तान रोहितकुमार पौडेल दुवैले विश्वास गर्नु स्वाभाविक थियो। सोमपालले त्यो विश्वासलाई न्याय पनि गरे। उनले विनायक शुक्ला, जितेन रामान्दि र शकिल अहमदको विकेट लिएर ओमानलाई दबाबमा राख्ने प्रयास गरे।
व्यक्तिगत रूपमा हेर्दा तीन ओभरमा तीन विकेटसहितको प्रदर्शन प्रभावशाली देखिन्थ्यो। तर, क्रिकेटमा आँकडाभन्दा नतिजाले ठूलो अर्थ राख्छ। अन्ततः सोमपालले नौ ओभरमा ५९ रन खर्चंदा ओमानलाई ३०० रन पार गर्न भने खासै कठिनाइ भएन।
३०६ रनको लक्ष्य पछ्याउन उत्रिएको नेपालले वर्षाका कारण ३६.५ ओभरमा २५८ रनको नयाँ लक्ष्य पायो। तर, पहिले नै ठूलो स्कोर दिन पुगेको नेपाली टोलीको ब्याटिङ भने कमजोर देखियो। निर्धारित ओभरमा सात विकेट गुमाउँदै नेपाल १५७ रनमै समेटियो। फलतः नेपाल डीएलएस मेथडअनुसार १०२ रनले पराजित भयो।
खेलपछि सोमपाल निराश देखिए। “बोर्डमा ३०० रन पुगेपछि कसले कति विकेट लियो भन्ने कुराको खास अर्थ रहँदैन। जित नै नआएपछि मैले लिएको चार विकेटको के फाइदा?” उनले कड्किँदै भने। ४० ओभरसम्म खेल नेपालको नियन्त्रणमै देखिएको थियो। ओमान चार विकेट गुमाएर २३३ रनमा सीमित थियो। त्यसबेला नेपालले खेलमा पुनरागमन गर्ने संकेत देखाएको थियो। तर, अन्तिम १० ओभरमा खेलको चित्र अचानक बदलियो। ओमानले ६० बलमा ७२ रन थप्दै स्कोर ३०५ रनसम्म पुर्यायो। यही चरण नेपालका लागि सबैभन्दा महँगो साबित भयो।

ओमानविरुद्ध विकेट लिएपछि।
डेथ ओभरमा सोमपालसँगै करण केसी, गुलसनकुमार झा, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले बलिङ सम्हालेका थिए। सन्दीप र सोमपालले समान तीन ओभर फ्याँके भने करणले दुई तथा दीपेन्द्र र गुलसनले समान एक एक ओभर बलिङ गरे।
तर, यी ओभरमा रन नियन्त्रण गर्न नेपाल नराम्रोसँग चुक्यो। सोमपालले अन्तिम तीन ओभरमा मात्रै २८ रन खर्चिए। यद्यपि, उनले तीन विकेट पनि लिए। त्यसअघि उनले ६ ओभरमा ३१ रन दिएर एक विकेट लिएका थिए। डेथ ओभरमा करणले १९, गुलसनले १३ तथा दीपेन्द्रले सात रन खर्चिंदा सन्दीप सबैभन्दा किफायती साबित भए। उनले तीन ओभरमा मात्र ६ रन दिएर एक विकेट लिए।
डेथ ओभरको महत्त्व
कुनै समय क्रिकेटलाई धैर्य, प्राविधिक दक्षता र लामो साझेदारीको खेल मानिन्थ्यो। ब्याटरहरू क्रिजमा टिकेर इनिङ्स निर्माण गर्थे, रनहरू योजनाबद्ध रूपमा बटुलिन्थे र खेल क्रमशः अघि बढ्थ्यो। तर, टी-२० क्रिकेटको आगमनसँगै खेलको गति, शैली र मानसिकतामा ठूलो परिवर्तन आएको छ। अहिले क्रिकेट धैर्यको परीक्षा होइन, शक्ति, रणनीति र तत्काल निर्णय क्षमताको प्रतिस्पर्धा बनेको छ।
यस परिवर्तनको सबैभन्दा रोमाञ्चक रूप इनिङ्सको अन्त्यतर्फ अर्थात् डेथ ओभरमा देखिन्छ। यही चरणमा खेलको दिशा ओमानविरुद्धको खेलमा जस्तै अचानक बदलिन सक्छ। केही बलमै ठूलो स्कोर बन्न सक्छ वा कमजोर अवस्थामा रहेको टोलीले पनि खेल आफ्नो पक्षमा मोड्न सक्छ। त्यसैले आधुनिक क्रिकेटमा डेथ ओभरलाई खेलको निर्णायक मोड मानिन्छ।
सामान्यतया एकदिवसीय क्रिकेटमा अन्तिम १० ओभर र टी-२० क्रिकेटमा अन्तिम चार-पाँच ओभरलाई डेथ ओभर भनिन्छ। तर, यसको निश्चित सीमा हुँदैन। यदि टोलीसँग पर्याप्त विकेट बाँकी छ र बलियो ब्याटिङ लाइनअप छ भने आक्रामक खेल अझ पहिले नै सुरु हुन्छ। यही कारणले अहिलेका कप्तान र प्रशिक्षकले सुरुदेखि नै अन्तिम ओभरलाई ध्यानमा राखेर रणनीति बनाउने गरेको पूर्व लेगस्पिनर राजकुमार प्रधान बताउँछन्।

ओमानविरुद्ध बलिङ गर्दै सोमपाल कामी।
“अहिलेको क्रिकेटमा अन्तिम ५/१० ओभरले धेरै खेलको नतिजा निर्धारण गर्छ। यही समयमा खेलाडीको मानसिकता, शक्ति र निर्णय क्षमताको वास्तविक परीक्षा हुन्छ। तर, हामीले यस पक्षमा पर्याप्त काम गर्न सकेका छैनौँ,” उनी भन्छन्।
आधुनिक क्रिकेटका ब्याटर परम्परागत शैलीमा सीमित छैनन्। उनीहरूले खेललाई नयाँ आयाम दिएका छन्। हेलिकोप्टर, स्कुप, र्याम्प, रिभर्स स्विप र स्विच-हिट जस्ता सट अहिले सामान्य भइसकेका छन्। विशेषगरी, डेथ ओभरमा यी सट बलरका लागि चुनौती बनिरहेका छन्। सानो गल्ती पनि चौका वा छक्कामा परिणत हुने अवस्था अहिलेको क्रिकेटमा छ।
“पहिले ब्याटरहरू राम्रो बललाई डिफेन्स गर्थे, तर अहिले बाउन्ड्री पार गराइरहेका हुन्छन्। टी-२० क्रिकेटले यही मानसिकता विकास गरेको हो। अहिले यो प्रवृत्ति एकदिवसीय क्रिकेटमा पनि देखिन थालेको छ,” प्रधान भन्छन्।
क्रिकेट इतिहासमा उत्कृष्ट फिनिसरहरूको चर्चा हुँदा भारतीय पूर्वकप्तान महेन्द्रसिंह धोनीको नाम सधैँ अग्रस्थानमा आउँछ। दबाबपूर्ण परिस्थितिमा पनि शान्त रहन सक्ने क्षमता नै उनको सबैभन्दा ठूलो पहिचान थियो। उनले खेललाई अन्तिमसम्म नियन्त्रणमा राख्दै सही समयमा आक्रामकता देखाउने अद्वितीय कला विकास गरेका थिए। सन् २०११ को एकदिवसीय विश्वकप फाइनलमा श्रीलंकाविरुद्ध खेलेको अविजित ९१ रनको इनिङ्स आज पनि फिनिसिङको उत्कृष्ट उदाहरणका रूपमा सम्झिने गरिन्छ।
युवराज सिंहको आक्रामक शैली पनि त्यत्तिकै चर्चित छ। सन् २००७ को टी-२० विश्वकपमा स्टुअर्ट ब्रडविरुद्ध लगातार ६ छक्का प्रहार गरेको क्षण क्रिकेट इतिहासकै अविस्मरणीयमध्ये एक मानिन्छ। उनले त्यसको करिब चार वर्षपछि श्रीलंकाविरुद्ध धोनीसँग अन्तिम १० ओभरमा ४७ रनको महत्त्वपूर्ण साझेदारी गर्दै भारतलाई ६ विकेटको जित दिलाएका थिए।
यस्ता विश्वस्तरीय उदाहरणहरूले डेथ ओभरमा खेलको दिशा कसरी एकाएक बदलिन सक्छ भन्ने देखाउँछन्। नेपालको सन्दर्भमा भने अवस्था अझै फरक छ। केही खेललाई अपवाद मान्ने हो भने न डेथ ओभरमा रन नियन्त्रण गर्न सक्ने स्थिर बलिङ संयन्त्र विकसित भएको देखिन्छ, न त आक्रामक रूपमा खेल समाप्त गर्न सक्ने ब्याटिङ क्षमता नै पर्याप्त रूपमा स्थापित भएको छ। यही कारण निर्णायक ओभरमा खेल नियन्त्रण गुमाउने क्रम अझै पनि नेपालको मुख्य समस्या बनिरहेको पूर्वप्रशिक्षक तथा स्पिनर प्रधानको भनाइ छ।
कुनै समय वकार युनिस र वसिम अकरमले प्रयोग गर्ने योर्करलाई क्रिकेटको घातक हतियार मानिन्थ्यो। तर, आधुनिक ब्याटरहरूले त्यही बललाई पनि स्कुप, र्याम्प र रिभर्स सटमार्फत सहजै बाउन्ड्री पार गराउन थालेका छन्। यही परिवर्तनले बलरहरूलाई पनि नयाँ रणनीति विकास गर्न बाध्य बनाएको छ।
“ब्याटरहरूको आक्रामक शैली बढ्दै जाँदा बलरहरूको काम अत्यन्त चुनौतीपूर्ण बनेको छ। विशेषगरी, डेथ ओभरमा बलिङ गर्नु अहिले क्रिकेटमा आफ्नो करिअर जोखिममा राख्नु जस्तै भइसक्यो। त्यसैले ब्याक-अफ-द-ह्यान्ड स्लोअर बल, स्लोअर बाउन्सर, वाइड योर्कर, गति परिवर्तन र विभिन्न कोणको प्रयोग अनिवार्य जस्तै बनेको छ,” उनी भन्छन्।
यही चुनौतीपूर्ण वातावरणबीच केही बलरले आफूलाई डेथ ओभर स्पेसलिस्टका रूपमा स्थापित गरेका छन्। श्रीलंकाका पूर्वखेलाडी लसिथ मलिंगा सीमित ओभर क्रिकेटकै सर्वश्रेष्ठ डेथ बलरमध्ये एक मानिन्छन्। उनको अनौठो स्लिङ एक्सन र लगातार सटीक योर्करले विश्वका उत्कृष्ट ब्याटरलाई पनि कठिनाइमा पार्थ्यो। उनी गतिसँगै स्लोअर बल फ्याँक्थे र मानसिक दबाब सिर्जना गरेर पनि विपक्षीलाई नियन्त्रणमा राख्न सफल हुन्थे।
त्यस्तै, जसप्रित बुमराह आधुनिक युगका सबैभन्दा सफल डेथ बलरमध्ये एक हुन्। उनको असामान्य एक्सन, सटीक योर्कर र दबाबमा पनि संयमित रहने क्षमता भारतका लागि निर्णायक साबित भएको छ। अस्ट्रेलियाका मिचेल स्टार्क तीव्र गति र रिभर्स स्विङका लागि प्रसिद्ध छन्। उनले डेथ ओभरलाई घातक बनाउँछन्। यस्तै, ट्रेन्ट बोल्ट, डेल स्टेन, जेम्स फकनर, टिम साउदी र मोहम्मद सामी जस्ता बलरहरूले पनि विभिन्न समयमा डेथ ओभरमा आफ्नो प्रभावशाली प्रदर्शन गरेका छन्। तर, नेपाली बलरले स्थायित्व कायम गर्न नसकेको प्रधानको भनाइ छ।
सीमित खेलाडीको काँधमा जिम्मेवारी
सन् २०१८ मा एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता प्राप्त गरेपछि नेपालले लिग-२, एसीसी प्रिमियर कप र एकदिवसीय विश्वकप छनोट जस्ता प्रतियोगिता खेलेको छ। यी प्रतियोगितामा नेपालको डेथ ओभर बलिङको जिम्मेवारी भने प्रायः सीमित खेलाडीको काँधमा रहँदै आएको छ।
करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, ललितनारायण राजवंशी र दीपेन्द्रसिंह ऐरी जस्ता खेलाडीहरूले लामो समयदेखि डेथ ओभरमा बलिङको जिम्मेवारी सम्हाल्दै आएका छन्। विशेषगरी, ‘डेथ ओभर स्पेसलिस्ट’ मानिने अविनाश बोहराले ५ फेब्रुअरीमा ओमान र ८ फेब्रुअरी २०२० मा अमेरिकाविरुद्ध लिग-२ खेल खेलेका थिए। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको उक्त शृंखलाअन्तर्गत ओमानविरुद्ध उनले नौ ओभरमा दुई मेडनसहित ३८ रन खर्चिए। तर, डेथ ओभरमा २४ रन दिए पनि उनी विकेटविहीन रहे।
त्यतिबेला टोलीको कप्तानी ज्ञानेन्द्र मल्लले सम्हालेका थिए। सो खेलमा अविनाशबाहेक सन्दीप लामिछाने, सुशान्त भारी, दीपेन्द्रसिंह ऐरी र करण केसीले पनि डेथ ओभरमा बलिङ गरे। तर, सन्दीपले २४, करणले २३, दीपेन्द्रले दुई र सुशान्तले एक रन खर्चिंदै अन्तिम १० ओभरमा तीन विकेट लिँदा ७४ रन दिए। यो नै नेपालले ओमानसँग १८ रनले हार बेहोर्नुको मुख्य कारण बन्यो।
त्यसको तीन दिनपछि अमेरिकाविरुद्धको खेलमा स्पिनर कुशल मल्लले डेब्यु गरे। उक्त खेलमा नेपाललाई ३५ रनको जित दिलाउने क्रममा उनले पनि डेथ ओभरमा बलिङको जिम्मेवारी सम्हाले। यसले टोलीलाई अर्को विकल्प दियो। तर, सोही खेलमा दुई ओभरमा १३ रन खर्चिएका अविनाश त्यसपछि टोलीमा नियमित रूपमा समेटिन छाडे। स्पिनर सुशान्त जापान पलायन भइसके भने पूर्वकप्तान पारस खड्का सन्न्यास लिएर नेपाल क्रिकेट संघ (क्यान)को व्यवस्थापकीय भूमिकामा प्रवेश गरे। यता, कुशल पछिल्लो समय टोलीमा पर्न छाडेका छन्।
गुलसनकुमार झाले १६ वर्षको उमेरमै सन् २०२१ मा नेपाली राष्ट्रिय टोलीमा स्थान बनाएका थिए। त्यसयता उनी टोलीको डेथ ओभर रणनीतिमा सम्भावित विकल्पका रूपमा निरन्तर प्रयोग हुँदै आएका छन्।
नेपालको पछिल्ला केही वर्षको एकदिवसीय यात्रालाई हेर्दा टोलीले लिग-२ चक्रमा मात्रै ६० खेल खेलिसकेको छ भने त्यसबाहेक थप ३५ खेल खेलेको छ। तर, यति धेरै खेल खेल्दासमेत नतिजाले नेपालको प्रदर्शन स्थिर हुन नसकेको संकेत गर्छ। ती खेलमध्ये ४१ मा हार, एउटा बराबरी तथा दुई खेल नतिजाविहीन रहनुले टोली अझै संक्रमणकालीन अवस्थामै रहेको देखिन्छ।

यूएईविरुद्ध विकेट लिएपछि आसिफ शेख र सन्दीप लामिछाने।
विशेषगरी, डेथ ओभर बलिङ नेपालको कमजोर पक्षमध्ये एक रहँदै आएको छ। जारी लिग-२ को तथ्यांक हेर्दा नेपालले १४ खेलमा मात्र विपक्षीलाई ४० ओभरभन्दा माथिसम्म ब्याटिङ गर्न दिएको छ। धेरैजसो खेलमा नेपालले सुरुआती वा मध्य ओभरमा विपक्षीलाई दबाबमा राखे पनि लामो इनिङ्स खेल्ने टोलीविरुद्ध अन्तिम १० ओभरमा रन नियन्त्रण गर्न सकेको छैन। त्यसैले अमेरिका, स्कटल्यान्ड, ओमान, क्यानडा र यूएईसँगका नौ खेलमा हार बेहोर्नुपरेको छ।
यस अवधिमा सबैभन्दा धेरै डेथ ओभर बलिङ गर्ने खेलाडीमा पेसरद्वय सोमपाल कामी र करण केसी तथा लेग स्पिनर सन्दीप लामिछाने छन्। ओमानविरुद्धको पछिल्लो खेललाई नगन्ने हो भने सोमपालले डेथ ओभरमा सर्वाधिक १७ ओभर बलिङ गर्दै ८८ रन खर्चेर पाँच विकेट लिएका छन्।
त्यसको विपरीत करण केसीले सोमपालभन्दा दुई ओभर कम अर्थात् १५ ओभर बलिङ गर्दै १५७ रन खर्चेर ६ विकेट लिएका छन्। विकेट संख्या प्रभावशाली देखिए पनि उनको ‘इकोनोमी’ भने निकै महँगो छ। करण आक्रामक बलर हुन्। उमेरले ३४ वर्षमा टेके पनि उनी अझै विकेट निकाल्ने क्षमता राख्छन्। त्यसैले कप्तान रोहितकुमार पौडेलले उनलाई डेथ ओभरमा प्रयोग गर्ने गरेका छन्। तर, यही आक्रामक शैलीका कारण उनले धेरै रन पनि खर्चिने गरेका छन्।
स्पिन विभागमा सन्दीपले पनि १७ ओभर डेथमा बलिङ गर्दै ७७ रन खर्चेर चार विकेट लिएका छन्। सामान्यतः डेथ ओभरमा स्पिनर प्रयोग गर्नु जोखिमपूर्ण मानिन्छ, तर सन्दीपले तुलनात्मक रूपमा निकै प्रभावकारी प्रदर्शन गरेका छन्। उनको गुग्ली, गति परिवर्तन र भेरिएसनले अन्तिम ओभरहरूमा पनि रनको बहाव नियन्त्रण गर्न मद्दत गरेकाले प्रयोग गर्नुको विकल्प नरहेको पूर्वस्पिनर सञ्जम रेग्मी बताउँछन्।
“सन्दीपले ६ बलमा ६ गुग्ली फाल्न सक्छन्। त्यति मात्र होइन, उनले लगातार नयाँ भेरिएसन प्रयोग गरिरहेका हुन्छन्। त्यसैले उनीमाथि दबाब पनि बढी हुन्छ,” उनी भन्छन्। युवा अलराउन्डर गुलसन अझै सिकाइको चरणमा छन्। यद्यपि, डेथ ओभरमा उनको प्रयोग भविष्यको तयारीका रूपमा हेरिएको छ। उनको उचाइ र अतिरिक्त बाउन्स निकाल्ने क्षमता नेपाली टोलीका लागि सकारात्मक पक्ष मानिन्छ। यद्यपि, अनुभवको कमीका कारण दबाबपूर्ण अवस्थामा लाइन-लेन्थ कायम राख्न उनी अझै संघर्षरत देखिन्छन्।
त्यसैले कप्तान रोहितले परिस्थितिअनुसार आफूसँगै दीपेन्द्र र कुशल भुर्तेललाई प्रयोग गर्दै आएका छन्। तर, डेथ ओभरमा यी तीन खेलाडीको बलिङ अपेक्षाकृत प्रभावकारी देखिएको छैन। हुन त पूर्वप्रशिक्षक मोन्टी देसाईले सन्न्यासनजिक पुगेका करण र सोमपालको विकल्प खोज्ने प्रयास नगरेका होइनन्। उनले बागमती प्रदेशबाट घरेलु क्रिकेट खेल्दै आएका युवा पेसर रिजन ढकाललाई घरेलु मैदानमा ८ फेब्रुअरी २०२४ मा क्यानडाविरुद्ध डेब्यु गराएका थिए। त्यसयता उनले स्कटल्यान्ड र अमेरिकाविरुद्ध पनि खेले। ती खेलका डेथ ओभरमा उनले चार ओभरमा ३३ रन खर्चेर एक विकेट लिए। तर, स्थायी रूपमा टोलीमा स्थान बनाउन सफल हुन सकेका छैनन्।

ओमानविरुद्ध बलिङ गर्न उत्रिएका कुशल भुर्तेल।
“अहिले नियमित बलरहरूले नै धेरै रन खाइरहेका छन्। त्यसैले रोहितले पार्ट-टाइम बलर प्रयोग गर्न बाध्य भइरहेका छन्। यस्ता बलरलाई सामान्यतः विकेट ननिस्किएको अवस्थामा मात्रै प्रयोग गरिन्छ। तर, डेथ ओभरमा उनीहरूलाई बलिङ गराउँदा धेरै रन गइरहेको छ। त्यसैले हार पनि बढिरहेको छ,” उनी भन्छन्।
सम्भावनाको ढोका ढकढक्याउँदै युवा खेलाडी
पछिल्लो समय नेपाली क्रिकेट टोलीको लामो फर्म्याटमा प्रदर्शन अपेक्षाअनुसार हुन नसकेपछि नेपाल क्रिकेट संघ (क्यान)ले ‘ब्याकअप’ तयार गर्ने उद्देश्यसहित नेपाल ‘ए’ टोली बनाएको छ। मुख्य टोलीमा निरन्तर प्रतिस्पर्धा बढाउने, नयाँ खेलाडीलाई अन्तर्राष्ट्रिय वातावरणमा अभ्यस्त गराउने तथा विकल्प तयार राख्ने योजनाअन्तर्गत बनाइएको यस टोलीले पर्याप्त खेल खेल्ने अवसर भने पाएको छैन।
नेपाल ‘ए’ टोलीले मार्च-अप्रिल २०२४ मा आयरल्यान्ड ‘ए’ विरुद्ध पाँच खेलको शृंखला खेलेपछि लामो समय कुनै प्रतिस्पर्धात्मक खेल खेलेको थिएन। यसपटक भने टोलीले लिग-२ खेल्न नेपाल आएका स्कटल्यान्ड र अमेरिकाविरुद्ध खेल्ने अवसर पाएको छ। सीमित अवसर पाए पनि आफ्नो प्रदर्शनमार्फत केही युवा खेलाडीले राष्ट्रिय टोलीको ढोका बलियोसँग ढकढक्याउन थालेका छन्। तीमध्ये सबैभन्दा बढी चर्चामा छन् तीव्र गतिका बलर हेमन्त धामी।
हेमन्तले १२ फेब्रुअरी २०२४ मा क्यानडाविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए। उक्त खेलमा नेपाललाई नौ विकेटको सहज जित दिलाउने क्रममा उनले आठ ओभरमा ४९ रन खर्चेर तीन विकेट लिएका थिए। डेब्यु खेलमै उनले देखाएको आत्मविश्वास, गति र आक्रामकता प्रभावशाली मानिएको थियो। विशेषगरी नयाँ बलमा स्विङ निकाल्ने क्षमता र लगातार आक्रमण गर्ने शैलीले उनलाई फरक बनाएको देखिन्छ।
तर, राष्ट्रिय टोलीमा सोमपाल, करण, गुलसन र नन्दन जस्ता पेसरहरूको बलियो उपस्थिति हुँदा हेमन्तले नियमित स्थान बनाउन सकेका छैनन्। नेपाली टोलीमा अहिले अनुभव र युवा दुवैको मिश्रण रहेकाले नयाँ खेलाडीका लागि अवसर सहज छैन। त्यसैले घरेलु क्रिकेट र ‘ए’ टोलीका खेलहरू नै उनीहरूका लागि आफूलाई प्रमाणित गर्ने मुख्य माध्यम बनेका छन्।
हेमन्तले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई इतिहासमै पहिलो पटक फाइनल पुर्याउने क्रममा सर्वाधिक २७ विकेट लिएका थिए। प्रतियोगिताभर निरन्तर प्रदर्शनले उनी नेपाली घरेलु क्रिकेटका सबैभन्दा प्रभावशाली पेसरमध्ये एकका रूपमा स्थापित भए। यही प्रदर्शनका आधारमा उनले नेपाली टी-२० टोलीमा समेत स्थान बनाए। तर, ५० ओभरको टोलीमा अवसर पाउन सकेका छैनन्।
पेस आक्रमणमा मात्र होइन, स्पिन विभागमा पनि नयाँ खेलाडीले दबाब सिर्जना गरिरहेका छन्। शाहब आलम र युवराज खत्री जस्ता स्पिनरले घरेलु क्रिकेटमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। शाहबको अनुभव र नियन्त्रण तथा युवराजको विविधताले उनीहरूलाई सम्भावित विकल्पका रूपमा अघि सारेको छ। तर, सिनियर टोलीमा सन्दीप, ललित जस्ता स्थापित स्पिनर भएकाले नयाँ स्पिनरका लागि टोलीमा स्थान बनाउनु चुनौतीपूर्ण छ।
यद्यपि, राष्ट्रिय टोलीभित्र प्रतिस्पर्धा बढ्नु नेपाली क्रिकेटका लागि सकारात्मक संकेत हो। टोलीका उपकप्तान दीपेन्द्र पनि प्रदर्शनकै आधारमा अवसर दिइनुपर्ने पक्षमा छन्। घरेलु क्रिकेट र ‘ए’ टोलीमा राम्रो गर्ने खेलाडीलाई सिनियर टोलीसम्म ल्याउन सकिने वातावरण अहिले बनेको उनी बताउँछन्।
“घरेलु प्रतियोगिताबाट उत्कृष्ट खेलाडी आइरहेका छन्। अझ ए टिम पनि छ। त्यसमा पनि राम्रा खेलाडी छन्। यदि सिनियर टोलीमा कसैले राम्रो प्रदर्शन गरिरहेका छैनन् भने त्यहाँबाट पनि खेलाडी ल्याउन सकिन्छ,” उनी भन्छन्। के अब नयाँ खेलाडीले टोलीमा स्थान बनाउलान् त?